मखमली माया

सोमबार, ११ कार्तिक २०७६, १२ : १९ उपेन्द्र खड्का
मखमली माया

गालामा झपक्क मखमली फूलमा सजिएका दाजुभाइ। निधारमा टल्कने सप्तरंगी टीकासँगै क्या सुहाउँछ त्यो माला गलामा। सौन्दर्य त छँदैछ। मखमलीसँग धार्मिक मान्यता पनि गाँसिएको छ।

तिहारमा मखमलीसँगै सयपत्री र गोदावरी फूलको पनि प्रयोग हुन्छ। सयपत्री र गोदावरी पूजा र घर सजाउन बढी प्रयोग गरिन्छ। यसका माला पनि बन्छन्। तर तिहारमा माला बनाउन प्रायःको रोजाइमा मखमली नै पर्छ।

तिहारमा मखमली फूलको यतिविघ्न प्रयोग किन होला ? संस्कृतिविद्हरुको मतअनुसार तिहार आउने सिजन मखमली फुल्ने समय हो। तिहार दाजुभाइको दीघार्युसँगै जोडिने पर्व भएकाले नओइलाउने यो फूल तिहारमा रोजाइमा परेको उनीहरुको मत छ।

संस्कृतिविद् डा. गोविन्द टण्डनको मतअनुसार मखमली लामो समयसम्म राख्दा पनि नओइलाउने भएकाले दाजुभाइको दीर्घायुको कामना गरिने तिहारमा यसको प्रयोग बढी हुने गरेको हो।

‘भाइटीकाका दिदी–बहिनीले दाजुभाइलाई मखमली फूलजस्तै जीवन नओइलाओस्, रोगले आक्रमण नगरोस् भन्ने कामना गर्दै मखमलीको माला लगाइदिने परम्परा छ,’ उनले भने, ‘सयपत्री असोज कात्तिकमा राम्रो फुल्ने र आकर्षक हुने भएकाले यसको प्रयोग बढी भएको हो।’

मखमलीको फूलका पत्र धेरै हुन्छन्। ती फूल सजिलै उम्रने  र हुर्कन्छन्। प्रायः पहाडी भूभागमा बढी फूल्ने भए पनि यो अति चिसो हुने हिमाली भेगबाहेक अन्यत्र जताततै फुल्छ।

वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका सह–प्राध्यापक डा. वासुदेव खनालका अनुसार दाजु–भाइ तथा दिदी–बहिनीबीचको सम्बन्ध फूलजस्तै उर्वर बनोस् भनेर पनि यो फूल छनोटमा पर्ने गरेको बताउँछन्।

‘मखमलीका माला गलामा पहिरिँदा व्यक्ति कम सुन्दर देखिँदैन,’ डा. खनालले भने, ‘अटल र ऊर्जाशील प्रेमको प्रतीकका रुपमा दिदी–बहिनीले दाजु–भाइलाई यो माला लगाइदिन्छन्।’
तिहारमा मखमलीको प्रयोगबारे शास्त्रमा ठोस कारण उल्लेख छैन।

संस्कृतिविद्का अनुसार लघुस्मृति पुराणमा कमलबाहेकका राता फूलका माला लगाउनु अकल्याणसूचक मानिन्छ। रातो मखमलीको माला लगाउनु उचित मानिँदैन । सेतो मखमली र पहेँलो सयपत्री फूलको माला लगाउनु धर्मशास्त्रीय दृष्टिकोणले उचित मानिन्छ।

तर यो धार्मिक पाटोेको त्यत्ति प्रभाव देखिन्न। मखमली फूलको आयु झै आफ्ना दाजुभाइको आयु पनि लामो हुने आशमा दिदीबहिनीहरुको छनोटमा मखमली फूलको माला नै पर्ने गरेको छ।

तथ्यांकै हेर्ने हो भने पनि सपयत्री र मखमलीको मालाको कारोबार अग्र पङ्क्तिमा आउँछ तिहारमा। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का कार्यक्रम संयोजक जेबी तामाङका अनुसार यो तिहारमा २५ लाख माला कारोबार हुने अनुमान छ। करिब दुई लाख २५ हजार सयपत्रीको माला यो वर्षको तिहारका लागि आयात हुने अनुमान छ।

१८ लाख सयपत्री, सात लाख मखमली र करिब १५ हजार गोदावरी फूलका माला यस वर्षको तिहारमा खपत हुने अनुमान छ तामाङको।

तिहारमा एउटा सयपत्री मालाको औसत मूल्य करिब ६० रुपैयाँ पर्छ। मखमली योभन्दा सस्तो हुन्छ। गोदावरीको भने सामान्यतः एक सय माथि नै पर्छ। सयपत्री र मखमली फूलको उत्पादन गोदावरी फूलको तुलनामा सहजसमेत छ।

यी त व्यावसायिक रुपमा खपत हुने फूलको मालाको कुरा भयो। स्थानीय रुपमै उत्पादित फूलका मालाको खपत त्यत्तिकै छ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार विशेषगरी नओइलाउने भएकाले दीर्घायुको कामनाका लागि मखमलीको माला दाजु–भाइलाई लगाइदिइन्छ।

‘दाजु–भाइलाई दिदी–बहिनीले मृत्युको मुखबाट बाट जोगाउनका लागि भाइटीका र माला लगाइदिएका हुन्,’ उनले भने, ‘धर्मशास्त्रीय मान्यताअनुसार दिदी–बहिनीले आफ्ना दाजु–भाइलाई मृत्युको मुखबाट जोगाउने उपायका रुपमा तिहारको पूजा विधि अपनाइएको हो।’

