बदलिएको देउसी–भैलो

आइतबार, १० कार्तिक २०७६, १२ : ३१ मनोज घर्तीमगर
बदलिएको देउसी–भैलो फाइल फोटो : जक्सन डटकम

तिहारसँग जोडिएको सबैभन्दा रमाइलो पाटो हो देउसी–भैलो। देउसीमा यति धेरै तामसी गुण छ कि, जो कोही देउसी खेल्न रौसिहाल्छन्। रौसिलो पारामा मिठासपूर्ण स्वर घन्काउँदै तपाईं हाम्रो दैलोमा आउँथे देउस्याहरु। देउसी भैलोविना तिहार पूरै निरस हुन्छ। समयले ठ्याक्कै कोल्टे फेरेपछि पहिलेको जस्तो मौलिक देउसी भैलो दुर्लभ भैसक्यो।

पछिल्ला वर्षमा देउसीको मौलिकता भाका हराउँदै गयो। मौलिक भाकाको ठाउँ लिएको छ हाइभोल्टेज साउण्ड सिस्टमले। प्रविधिले देउसीको मौलिकतालाई पूरै बदलिदिएको छ। सुरिलो स्वरमा देउसी भट्याउने, मादल र खैंजडीको तालमा नाँच्दै देउसी खेल्ने समूह देख्नै मुस्किल पर्छ।

‘मौलिक देउसी–भैलो पूरै हराइसक्यो। हरेक चिजमा विकृति पसेजस्तै देउसीमा पनि पस्यो’ हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ भन्छन्, ‘अहिले देउसी भन्न समेत छाडिसके। चर्को साउण्ड सिस्टम घन्काउँदै आउँछन् देउस्याहरु।’

समयको परिवर्तनस“गै अन्य संस्कार–संस्कृति पनि बद्लि“दा छन्, देउसी पनि यसबाट अछुतो छैन। हाइभोल्टेजका साउण्ड सिस्टम लगाएर खेलिन्छ देउसी। साथीभाइसँग मिलेर देउसी खेल्न रुचाउने युवायुवती पनि घट्दैछन्। उनीहरु देउसी भैलो खेलेर रमाइलो गर्नुको साटो, इमेल इन्टरनेट, फेसबुक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा झुमिन्छन् । पोखरेली लेखक गनेस पौडेलको कुरा सुनौ न। उनले भैलो हेर्न छाडेकै वर्षौैं बितिसक्यो। खेल्न छाडेको त तीन दशकै भइसक्यो। ‘हातमा ठेला पर्ने गरी मादल बजाउने अनि घाँटी सुक्ने गरी गाएर भैलो खेल्ने चलनै छैन,’ लेखक पौडेल भन्छन्, ‘अहिलेका युवाले यतिविधि दुःख नै गर्दैनन्। त्यसैले भैलो भैलोजस्तो हुँदैन।’

देउसी–भैलोको मौलिकता मात्रै गुमेको छैन, पछिल्लो समय माग्ने पर्व जस्तै भएको छ। तथानामका समूह बनाएर देउसी खेल्न आउँछन्। तिनले संकलन गरेको रकम सामाजिक काममा भन्दा रंग रमाइलोकै लागि खर्चिन्छन्। यस्तै समूहको बिगबिगी भएकाले घर मालिक पनि पैसाकै लागि भनेर देउसी खेल्न आएका भन्दै गनगन गर्छन्। मन खोलेर दक्षिणा गर्ने जमाना पनि हराइसके।  देउसीकै कारण रमाइलो बन्ने तिहार पछिल्लो समय खल्लो बनेको छ। आधुनिकताको नाममा देउसीका भाका र खेल्ने तरिका फूरै बदलिएका छन्। कतिपय देउसी समूहले गर्ने उच्छृंखलताले देउसीलाई नकारात्मक रुपमा हेर्नेहरु पनि बढेका छन्। ‘लक्ष्मी पूजादेखी सुरु हुने देउसी भैलो दुई चार दिन अघिदेखि नै माग्न आउँछन्। तिहार सकिएको दुई चार दिनसम्म रहन्छ त्यो क्रम रहिरहन्छ’ प्राचीन साँझका परिकल्पनाकार एवं संस्कृतिकर्मी कृष्णकुमार गुरुङ भन्छन्, ‘भैलो संस्कृतिमा पसेको यो पूरै विकृति हो। यस्ता कामलाई हामीले निरुत्साहित गर्नुपर्छ।’

शहरमा जति देउसीको रौनक हुन्छ, त्योभन्दा कयौं गुणा बढी गाउँमा हुन्छ। वारिदेखि पारि अनि एक दुई दिन लाग्ने ठाउँसम्म गएर देउसी खेल्ने समूह बाक्लै पाइन्थ्यो। अहिले गाउँमा समेत आधुनिक भैलो पसिसकेको छ। अबेरसम्म गाउ“–गाउ“ डुलेर खेलिने देउसीको चलन बिस्तारै हटिसकेको छ। सहरमा भने देउसीले पखेटा फिजाइरहेको छ। रातारातसम्म भैलो खेलिन्छन्। स्थानीय प्रशासनले साँझ सात बजेसम्म मात्रै देउसी खेल्न पाइने सूचना निकाले पनि कसैले सुन्दैनन्। गृहले समय सीमाभित्र अनि तडकभडकरहित देउसी भैलो खेल्न पाइने सूचना जारी गर्न थालेको वर्षाैं भइसक्यो। प्रशासनले जे जसो भने देउस्याहरु टेर्दैनन्। ‘मौलिकता जोगाउन गृह प्रशासनले तडकभडकरहित र साउण्ड सिष्टम नलगाई मौलिक रुपमा देउसी–भैलो खेल्न सूचना दिने गरेको छ। तर, अहिलेको जमानामा कसैले यसमा ध्यान दिँदैनन्,’ संस्कृतिका अध्येता तुलसी प्रवास भन्छन्।

संस्कृतिका अध्येता, इतिहासविद्हरु भने देउसी–भैलोमा आएको परिवर्तनलाई खासै ठूलो रुपमा लिँदैनन। इतिहासविद् प्राडा.जगमान गुरुङका अनुसार संस्कृति सधैंभरि उस्तै रहँदैन। समयअनुसार परिवर्तन भइरहन्छ। संस्कृति सधैं परिष्कार र परिमार्जन हु“दै जाने प्रक्रिया हो। तर, परिवर्तन हुने नाममा यसको मौलिकतालाई पूरै बिर्सनु भने हुँदैन। भन्छन्, ‘पहिले यसरी खेलिन्थ्यो। अहिले यसरी खेलियो भन्ने भन्दा पनि देउस्याहरुले यसको मौलिकता कसरी जोगाउन सकिन्छ भन्नेतिर ध्यान दिनुपर्छ ।’

Leave A Comment