कलाकारकाे तिहार अनुभवः भाइ ठुस्कने, बहिनी बिच्कने

सोमबार, ११ कार्तिक २०७६, १२ : ४७ शुक्रवार
कलाकारकाे तिहार अनुभवः भाइ ठुस्कने, बहिनी बिच्कने

‘भाइ धेरै ठुस्किन्छ’
दीपिका प्रसाईं (अभिनेत्री)
मेरो भाइ विदेशमा भएका कारण भाइटीका लगाउन नपाएको दुई–तीन वर्ष भइसक्यो। यसपाला पनि आएन। दिदीभाइको तिहारमा भेट नभएको लामै समय भइसक्यो। त्यस कारण मलाई तिहार अलिक खल्लो भइराखेको छ।

मन पर्छ
मेरो एउटा भाइ हो। इन्टेलिजेन्ट मान्छे लाग्छ। स्मार्ट लाग्छ। धेरै कुरामा बुझ्झकी लाग्छ। हरेक कुरामा परिश्रम गर्छ। कडा मेहनत गर्नुपर्छ भन्ने खाल्को उसको सोचाइ छ। व्यावहारिक पनि छ।

मन पर्दैन
हत्तपत्त रिसाउँदैन तर रिसाएपछि नबोल्ने, ठुस्किएर बस्ने गर्छ। मलाई भाइको यो रिसाउने बानी भने मन पर्दैन।  

साथी जस्तै बैनी
आर्यन सिग्देल, अभिनेता
मेरो एउटै बैनी छ। उनी अस्ट्रेलियामा बस्छिन्। लामो समय विदेशमा नै भएका कारण टीका लगाउन पाइएको थिएन। यस पटक भने उनी नेपाल आएकी छन्।

मन पर्छ
उनी हरेक कुरा सेयर गरिरहेकी हुन्छिन्। मेरो साथी जस्तै छिन्। हरेक कुरामा सपोर्ट गर्छिन्।

मन पर्दैन
सानो सानो कुरामा गाली गरिरहेकी हुन्छिन्। यो चैँ मलाई मन पर्दैन। अलिक जिद्दी स्वभावकी छिन्।

‘छिट्टै रिसाइहाल्छ’
केकी अधिकारी, अभिनेत्री
मेरो एउटा भाइ हो। सानोमा तिहारको बेला सँगै देउसी भैलो खेल्न गइन्थ्यो। अहिले भने अरुले खेलेको हेरेर बसिन्छ।

मन पर्छ
ऊ हरेक कुरामा ट्यालेन्ट लाग्छ। हरेक कुरामा सिकाइरहेको हुन्छ।

मन पर्दैन
ऊ छिट्टै रिसाइहाल्छ। उसलाई चित्त नबुझेको कुरामा एक्सन लिइहाल्छ।

‘सधैँ सरप्राइज दिन्छन्’
अर्जुन घिमिरे (पाँडे)
मेरा दुई जना दिदीबैनी छन्। एकजना दिदी, एकजना बैनी।

मन पर्छ
हरेक तिहारमा सरप्राइज दिने गर्छन्। तिहारको बेला मलाई सरप्राइज दिने उनीहरुको शैली र बानी मन पर्छ।

मन पर्दैन
कहिल्यै सम्झेर फोन गर्दैनन्। सिरियल हेरेर कुनै प्रतिक्रिया दिएको थाहा छैन। आफूले फोन ग-यो भने ग-यो, नत्र छैन। नराम्रो बानी यही हो।

‘फकाउन च्याम्पियन’
कमल खत्री (गायक)
हामी चार दाजुभाइकी एक मात्र बैनी छ। उसको बिहे भइसकेको छ। हेटौँडामा नै बस्छे। कार्यक्रमको कार्यक्रम भएर होला दसैँमा पनि रमाइलो गरी मनाउन पाइन । पूर्णिमाको दिन मात्रै घर पुगेर टीका लगाउन पाएँ। अहिले पनि टीका लगाउन मात्रै हेटौँडा पुग्छु होला।

मन पर्छ
अरुलाई भन्दा मलाई बढी केयर गरे जस्तो लाग्छ। झगडा हुँदा एकैछिनमा फकाइहाल्ने उसको बानी राम्रो लाग्छ। अरु दाइहरुलाई भन्दा बढी मलाई केयर गर्ने बानी छ।

मन पर्दैन
सानो सानो कुरामा मसँग रिसाइरहन्छे। माया पनि गर्छे, झगडा पनि मैसँग बढी गरिरहन्छे। उसको यही बानी मलाई मन पर्दैन। रिसाएपछि आँखा नै देख्दिन ऊ।