तिहारको धार्मिक पाटो
तिहारको प्रसंगमा यम र यमुनाको कथन जोडिएको छ। पौराणिक कथनअनुसार यम मृत्युका देवता हुन्। संस्कृतिविद् डा.टण्डनका अनुसार मृत्युका देवतासँग आफ्नी बहिनी यमुनाले  यम पञ्चकको पाँचदिनसम्म  दाजु–बहिनी सद्भावको कृत्य गरिन्।

यमपञ्चकको पूजा गर्ने व्यक्तिलाई अकाल मृत्युबाट जोगाइदिनु भन्ने कथनअनुसार यमपञ्चकको सुरुआत भएको कथन छ। भाइटीकाको दिन यमराजकी दिदी यमुनाले भाइपूजा गरी अटल प्रेम र दीर्घायुको कामना गरेकाले यसै दिनदेखि भाइटीकाको प्रचलन भएको मानिन्छ।

कात्तिकशुक्ल–द्वितीयालाई भ्रातृद्वितीयासमेत भनिन्छ। यस दिन यमुना नदीमा नुहाइ यमको पूजा गरेको खण्डमा यमलोक देख्न नपर्ने कथनसमेत पद्मपुराणमा पाइन्छ। कात्तिकशुक्ल–द्वितीयाका दिन बहिनी यमुनाले यमलाई घरमा निम्ता गरी मिस्ठान्न भोजन गराएको र यमुनालाई यमले गर–गहना उपहार दिएर सम्मान गरेको पुराणमा पाइन्छ।

संस्कृतिविद्का अनुसार भाइटीकाका दिन दाजु–भाइलाई दिदी–बहिनीले निम्तो गरे पनि वा नगरे पनि दिदी–बहिनीको घरमा भोजन गर्नु उचित हुने शास्त्रमा उल्लेख छ। दाजुभाइलाई दिदी–बहिनीले तेल घसी दिएर तथा बुकुवा लगाइदिएर सिंगार्ने प्रचलन पुराणमा उल्लेख भएको पाइन्छ।

यस दिन दिदी–बहिनीले दाजु–भाइलाई फूल माला तथा टीका लगाइदिएर दाल, भात, रोटी, पुआ, अचार, तरकारी, मिठा पक्वान्नजस्ता भोजन गराउने शास्त्रमा उल्लेख छ। दाजु–भाइलाई ल्वाङ, सुपारी, पान खान दिएर सत्कार गर्ने शास्त्रीय परम्परा रहेको छ। दाजु–भाइले समेत दिदी–बहिनीलाई लत्ताकपडा गर–गहना उपहार दिएर सत्कार गर्नुपर्ने पुराणमा उल्लेख छ। 

शास्त्रअनुसार कात्तिकशुक्ल–द्वितीयामा दाजु–भाइ तथा दिदी–बहिनीले आपसमा सत्कार गर्नाले यमुनाको प्रार्थनाले यमराजले  दिएका वरदानका कारण दिदी–बहिनी विधवा हुनु नपर्ने उल्लेख पाइन्छ। दाजुभाइको समेत सुखसमृद्धि हुने, नरक देख्नु नपर्ने भएकाले दुवै थरीको कल्याण हुने डा. खनालको तर्क छ।
यो त भयो भाइटीकाको प्रसंग। अब चर्चा गरौँ देउसी खेल्ने परम्पराको।

देउसी– भैलो खेल्ले परम्परा पनि रोचक छ। एक प्रसंगअनुसार जुम्लाका बलि राजाबाट देउसी भैलोको परम्परा सुरु भएको पाइन्छ भने अर्कोतर्फ पौराणिक कालमा अत्यन्तै शक्तिशाली तर दानी राक्षस कुलका बलि राजाले देवतालाई समेत दुःख दिएका थिए। त्यसपछि भगवान् विष्णु ‘वामन’ (पुड्को) योगीको स्वरुपमा बलि राजाकहाँ भिक्षा माग्न पुगे। ‘वामन’ योगी भेषधारी भिक्षुले भिक्षा लिन्नभन्दा अहमताले भरिपूर्ण दानी राजा बलिले भिक्षा लिन कर गरे।

त्यसपछि विष्णुले वाचा बँधाए। उनले तीन पाइला जमिन भिक्षा मागे। बलि राजाले कति थोरै मागेको भन्दै तीन पाइला जमिन भिक्षा दिन तयार भए। ‘वामन’ रुपि विष्णुले आफ्नो वास्तविक रुपमा एक पाइलाले पृथ्वी सबै टेके, दोस्रो पाइलाले आकाश टेके। अब तेस्रो पाइला टेक्न तिम्रो शिर देऊ भनेर बलि राजालाई विष्णुले मागे। वाचामा हारेका राजाले विष्णुलाई आफ्नो शिर टेक्न दिए। विष्णुले टेकेपछि बलि पातलमा पुगे। अब देवताको कल्याण हुने भयो।

विष्णुले बलिको शिर टेक्न मागेको हुनाले तिहारमा यही प्रसंगको खुसियाली तथा प्रचार–प्रसारका लागि देउसीरे (भैले) खेल्ने  परम्परा सुरु भएको संस्कृतिविद् डा. टण्डन बताउँछन्। तर विष्णु स्वयं आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म बलि राजाको द्वारपाल भएर उनको रक्षामा बसे। महिला–पुरुषले फरक दिनमा खेल्न पाऊन् भन्ने उद्देश्यले देउसी र भैलीको सुरुवात भएको देखिन्छ।

Leave A Comment