मसाज गर्ने टेक्निक

बुधबार, १३ कार्तिक २०७६, ११ : २० शुक्रवार
मसाज गर्ने टेक्निक

डा. डीबी सुनुवार, अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

शरीर चलायमान तथा लचिलो बनाउने विभिन्न व्यायाममध्ये एक उपाय हो, मसाज। मसाज आफैँले आफैँलाई गर्न सकिने भए पनि एक व्यक्तिले अर्कोव्यक्तिलाई गरिदिनु प्रभावकारी हुन्छ। पशुप्राणीले समेत भित्तोमा शरीर दलेर वा एक अर्काबीच शरीर रगडेर जानी–नजानी मसाज गरेका हुन्छन्।

त्यस्तै व्यक्तिको शरीर स्फुर्ती, मजबुत तथा लचिलो बनाउनका लागि मसाज आवश्यक छ। मसाज गर्ने भन्दैमा जथाभावी गर्नु हुन्न। यसका विधि र प्रक्रिया छन्। निश्चित विधि र प्र्रक्रिया नअपनाई मसाज गरेको खण्डमा स्वास्थ्यमा फाइदा हुनुको सट्टा बेफाइदा पुग्न सक्छ। त्यसैले मसाज गर्दा यसका विधि र प्रक्रियामा भने ध्यान दिन आवश्यक छ। 

शरीर रगडेर, बटारेर, थिचेर, मिचेर, तन्काएर विभिन्न विधि अपनाएर मसाज गर्न सकिन्छ। विशेषगरी मसाज गर्दा शरीरका अंग बटार्ने, मसार्ने तथा तन्काउने विधि बढी प्रभावकारी हुन्छ।

सामान्यतः तोरी, सरस्युँ, जैतुनको तेल लगाएर शरीरको मसाज गरिन्छ। तेल तताएर वा नतताई पनि मसाज गर्न सकिन्छ। पाउडर तथा लोसन लगाएर समेत मसाज गर्न सकिन्छ। बालुवा, कफीको मसिनो पाउडर दूधमा मिसेर मसाज गर्नाले शरीरका मांशपेशी लचिलो हुन गई दुखाइसमेत कम हुन्छ।

घरायसी रुपमा सामान्य किसिमका बेडमा मसाज गर्न सकिने भए पनि मसाज बेडमा मसाज गर्नु उपयुक्त हुन्छ। प्राकृतिक चिकित्सामा छुट्टै किसिमको मसाज बेड  हुन्छ। मसाज बेडमा बसेर मसाज गर्दा बेड लच्किने समस्या हुन्न।

यसरी सुरुवात
मसाज गर्ने व्यक्तिले मसाज गर्नु पूर्व कपडा खोल्नु पर्छ। एक पटक मात्रै प्रयोग गर्ने डिस्पोजेबल अण्डरवेर लगाउनु उपयुक्त हुन्छ। दैनिक प्रयोग गर्ने अण्डरवेर लगाउँदा तेलले बिग्रन्छ। अण्डरवेर फेरिसकेपछि मसाज बेडमा घोप्टो परेर सुतिन्छ। त्यसपछि पातलो ओड्ने कपडाले शरीर ढाकिन्छ। जुन ओड्नेलाई ‘बेडसिट’ भनिन्छ। मसाज गर्ने व्यक्तिको शरीरमा तेल नलगाई ‘बेडसिट’ भन्दा बाहिरबाट शरीर मिच्ने तथा थिच्ने गरिन्छ। यसरी ५/७ मिनेट थिच्ने तथा मिच्ने गरिसकेपछि ‘बेडसिट’ ओड्ने निकालिन्छ।

