कांग्रेसको नालायकी

शुक्रबार, २२ कार्तिक २०७६, ११ : ५६ शुक्रवार
कांग्रेसको नालायकी

हुन त माउ पार्टी आफैँ प्यारालाइसिस अवस्थामा देखिन्छ। त्यस्ताको अभिभावकत्व गुमेपछि तिनका सन्तानको अवस्था कस्तो होला भन्ने हेर्न नेपाल विद्यार्थी संघलाई हेरे पुग्छ।

यतिबेला खासमा प्र्रतिपक्षीको भूमिकामा कांग्रेसले आफूलाई सशक्त रुपमा उभिनु पर्ने हो तर कांग्रेसले जे कुराको विरोध गर्छ, त्यो यति लुरे तर्कमा उभिएको हुन्छ कि कार्यकर्ता पनि लाजले टाउको निहु-याउँछन्। त्यसमाथि पार्टी सभापति शेरबहादुर देउवाको घामड शैली, के भन्नु ?

यतिबेला कांग्रेसले जनताको मन जित्ने विभिन्न कार्यशैली देखाउनुपर्ने हो। त्यसका लागि कार्यकर्ता परिचालित गर्नुपर्ने हो। परिचालन गर्ने जोशजाँगर पनि छैन। यस्तो अवस्थामा पार्टीका अन्य शाखाहरु अभिभावक बिनाका रुञ्चे सन्तानजस्तो बन्न पुगेका छन्।

कांग्रेस कमजोर भएको बेलामा आफूअन्तर्गतका विभिन्न भातृ संगठनलाई दह्रो बनाउनुपर्ने हो। तिनैले निर्वाचनमा आफूलाई भरथेग गर्छन्। तर यस्तो बुद्धि माउलाई कहाँ छ र ? विरुवा नै स्वस्थ नभएपछि त्यसले राम्रो उत्पादन कहाँ दिन्छ र ?

अहिले नेवि संघलाई त्यस्तै अवस्था आइपरेको छ। सक्रिय भूमिकामा उत्रिनुपर्ने नेविसंघ यतिबेला नेतृत्वविहीन अवस्थामा छ। अब नेतृत्वकै अलपत्र स्थिति भएपछि संगठन पनि अलपत्र हुने नै भयो।

अलपत्र नेविसंघको अवस्था कुपोषित सन्तानको जस्तो छ। पछिल्लो १० महिनादेखि नेविसंघ नाम मात्रको संगठनमा परिणत भएको छ। ११ औँ महाधिवेशमा निर्वाचित भएका विद्यार्थी नेता नैनसिंह महरले राजिनामा दिएसँगै नेविसंघ भताभुंगको अवस्थामा छ।

यसले नेतृत्वविहीनता यति झेल्यो कि संघ नै वल्लो घाट न पल्लो तिरको अवस्थामा पुग्यो। अब यस्तो अवस्थालाई चिर्न नेतृत्व चयन हुनुपर्ने हो, महाधिवेशनले तरङ्ग ल्याउनुपर्ने हो तर त्यसको कुनै छेकछन्द छैन।

सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गुटको आन्तरिक भागभण्डाको किचलोले नेविसंघ पूरै प्यारालाइसिसको अवस्थामा पुगेको हो।

निर्णयहीनताको यो प्यारालाइसिस संघबाट सरेर माउमै पुग्न समय लाग्ने छैन। त्यसै पनि कहिले ३२ वर्षे उमेर हद त कहिले संघको नेतृत्व आ–आफ्नै कोटरीको दाउले संघ रुग्ण छँदै छ।

पौडेल तरुण दल वा नेवि संघको दुई नेतृत्वमध्ये एउटामा आफ्नो समूहको पोल्टामा पार्ने दाउ खोजिरहेका छन्। त्यस्तो अवस्था नरहे बरु संघ नै कोमामा जाओस् भन्ने मानसिकतामा छन्। देउवाको दाउ पनि उस्तै छ। पार्टी र संगठनभन्दा पनि आफ्नो पोल्टो कसरी भारी बनाउने यो दाउपेचका कारण लाखौँ मानिसको भावनामाथि खेलाँची भइरहेको र यो खेलाँचीका कारण पार्टीका कार्यकर्ता दिक्क बन्न थाले भने निकटमै रहेको उपनिर्वाचनमा पहिलेझैँ उत्तानो टाङ पर्ने निश्चित छ।

त्यसैले नेतृत्वले चुनावको मुखमा यसो जनतालाई तताउनै र जाँगर दिलाउनै भए पनि केही गतिलो काम गरिदिए हुन्थ्यो नि ! कि कसो ?

Leave A Comment