५० करोडको झिलिमिली

शनिबार, ०९ कार्तिक २०७६, ०२ : २० शुक्रवार
५० करोडको झिलिमिली

बत्ती बिनाको तिहार के तिहार ! गच्छेअनुसार घर उज्यालो बनाएर लक्ष्मीको आराधना गर्नु तिहारको महत्वपूर्ण पाटो हो नै। त्यसैले तिहारमा घर सजाउने बत्तीको माग निक्कै हुन्छ। पहिला माटोको पालामा तेल हालेर दियो बालेर घर झिलिमिली बनाउने गरिन्थ्यो। पालालाई मैनबत्तीले विस्थापित गरायो। अहिले इलेक्ट्रिक बत्तीको बोलबाला छ।

उपभोक्ताको बदलिदो मुडअनुसार बजारमा अहिले इलेक्ट्रिक बत्तीको उपस्थिति बाक्लो देखिन्छ। व्यवसायीका अनुसार यसपालिको तिहारमा ५० करोडको इलेक्ट्रिक बत्तीको व्यवसाय हुने आँकलन गर्दै सोही परिमाणका सामग्री मगाइएको छ। लोडसेडिङको समस्या हटेकाले पनि इलेक्ट्रिक बत्तीको माग हुने व्यवसायीको आँकलन छ।

अधिकांश यस्ता बत्ती चीन र भारतबाट नेपाल भित्रिने गरेको छ। पहिला भारतीय बत्तीको कब्जा थियो नेपाली बजारमा। अहिले चिनियाँ बत्तीले विस्थापित गर्दै लगेको छ भारतीय बत्तीलाई। तिहारमा नेपालमा आउने इलेक्ट्रिक बत्ती ९० प्रतिशत चीनबाट आउनेछ।

बजारमा गच्छे र इच्छाअनुसार इलेक्ट्रिक बत्ती पाइन्छ। यस्ता बत्ती प्रतिगोडा ५० रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म पर्छ। पछिल्लो समय घरमा स्थायी रुपमा होल्डर राखेर तिहारमा बत्ती जडान गर्ने क्रम पनि घटेको छ। बजारमा इच्छा अनुसारको डिजाइन र मूल्यको बत्ती पाइने भएकाले अस्थायी बत्ती राख्ने क्रम बढेको छ।

उपभोक्ताको चाहना हेरेर डिस्को बत्तीहरुसमेत मगाइएको व्यवसायी बताउँछन्। घर सजाउन लामो साइजका र झ्याल र देवीदेवताको फोटोमा मात्र राख्न सानो साइजका समेत इलेक्ट्रिक बत्ती बजारमा पाइन्छन्।

Leave A Comment