अब मसाज गरिदिने व्यक्ति (मसाज थेरापिस्ट) ले मसाज गर्ने व्यक्तिको खुट्टाको पैतालाबाट  हातले हल्का मिच्दै, थिच्दै घाँटीभन्दा तल कुमको भागसम्म पु-याइन्छ। खुट्टाको तल्लो भागमा रहेका विकार तत्व रगतका माध्यमबाट सर्दै मुटुमा पुग्ने भएकाले खुट्टाबाट मसाज गर्दै कुमतर्फ लगिन्छ। मुटुसम्म पुगेको विकार तत्व मुटुले पम्प गरेर फोक्सोमा पु-याउँछ। फोक्सोबाट श्वासप्रश्वासको माध्यमबाट विकार तत्व शरीर बाहिर निस्कन्छ। त्यसपछि पुनः स्वच्छ रगत मुटुको माध्यमबाट शरीरको अंगमा रक्तसञ्चार हुन्छ। त्यसैले शरीरको टाउकोतर्फको भागबाट हैन खुट्टातर्फबाट मसाज गर्दै शीरतर्फ छाला सोहोर्दै ल्याउनु अत्यन्तै वैज्ञानिक हुन्छ।

सामान्य रुपमा सुन्दा एकै किसिमको मसाज हुने जस्तो लागे पनि मसाज एकै किसिमका हुँदैनन्। सामान्य, कडा र मध्यम गरी सामान्यतः तीन किसिमका मसाज हुन्छन्। व्यक्तिको रोग, शारीरिक अवस्था अनुसार फरक–फरक किसिमले मसाज व्यायाम विधि अपनाइन्छ।

दीर्घ रोगीले सामान्य मसाज
दीर्घरोगको समस्या भएका व्यक्तिले सामान्य किसिमको मसाज गर्नु उपयुक्त हुन्छ। दीर्घ रोग भएका व्यक्तिले हल्का किसिमले शरीरलाई धेरै भार नपर्ने गरी थिचेर, मिचेर, दबाएर मसाज गर्नु उपयुक्त हुन्छ। रोगीको रोगको समस्याका कारण शरीर कडा किसिमले बढी थिच्दा, मिच्दा तथा बटार्दा झन् दुखाइ बढ्नुका साथै समस्या बढ्ने जोखिम हुन्छ। दीर्घ रोगीले सामान्यभन्दा कडा किसिमको मसाज गर्दा शरीरमा बढी भार परी स्वास्थ्यमा नकारात्मक समस्या आउने जोखिम हुन्छ। त्यसैले यस्ता व्यक्तिले अनुभवी मसाज थेरापिस्टसँग मसाज गराउनु उपयुक्त हुन्छ।

महिलाले मध्यम
विशेषगरी मध्यम किसिमको मसाज महिलाका लागि उपयुक्त हुन्छ। त्यसैगरी कम शारीरिक परिश्रम गर्ने (अफिसियल काम गर्ने) व्यक्तिका लागि मध्यम किसिमको मसाज गर्नु उपयुक्त हुन्छ। महिला र कम शारीरिक परिश्रम गर्ने व्यक्तिको शरीरको मांशपेशी कोमल तथा कम चलायमान हुने भएकाले तुलनात्मक रुपमा यस्ता व्यक्तिको शरीर कमजोर हुन्छ। कोमल तथा कमजोर शरीर भएका व्यक्तिमा कडा किसिमको मसाज गर्दा शरीरले सहन सक्दैन। यस्तो शरीरमा कडा किसिमको मसाज गर्नाले मांशपेशी तथा शरीरमा बढी भार परि मांशपेशी तथा नसा सुन्निने, दुख्ने, नसा चुटिनेसम्मको जोखिम हुन्छ। त्यसैले महिला र कम शारीरिक परिश्रम गर्ने व्यक्तिको शरीर मसाज गर्दा धेरै बटार्ने, थिच्ने तथा मिच्ने गर्नु हुन्न। हल्का किसिमले गर्नुपर्छ। दीर्घ रोगीभन्दा भने केही कडा किसिमले मसाज गरिन्छ।

