सयपत्री फूलको मगमग बास्ना, लक्ष्मीपूजा अनि देउसे–भैलीको भाका। काठमाडौँको बसुन्धरा बस्ने सृजना सिलुवाललाई तिहार खुब रमाइलो लाग्छ। तर जब भाइटीकाको दिन आउँछ, उनलाई दाजुभाइको नियास्रो लागेर आउँछ। परिवारमा पाँच दिदीबहिनी छन् उनका तर टीका लगाइदिन दाजुभाइ छैनन्।
उनको बाल्यकाल पनि त्यसरी नै बिते। भाइटीकाको दिन घर सुनसान हुन्थ्यो। तिहारमा तनहुँमा रहेको उनको बारी फूलैफूलले ढाकिन्थ्यो तर ती फूलको माला पहिरिने दाजुभाइ थिएनन्। गाउँलेले ‘तिमीहरुका भाइ छैनन् किन चाहियो फूल ?’ भन्दै हाँगै भाँचिदिन्थे। यस्तो देख्दा उनको चित्त खुब दुख्थ्यो।
सृजना १३ वर्षकी हुँदा उनकी आमा गर्भवती भइन्। सबैमा आशा थियो, अब त तिहारमा टीका लगाइदिने कोमल हात पाइएला तर पाँचौँ सन्तान पनि बहिनी नै आइन्। उनको घरमा रुवाबासी नै भयो रे ! बहिनी जन्मेपछि गाउँकाले जिस्काउन थाले ‘कसलाई लगाउँछौँ भाइटीका ?’ यस्तो सुन्दा उनीहरु घरभित्र बसेर रुन्थे।
दाजुभाइ कल्पेर कति रोएर बस्ने ? सृजनालाई लाग्यो– हामी आफैँ किन एकअर्कालाई टीका नलगाउने ? अनि शुरु भयो बहिनीटीका ! उनीहरु अहिले एकअर्कालाई टीका लगाएर भाइटीकाको साटो बहिनीटीका मनाइरहेका छन्। यसरी रमाउन थालेको पनि १० वर्ष पुगिसक्यो !
दाजुभाई र दिदी बहिनी नहुँदा पनि तिहारमा निधार बुच्चै नहुने परिवारको कथा
‘हामी आफूआफू मिलेर टीका, तेल लगाउँछौँ,’ सृजनाले भनिन्, ‘आखिर बनाएको चलन न होे ! दाजुभाइ नै चाहिन्छ भन्ने के छ र ? चाडपर्वमा रमाइलो गर्ने हो। आफैँ–आफैँ लगाएर पनि रमाइलो गर्न सकिन्छ।’
०००
यो त भयो दाजुभाइ नहुँदाको तिहार ! यहाँ दिदीबहिनी नहुँदा तिहारमा बुच्चै निधारमा बस्न बाध्य परिवार पनि छन्। घरभरि दाजुभाइ नै दाजुभाइ के गर्नु ? दिदीबहिनी कल्पेर बसेको छ, महानन्द सापकोटाको परिवार भेटियो विराटनगरमा।
एक–दुई गर्दै उनका बाबुआमाले ६ सन्तान जन्माए तर सबै छोरैछोरा। छोरी कुर्दाकुर्दै ६ छोरा भए। छैटौँ सन्तान पनि छोरा नै जन्मिएपछि उनका अभिभावकले चित्त बुझाए।
बबिता र इश्वरी गिरी
घरभरि दाजुभाइ भए पनि दिदीबहिनी नहुँदा तिहारको टीका निरस हुने नै भयो। निरस तिहार रसमय बनाउन उनी बाल्यकालमा भाइटीकाको दिन गाउँकै अन्य दिदीबहिनीको घरमा जान्थे। अहिले त्यो क्रम पनि टुट्यो।
अहिले उनका सबै दाजुभाइ आफैँ टीका लगाउँछन्। टीका लगाउनुको कारण भने समाजको अनेक प्रश्नबाट जोगिन रहेछ। उनी भाइटीकाको दिन बिहानै बजार जान्छन्। सप्तरंगी टीका किन्छन्। तुलसीको मठमा रहेको तुलसीलाई दिदी मान्छन् र ऐना हेर्दै आफैँ सप्तरंगी टीका लगाउँछन्।
‘त्यो दिनमा टीका नलगाउने हो भने ए तिम्रो तिहार छैन है, कसैले लगाइदिएनन् ? जुठो प-यो कि सुत्केरो ? सोधेर हैरान पार्छन्,’ महानन्दले भने, ‘त्यही प्रश्नबाट बच्न आफैँ सप्तरंगी टीका लगाउँछु।’
०००