‘मेरो राम्रो दर्शक’
सुरक्षा पन्त (अभिनेत्री)
मेरो एउटै भाइ छ । दाइहरु छैनन्।

मन पर्छ
उसले मैले भनेको मान्छ। ज्ञानी लाग्छ।  हरेक कुरामा सल्लाह सुझाव दिन्छ। म फिल्म लाइनमा आएकोले होला हरेक फिल्म हेरेर दर्शकको नजरबाट यो भएन, यो यो राम्रो गरिछस् भनेर हौसला दिन्छ। मेरो राम्रो दर्शक पनि हो।

मन पर्दैन
चित्त नबुझेको कुरामा झनक्क रिसाउने बानी छ। तिहारको बेला हामीसँग देउसी भैलो खेल्न नलैजाँदा जिद्दी गथ्र्यो। रोई–कराई गरेर पनि देउसी भैलो खेल्न जान्थ्यो। अहिले पनि त्यो जिद्दीपना भने अझै पनि आउँछ।

‘तीन बहिनी, तीन स्वभाव’
दीपक शर्मा (संगीतकार)
मेरा तीन जना बैनीहरु छन्। तिनै बैनीहरुको स्वाभाव फरक फरक नै छ।

मन पर्छ
मेरो जेठी बैनी माया एकदमै इमान्दार लाग्छे। उसलाई छक्कापञ्जा भन्ने केही आउँदैन। दूरदर्शी छे। माइली बैनी शिक्षा बोली बचन मीठो छ। पढाइमा अब्वल छे र सबैसँग राम्रो व्यवहार गर्छे। कान्छी इन्दु हो। ऊ हिम्मतवाली छे। हरेक कुरामा आँट गर्छे।

मन पर्दैन
उनीहरुको नराम्रो बानी फरक खाल्को नै छ। जेठी बैनी मान्छेहरुसँग घुलमिल गर्न सक्दिन। अलिक चाँडो रिसाउने बानी छ। माइली बैनीको आत्मबल कम छ। कान्छीको नराम्रो बानी चैँ म जस्तै हाउडे छे।

‘राम्रो बोली’
याम क्षेत्री (लोक गायक )
तिहार झकास तरिकाले लाग्दैछ। भाइटीका लगाउन गृहजिल्ला पर्वत नै जाँदैछु।

मन पर्छ
मेरो एकजना दिदी र एकजना बैनी छन्। घरमा आएका पाहुनाहरुलाई मिठो मसिनो जे छ त्यही बनाएर दिने, राम्रो बोली वचन गर्ने गर्छन्। अनुशासित छन्।

मन पर्दैन
राम्रो कम्युनिकेसन छैन। आपत परेका बेला कल गर्दा साथमा मोबाइल नबोक्ने, फोन आएछ भनेर कहिलै नफर्काउने बानी छ।     

‘एकोहोरो लागेपछि लाग्यो लाग्यो’
मेनुका प्रधान (अभिनेत्री)
मेरो एउटा भाइ हो। उता गाउँमै नवलपरासीतिर छ।

मन पर्छ
ऊ मलाई हरेक कुरामा सम्झाइरहेको हुन्छ। यसो हेर्दा मेरो भाइ होइन दाइ जस्तो लाग्छ। दाइहरुले बैनीलाई जसरी सम्झाइरहेका हुन्छन्, त्यसरी नै मलाई सम्झाउँछ। मैले अभिनय गरेका फिल्म हेरेर कमेन्ट गर्छ। मलाई बेलाबखत फोन गरेर सञ्चो विसञ्चो सोधिरहन्छ।

मन पर्दैन
आफ्नो कुरामा अडिक भइदिन्छ। एकोहोरो लागेपछि लाग्यो लाग्यो। उसको जिद्दीपना बच्चैदेखि छोडेको छैन।

‘घुसघुसे भाइ’
निरु खड्का (हाँस्य कलाकार)
मेरो दुइजना दाजुभाइ हुनुहुन्छ।

मन पर्छ
दाइले बैनीलाई गर्नुपर्ने माया र कर्तव्य पूरा गर्नुहुन्छ। मिलनसार हुनुहुन्छ। भाइको मन भने फराकिलो छ। हरेकलाई सहयोग गर्ने भावना छ।

मन पर्दैन
मेरो दाइको फोन सम्पर्क एकदमै न्यून छ। दाइ अहिले साउदी अरबमा हुनुहुन्छ भने भाइ यतै छ। भाइ भने मनमा लागेको कुरा पनि खुलेर बोल्दैन। कसैलाई भन्दैन। अलिक घुसघुसे पाराको लाग्छ।

Leave A Comment