कडा परिश्रम कडै मसाज
कडा किसिमको शारीरिक परिश्रम गर्ने व्यक्तिका लागि कडा किसिमको मसाजको आवश्यकता हुन्छ। ट्रेकिङ गर्ने, खेलकुद खेल्ने, कडा किसिमको व्यायाम तथा परिश्रम गर्ने व्यक्तिको शरीर कडा गरी थिचेर, मिचेर तथा माडेर मसाज गर्नु उचित हुन्छ। यस्ता व्यक्तिलाई हल्का किसिमले मसाज गर्दा स्वास्थ्यका हिसाबले लाभदायक हुन्न। शरीरमा फाइदा पुग्दैन।

व्यायाम गरिरहने तथा कडा किसिमको  शारीरिक परिश्रम गर्ने व्यक्तिको शरीरमा व्यायाम पुग्ने भएकाले मसाज गर्न आवश्यकता हुन्छ र भन्ने प्रश्न उठ्न सक्छ। तर यस्ता व्यक्तिले पनि मसाज गर्न आवश्यक हुन्छ। कडा किसिमको परिश्रम तथा व्यायाम गर्ने व्यक्तिको शरीर लचिलो हुने भए पनि मसाज गर्नाले नसा, मांशपेशी तथा हाडजोर्नी भाइब्रेट हुने भएकाले शरीर थप लचिलो हुन्छ। यस्ता व्यक्तिले मसाज गर्दा व्यक्तिमा थप व्यायाम पुगी नसा तथा हाड जोर्नी खिइने, जोर्नी मर्किनेजस्ता जोखिमबाट बच्न सकिन्छ। यसको अर्थ मसाजले शरीर थप मजबुत बनाउँछ। कडा किसिमको मसाज गर्दा बढी बल लगाएर थिच्ने, बटार्ने तथा मिच्नुपर्ने भएकाले कडा किसिमको मसाज अनुभवी पुरुष थेरापिस्टले नै गरिदिनु उपयुक्त हुन्छ।

खाली पेटमा मसाज
सामान्यतः जुनसुकै समयमा मसाज गर्न सकिन्छ। सकेसम्म बिहान वा बेलुकीको समयमा मसाज गर्नु राम्रो। खालि पेटमा मसाज गर्नुपर्छ। खाना खाएको दुई घण्टापछि मसाज गर्नुपर्छ भने मसाज गरेको दुई घण्टापछि मात्रै खाना खानु पर्छ। भरिपेटमा मसाज गर्दा असहजता मात्रै हुँदैन भमिट हुनेजस्तो समस्याको जोखिम हुन्छ। स्वस्थ व्यक्तिले हप्तामा एक देखि दुई पटकसम्म मसाज गर्नु स्वास्थ्यका हिसाबले लाभदायक हुन्छ। एक पटकमा करिब डेढ घण्टा मसाज गर्नु उपयुक्त हुन्छ।

दुखाई कम गर्नकै लागि मसाज गरिने भएकाले सड्किएको, मर्किएको अवस्थामा मसाज गरेर समस्या समाधान गर्न सकिन्छ। सुन्निएको अवस्थामा भने शरीरका नसा तथा मांशपेशी झन् सुन्निने तथा दुख्ने भएकाले यस्तो अवस्थामा मसाज नगर्नु नै उचित हुन्छ। स्वस्थ व्यक्तिले यसरी मसाज गर्नाले शरीर मजबुत हुनुका साथै लचिलो हुन्छ। जसले सजिलै शरीरका हाडजोर्नी मर्किने, सड्किने तथा भाँचिने जोखिमबाट बच्न सकिन्छ। शरीर मजबुत बनाउने भरपर्दो तथा सजिलो उपाय मसाज थेरापी हो। मसाजले शरीरमा राम्रोसँग रक्त सञ्चार हुने भएकाले व्यक्ति स्वस्थ रहनका लागि मसाज आवश्यक हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment