ग्रेसले बनाएको अन्तर्राष्ट्रिय भिडियो दोस्रो

शुक्रबार, ०८ कार्तिक २०७६, ११ : १४ शुक्रवार
ग्रेसले बनाएको अन्तर्राष्ट्रिय भिडियो दोस्रो

चितवन रामपुरस्थित कृषि क्याम्पसमा स्नातक तह सातौैं सेमेस्टरमा अध्ययनरत छात्रा ग्रेस तिवारीले बनाएको अन्तर्राष्ट्रिय भिडियो दोस्रो भएको छ। विश्व खाद्य दिवसको सन्दर्भमा अन्तर्राष्ट्रिय खाद्य नीतिअनुसन्धान संस्थान (आईएफपीआरआई) द्वारा आयोजना गरिएको ‘मेरो खाना, हाम्रो भविष्य’ नामक अन्तर्राष्ट्रिय छोटो भिडियो प्रतियोगितामा कृषि विज्ञानकी विद्यार्थी ग्रेस तिवारीले बनाएको भिडियो दोस्रो भएको हो।

शुक्रवारसँगको कुराकानीमा आफूले बनाएको भिडियो दोस्रो भएकोमा खुसी लागेको बताइन्। ‘मलाई दुई कुराले सधैँ सताइरहन्छ पहिलो कुरा हाम्रो देशको ३३ जिल्लामा खाद्यान्नको अभाव छ। दोस्रो खाद्यान्न खेर गइरहेको हुन्छ।,’ उनले भनिन्,‘ यस्तो समस्याको सामाधान हुनुपर्छ भन्ने मेरो जोड हो।’

अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थानले वार्षिक रूपमा आयोजना गर्ने सर्ट भिडियो प्रतियोगिताको युवा समूहको उपविजेता घोषित हुँदै २२ वर्षीय ग्रेसले दुई सय ४० अमेरिकी डलरको पुरस्कार प्राप्त गरेकी हुन्। प्रतियोगितामा उनले ‘विकासका लागि परिवर्तन’ शीर्षकको दुई मिनेटको भिडियो समावेश गरेकी थिइन्।

भिडियोमा उनले ‘किसानको खेती स्कुल’ स्थापनाका लागि वकालत गर्दै ग्रामीण क्षेत्रका युवा किसानलाई बाली विकास, घाटा व्यवस्थापन गर्ने अभ्यास र ज्ञान आदान–प्रदानको लागि मञ्च प्रदान गर्न जोड दिएकी थिइन्।

सो समूहमा मेक्सिकोको टोली विजेता घोषित हुँदै पाँच सय अमेरिकी डलर जितेका थिए। प्रतियोगितामा पाँच महादेशको प्रतिनिधित्व गर्दै १९ देशका विद्यार्थीले भाग लिएका थिए।

सहरी क्षेत्रका किसानहरु जागरुक भए पनि गाउँका किसानहरु पुरानै प्रविधि के कसो गर्ने थाहा छैन,’ ग्रेसले भनिन्, ‘किसानलाई जागरुक बनाउने हाम्रो उद्देश्य हो जसका लागि हामी फिल्डमा उत्रेर काम गर्छाैँ।’

Leave A Comment