रंगोली कि मण्डला

आइतबार, १० कार्तिक २०७६, ०२ : ४० शुक्रवार
रंगोली कि मण्डला

तिहारमा लक्ष्मी पूजाको दिन लक्ष्मीको निमन्त्रणाका लागि आँगनमा मण्डला बनाउने परम्परा पुरानै हो। पछिल्ला दिनमा आँगनबाट मण्डला हराउँदै गएको छ भने रंगोलीको प्रयोग बढ्दो छ। भारत र नेपालको मधेसमा रंगोलीको प्रयोग हुने गरेको छ।

रंगोली दीपावली मात्र होइन अन्य पूजा हवन गृह प्रवेश तथा विवाहको अवसरमा पनि बनाउने गरिन्छ। यसरी रंगोली बनाउँदा देवीदेवता प्रसन्न हुन्छन् भन्ने विश्वास गरिन्छ। गैर मधेसी समुदायमा यसको प्रयोग तिहारमा हुने गरेको छ।

नेवार समुदायले मण्डलाको प्रयोग गर्ने गरेका छन्। बाहुन क्षेत्रीले आँगनमा रातोमाटोले गोलाकार बनाएर पूजा गरी लक्ष्मीको पाइला बनाउँदै लक्ष्मी पूजा गरिएको स्थानसम्म बत्ती राख्दै जाने गरिन्थ्यो। अहिले भने मधेसी समुदायसँगै नेवार र बाहुन क्षेत्रीको घरमा पनि रंगोली बनाउने क्रम बढेको छ।

रंगोली संस्कृतको शब्द ‘रंगावली’ बाट आएको मानिन्छ। रंगोलीको एक नाम अल्पना पनि हो। अल्पना वात्स्यायनको कामसूत्रमा वर्णित चौसठ्ठी कलामा एक हो। यो अति प्राचीन लोक कला मानिन्छ। घरमा कलात्मक चित्र र आकृति बनाउँदा धन ऐश्वर्यले परिपूर्ण हुने विश्वासले यसको प्रयोग गरिन्छ। रंगोलीलाई धार्मिक, सांस्कृतिक आस्थाको प्रतीकसमेत मानिन्छ।

रंगोली, मण्डला एकै हैन
मण्डला नेवार समुदायको नियमित पूजामै प्रयोग हुन्छ। धार्मिक स्थलमा मात्रै हैन घरको दैलो अगाडि समेत स्थायी रुपमा ढुंगाको मण्डलासमेत बनाइएको हुन्छ। शुभ काम मण्डला पूजा गरेर सुरु गर्ने परम्परा छ। झट्ट हेर्दा मण्डला र रंगोली एकै झै देखिए पनि यी दुवै बनाउने शैली नै फरक हुन्छ।

दुवैको सम्बन्ध धर्मसँग जोडिए पनि यसको बनाउने विधि नै फरक छ। रंगोली विभिन्न रंग प्रयोग गरेर या फूलको पनि बनाउन सकिन्छ। मण्डलाको आकार भने निश्चित हुन्छ। यसमा शंख, चक्र लगायत समेत बनाउने गरिन्छ।

मण्डला र रंगोली कसरी बनाउने
पिठोमा रंग मिसाएर, फूलको या अन्न प्रयोग गरेर रंगोली बनाउन सकिन्छ। यसको आकार गोलो र चार कुने दुवै प्रयोग हुन्छ। रंगोली चोखो स्थानमा बनाइन्छ। तिहारमा प्रायः दैलो अगाडि बनाउने गरिन्छ। दैलो अगाडि रातो माटोले लिपेर रंगोली बनाउने स्थान बनाउन सकिन्छ।

प्रारम्भमा चक या चामलको पिठोले रंगोलीको आधार दिएर त्यसपछि इच्छा र चाहनाअनुसारको डिजाइनको बनाउन सकिन्छ। गोलाकार या चारकुने बनाएर त्यसलाई फूलको आकार दिँदै रंगोली बनाउने गरिन्छ। यसमा पिठोमा विभिन्न रंग मिसाएर पनि बनाइन्छ। फूलको समेत प्रयोग हुन्छ रंगोलीमा। रंगोली तयार पार्दा पहेँलो, रातो, हरियो, नीलो, सेतो, सुन्तला र गुलाबी लगायतका रंग प्रयोग गरिन्छ। रंगोली बनाउँदा फूल, देवी–देवताको आकृति, स्वस्तिक चिह्न, मयूर, लगायत आफूमा भएको सिप अनुसार बनाउन सकिन्छ।

मण्डला जसलाई मण्डल पनि भनिन्छ। यसलाई बुद्ध धर्म र त्रान्त्रिक पूजा विधिसँगसमेत जोड्ने गरिन्छ। तिहारमा यो पनि मूल ढोकाको अगाडि बढाउने गरिन्छ। यसको मुख्य भाग षट्कोण आकारमा निर्माण गर्न सकिन्छ र वरिपरी फूल, विभिन्न रंग मिसाएको पिठो, अन्न लगायतको प्रयोग गरेर बनाउन सकिन्छ। यसको निर्माणमा पनि पहेलो, रातो, हरियो, नीलो, सेतो, सुन्तला र गुलाबी लगायतका रंग प्रयोग गर्न सकिन्छ।

Leave A Comment