तिहार चाड नै दाजुभाइ र दिदीबहिनीको। यसको प्रारम्भ नै सूर्यको छोरा यमराज र उनकी बहिनी यमुनाको सम्बन्धबाट शुरु भएको मानिन्छ। पौराणिक कथानुसार यमराजले आफ्नी बहिनी यमुनाको निम्तो मानेर बहिनीकै घरमा गई रमाइलो गरी भाइटीका लगाएकाले यसको प्रारम्भ भएको हो।
बहिनी यमुनाका घरमा रहँदाबस्दा यमराज प्रशन्न भई यमुनालाई तिमी जे माग्छ्यौ माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन आफूलाई भेट्न आउनुपर्ने, दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयू र कीर्ति सर्वदा वृद्धि होस् भनेर मागेकी थिइन्। उनले त्यही बरदान दिए। जनविश्वासअनुसार अहिलेको तिहार यी दाजुबहिनीले शुरु गरेको परम्पराकै निरन्तरता हो।
त्यसैले तिहारको टीकाको दिन दाजुभाइ–दिदीबहिनी भएको घरमा छुट्टै उल्लास हुने नै भयो तर सबैलाई दाजुभाइ–दिदीबहिनी जुर्दैन। दिदीबहिनी मात्रै भएकाहरुलाई दाजुभाइको न्यास्रो, दाजुभाइ मात्र भएकालाई दिदीबहिनीको न्यास्रो।
०००
भक्तपुरको कमलविनायकमा बस्ने यशोदा गिरीका ६ दिदीबहिनी छन्। दाजुभाइ छैनन्। उनी भाइटीकाको दिन सबेरै उठ्छिन्। नुवाइधुवाइ सकेपछि उनीहरुको माइली दिदीले सबै बहिनीलाई टीका लगाइदिन्छिन्, निधार खाली नदेखियोस् भनेर।
उनको आफन्तमा दाजुभाइ नभएका हैनन् तर टीका लगाइनन्। छोरी मात्र हुनेको घरमा दाजुभाइ खलकले मान्छे नै गन्दैनथे। अपमान हुने भएपछि उनीहरुले आफ्नै खलकलाई पनि टीका लगाएनन्।
‘छन त काकाका छोराहरु हुनुहुन्छ,’ उनले भनिन्, ‘भाइटीका नै लगाउने गरेर आत्मीयता भएन।’ यशोदा दाजुभाइ कल्पेर बस्दा काँडाघारीका मनोज नेपाल भने दिदीबहिनी कल्पेर बसिरहेका थिए। दुई दाजुभाइ मात्र भएका उनले बाल्यकालको तिहार सम्झेर आँखाभरि आँसु बनाए।
बाल्यकालमा चाहेर पनि निधारमा सप्तरंगी टीका, गलामा मखमली र सयपत्रीको माला लगाउन पाएनन्। दिदीबहिनीको मायाको अभाव मनोजलाई अहिले पनि खट्किरहन्छ।
‘अरुका घर दिदीबहिनीले गर्दा उज्यालो भएजस्तो लाग्थ्यो,’ मनोजले भने, ‘अरुको घरमा भाइटीकाको दिन उत्सवमय हुन्थ्यो। आफ्नो भने सुनसान !’ यशोदाको बाल्यकालको तिहारको उति राम्रो अनुभव रहेनछ।
तिहारको बेला गाउँमा यशोदाका साथीहरुलाई फूलको माला उन्न भ्याइनभ्याई हुन्थ्यो। भाइटीकाको दिनको चहलपहल नै अर्कै। यता यशोदाको घर भने सुनसान हुन्थ्यो। उनको बारीभरि ढकमक्क सयपत्री, मखमली र गुर्धौली फूलेका हुन्थे तर लगाइदिने मान्छे थिएनन्। ती फूल देख्दा पनि उनलाई विरक्त लाग्थ्यो रे ! बारीभरि फूलेका फूल नओइलाऊन् भनेर उनले गाउँभरिकालाई बाँडिदिन्थिन्।
बन्दै छुट्टिदै सम्बन्ध
कतिले रगतको नाताभित्रै दाजुभाइ–दिदीबहिनी नभए पनि नातेदारसँग टीका लगाउने गर्छन् तर के हुन्छ के ! सम्बन्धले निरन्तरता नै पाउँदैन।
मनोज नेपालले ६ बहिनी बनाए तर ६ जनै बहिनीलाई एक पटक भन्दा बढी टीका लगाउन पाएनन्। चिनजान भएपछि तिहार मनाउनेसम्म सम्बन्ध बन्छ। एक वर्षपछि को कता पुग्छ को कता ! सम्पर्कै हुँदैन रे !
