सात रङकाे सम्बन्ध

मङ्गलबार, १२ कार्तिक २०७६, १० : २३ शुक्रवार
सात रङकाे सम्बन्ध

जगमान गुरुङ, संस्कृतिविद्

पाँच दिनसम्म मनाइने भएकैले तिहारलाई यमपञ्चक भनिएको हो। यस पर्वमा मानिस,  पशुपक्षी र चौपायाको पूजा गरिन्छ। घरको रेखदेख गर्ने कुकुरदेखि सूचना आदान–प्रदान गर्ने काग, धानधान्य वृद्धि गराउने गाई र गोरु सबै पूजा गरिन्छ।

यम पञ्चक भनेकै काग, कुकुर, गाई, गोरु र मान्छे हो। तिहारलाई पशुपक्षी र मान्छेबीचको सामीप्य जनाउने चाडको रुपमा लिने गरिन्छ।

यम भनेको नियम हो। त्यही नियममा अनुबन्धित गरेर राख्ने यमराज हो । तिहारको  पाँचै दिनले मानव सभ्यतालाई इंगित गर्छ। मान्छे घुमन्ते, शिकारी, पशुपालन, कृषि हुँदै आजको युगमा आइपुगेको हो।

काग तिहारले मान्छेको घुमन्ते जीवन, कुकुर तिहारले शिकारी, गाई तिहारले पशुपालन, गोरु तिहारले कृषि युग जनाउँछ भने भाइटीकाले आजको नैतिक र आदर्श समाज जनाउँछ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने चलन नैतिकतापूर्ण आदर्शमय सभ्य र सुसंस्कृत मानिसको परिकल्पना गरेर बनाइएको हो। तिहारको टीकाले दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम अझ बढी झागिँदै जान्छ।  

लक्ष्मी पूजा किन गरिन्छ ?
लक्ष्मीपूजा आ–आफ्नो परम्पराअनुसार गर्ने चलन छ। नेपालमा भारतमा छापिएको फोटो कमलको फूलमा बसेर हातबाट असर्फी झारेको लक्ष्मीको तस्बिरमा पूजा गरेको पाइन्छ । हाम्रोमा नेवारहरुको अर्कै लक्ष्मी हुन्छिन्। कछुवामाथि चढेको एउटा खुट्टा माथि राखेको र चार वटा हात हुन्छन्। नेवारी परम्पराअनुसार सिन्दुर दानी राखेको हुन्छ। एउटा हातमा ढलोटको पातोलाई टिलिक्क टल्केको भाँडो, अर्काे हात अभय मुद्रामा, अर्काे हात तल बरदान दिएको जसरी राखिएको हुन्छ। पहाडतिर मृगको छालामा बेरेर राखिएको  सुनचाँदी पैसाको पूजा गर्ने चलन छ।

लक्ष्मीपूजाकै दिनमा बिमिरोको पात गाँसेर बनाइएको खोरीमा कपासको बत्ती कातेर तोरीको तेलमा बाल्ने चलन छ। यो चलन हराउँदै गएको छ। यसको अर्थ बिमिरोको पातमा बत्ती बाल्दा नेत्र ज्योति बढाउने विश्वास हो। लक्ष्मीपूजाकै दिन रोटी पकाइन्छ। तोरीको तेलको सुगन्धले घरलाई मगमगाउन त्यसो गरिएको हो।  

भाइटीका किन लगाइन्छ ?
तिहार यमपञ्चकको अन्तिम दिन भाइटीका लगाइन्छ। यसको पनि आफ्नै सांस्कृतिक पाटो छ। पौराणिक कथनअनुसार बहिनी यमुनाका घरमा बस्दा यमराज निकै प्रसन्न भई यमुनालाई तिमी जे माग्छ्यौ मागभन्दा यमुनाले हरेक वर्ष आजकै दिन आफूलाई भेट्न आउनुपर्ने, साथै दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु वृद्धि होस् भनी मागिन्। यमराजले बहिनी यमुनालाई तथास्तु भनी वरदान दिए। यही पौराणिक कथन अनुसार निरन्तररूपमा अहिलेसम्म तिहारलाई मनाइँदै आइएको छ।

सप्तरंगी टीकाको अर्थ
भाइटीकाको दिनमा दिदीबहिनीले दाजुभाइलाई पूजा गरी सप्तरंगी टीका लगाइदिने र मिठामिठा खानेकुरा खान दिने चलन छ। त्यसैगरी दाजुभाइले दिदीबहिनीलाई टीका लगाइदिई दक्षिणा दिने चलन छ। भाइटीका कात्तिक शुक्लपक्षको द्वितीया तिथिमा पर्छ। कात्तिक महिनामा सूर्य तुला राशिमा गएर निच हुन्छ। निच सूर्यको विकिरण सोझै पृथ्वीमा पर्छ। त्यसले गर्दा खगोलको असर भूगोलमा पर्छ।

खगोलमा हुने राम्रा तथा नराम्रा दुवै असर पृथ्वीमा परेको हुन्छ। सौर्यमण्डलका आधिपति सूर्य तुला राशिमा निच भएर बसेको हुन्छ। नराम्रो निच सूर्यको विकिरण हटाउनका लागि  सूर्यको सातवटा चिह्नको प्रतीकको टीका बनाएर लगाइएको हो।

निच सूर्यको दुस्प्रभाव रोक्न, त्यसको प्रतिकारका लागि सप्तरंगी टीका लगाइएको हो। सूर्यको किरणमा सातवटा रङ मिसिएको हुन्छ। सप्तरंगी टीका तेर्साे नलगाई ठाडो लगाउनुको पनि कारण छ। मानिसको तेस्रो नेत्र ठाडो हुन्छ। तेस्रो नेत्र भनेको ज्ञानको नेत्र  हो। तेस्रो नेत्र खुलाउनका लागि सप्तरंगी टीका ठाडो पारेर लगाउने गरिएको हो।

विषालु विकिरण रोक्नका लागि सप्तरंगी टीका लगाउनुको कारण त हुँदै हो। यससँगै दिदीबहिनी र दाजुभाइबीच नैतिक र आदर्शको सम्बन्ध स्थापित होस् भनी अनुबन्धित पनि गरेको हो।

रातो रङको अर्थ विजयको प्रतीक हो भने पहेँलो धन, सेतो ज्ञानको प्रतीकका साथै नीलो शान्तिको प्रतीक हो। कालो काललाई जित्ने र प्याजी भनेको कलेजोको रगतको प्रतीक हो, रगतले जिउँदो मानिसको प्राण भर्ने काम गर्छ। त्यसकारण सबैको सातवटै कुरा जीवनमा प्राप्त होस् भन्नका लागि सप्तरंगी टीका लगाइएको हो।

Leave A Comment