‘त्यतिबेला आफ्नो र आफ्नोजस्तो हुनुमा फरक हुने रहेछ भन्ने लाग्ने,’ उनले भने, ‘भावनाको सम्बन्ध पनि राम्रो हो तर जति गरे पनि रगतको नाता जस्तो आफ्नै अनुभूति भने नहुने।’
महानन्दले भने कसैलाई दिदीबहिनी नै बनाएनन्। ६ दाजुभाइले सामूहिक एकै जनालाई दिदीबहिनी बनाउन नसकेपछि दाजुभाइपिच्छे दिदीबहिनी के बनाउनु भनेर कसैसँग टीका नलगाएको उनले बताए।
‘कामको सिलसिलामा दाजुभाइको बसाई अलग भयो,’ उनले भने, ‘दाजुभाइपिच्छे बहिनी पनि फरक हुने भएकाले कसैलाई बनाइएन।’
यशोदाकी दिदीले भने दाइ बनाएकी थिइन्। एक वर्ष भावनाका नातेदार दाइहरुको व्यवहारले उनको मन कुँडियो।
२०५८ को तिहारमा पाँचै दिदीबहिनी मिलेर तिहारको तयारी गरे। टीकाको दिन दाजुहरुलाई दिने सामान ठिक्क पारे र दाइहरुलाई फोन गरे। उनीहरुले घरमा टीका लगाइसकेपछि आउँछु भने।
तर अबेरसम्म पनि आएनन्। दाजुहरुलाई टीका लगाउन पाउने आशमा पाँचै जना दिनभर भोकै बसे। तर न टिका लगाइदिन पाए, न मसला नै दिन पाए। भाइ मसला, माला सबै अलपत्र प-यो। अबेर साँझ त गाँसेको माला पनि ओइलाउन थाल्यो। त्यसपछि उनीहरुले भावनाको नाता भएकाहरुसँग पनि भाइटीका नलाउने निर्णय गरे।
‘त्यो घटनापछि पनि उहाँहरुसँग राम्रै सम्बन्ध छ,’ यशोदाले भनिन्, ‘त्यो वर्ष आउन उहाँहरुलाई मिलेन। त्यसपछि भाइटीका लगाउन हाम्रो मनले मानेन।’
२०५८ सालदेखि तीन दिदीबहिनीले भाइटीका लगाएका छैनन् तर घरमा दाजुभाइलाई दिने सामान र उनेको माला भने रहिरहन्छ रे ! यशोदाकी जेठी, माइली र कान्छी बहिनीले भने फूपू/मामाको छोरालाई भाइटीका लगाउने गरेका छन्।
सृजनालाई भने दाजुभाइ बनाएर टीका लगाउने चलनै मन पर्दैन रे ! ‘हामी आफैँले बनाएको संस्कृति त हो !’ उनले भनिन्, ‘दाजुभाइ हुनेले दाजुभाइलाई टीका लगाउँछन्। नहुनेले दिदीबहिनीबीच लगाउन पनि मिल्छ। आखिर संस्कार आफैँले बसाल्ने हो।’
कुन नाता घनिष्ठ ?
कतिको भावनात्मक सम्बन्ध रगतको भन्दा पनि घनिष्ठ हुन्छ। एकै कोखबाट जन्मिएका भन्दा पनि निकट र मधुर सम्बन्ध पनि छन्। तर सबैको भाग्य त्यस्तो कहाँ हुन्छ र ! मनोज र महानन्दको अनुभवमा पनि त्यस्तै रहेछ।
‘जस्तै जे भए पनि रगतको नाता भनेको रगतकै हुने रहेछ,’ मनोजले भने, ‘एउटै बाउआमाका सन्तान हो भने के सोच्लान् भनेर अड्कलेर बोल्न पर्दैन तर अर्काको हो भने दश फेर सोच्न पर्ने।’
मनोजको पनि यो कुरामा समर्थन गर्दै महानन्द थप्छन्, ‘केही वर्ष सम्बन्ध राम्रै हुन्छ तर त्यो छिट्टै छुट्छ। यसमा अर्काे समस्या पनि आउने। मैले बनाएको दिदीबहिनी मेरा अरु दाजुभाइलाई बहिनी जस्तै नलाग्न सक्ने !’
यसमा यशोदाको केही फरक मत छ। एउटै बाबुआमाबाट जन्मेकाहरुबीच भावनात्मक सम्बन्ध नभए पनि करको सम्बन्ध राख्न बाध्य भएकाहरु पनि यही समाजमा भेटिने बताउँदै उनले भनिन्, ‘आफ्नै दाजुभाइ छन्, बर्सेनि भेट पनि हुन्छ तर न त्यहाँ संवाद न आत्मियता, केही पनि नभएकाहरु पनि छन्। आफ्नै दाजुभाइ भएर पनि खाली निधार पारेर रुँदै बस्ने दिदीबहिनी पनि देखेकी छु।’
रगतको नाता र भावानात्मक नातामा के फरक छ त ? मनोविद् गोपाल ढकालको मत अनुसार रगतको नाताभन्दा भावानात्मक नाता गहिरो हुन्छ। भावनात्मक सम्बन्ध भएकाको अगाडि रगतको सम्बन्ध भएकाहरुको अर्थ राख्दैन।
‘सम्बन्ध भनेको व्यवहार र आपसी लेनदेनले निश्चत गर्ने कुरा हो,’ उनले भने, ‘रगतको सम्बन्ध भने कर/बाध्यताको सम्बन्ध हो। भावनात्मक त्यो भन्दा फरक।’
कसरी ?
ढकाल भन्छन्, ‘रगतको नाता भएकाहरुसँग प्रायः सानैदेखि सँगै हुने भइयो। उसको आनीबानी सबै थाहा भएको हुन्छ। त्यही भएर रगतको नाता भन्ने पनि गरिन्छ तर भावानात्मक सम्बन्ध जोडिएका नाताहरु व्यक्ति स्वयंको गतिविधिले बनाउने हुँदा मजबुत हुन्छ।’
भावनात्मक सम्बन्धको जोखिम
मीना उप्रेती, समाजशास्त्री
प्रायः चाडपर्वहरु सम्बन्ध विस्तार गर्ने गरी बनेका छन्। अलिकति गहिरिएर हे-यौँ भने दसैंलाई आफूभन्दा ठूलालाई आदर गर्ने चाड भयो। तिहार दाजुभाइ र दिदीबहिनीको सम्बन्ध।
मीना उप्रेती
सम्बन्धलाई टिकाइराख्न यस्ता चाडले निकै ठूलो भूमिका निभाइरहेका हुन्छन्। दिदीबहिनी र दाजुभाइ बीचको सम्बन्ध नैतिक रुपमा बलियो होस् भनेर टीका लगाउन थालिएको हो।
समाज विस्तारै बद्लिँदै गइरहेको छ। दिदीबहिनी मात्रै हुनेले आफू–आफू टीका लगाएर मानेको पनि देखिन्छ। समाजले यसलाई अस्वीकार गरेको देखिन्न।
कुनै समय सानीमाको छोरालाई पनि भाइटीका लगाउने चलन थिएन। अहिले समय बद्लिँदै गएको छ। दाजुभाइ नहुनेले दाजुभाइ र दिदीबहिनी नहुनेले दिदीबहिनी बनाएको पनि देखिन्छ। यो सम्बन्ध पूरै भावानात्मक हो। समाजले यस्तो प्रकारको सम्बन्धलाई पनि सहजै स्वीकारेको देखिन्छ। तिहारमा भाइटीका लगाउनुको अर्थ दाजुभाइ बनाउनु हो। यसले हाम्रो समाजको सम्बन्धमा दह्रो बनाउँछ।
भावनात्मक सम्बन्धमा जोखिम पनि छ। कतिपयले दाजुभाइ, दिदीबहिनी मानेर तिहारमा टीका लगाएकाबीच प्रेम सम्बन्ध भएर विवाह भएका घटना पनि देखिन्छन्। यसले तिहार जस्तो सांस्कृतिक पर्वलाई शंकामा पार्न सक्छ। सम्बन्ध बनाउने निर्णय गर्दा त्यसका सीमारेखामा ध्यान दिन सके सम्बन्ध बनाउनु राम्रो पक्ष हो।
Leave A Comment