चेपुवामा नेपाल

शुक्रबार, २२ कार्तिक २०७६, १२ : ०७ शुक्रवार
चेपुवामा नेपाल

सरकारले हालै सातै प्रदेशका प्रदेश प्रमुखलाई एकैचोटि हटाएर नयाँ प्रमुख नियुक्ति गरिसेकको छ। नेपाली कांग्रेसका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ मा नियुक्ति गरेको हुनाले प्रदेश प्रमुख हटाउँदा कांग्रेसको त टाउको दुख्ने नै भयो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव नेपालसमेत प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चेपुवामा परेका छन्। उनीहरुको व्यवहारले नेता नेपालको टाउको मात्रै दुखेको छैन। उनी सकसमै परिसकेका छन्।

हुन त भागबण्डाकै कुरा न हो ! नेकपा सचिवालय बैठकले आफ्नो पक्षका नेता प्रदेश प्रमुखमा सिफारिस नगरेपछि उनले त्यसमा नोट अफ डिसेन्टनै ठोकिदिए। नोट अफ डिसेन्ट भनेको हामीलाई थाहै छ। माधवको यो नोट चाहिँ ओली र प्रचण्डको चेपुवामा परेपछि कुनै उपाय नलागेर निरीह असन्तुष्टि हो क्या !

हुन पनि नेपालको भागका नेतै नपर्ने गरी ओली र प्रचण्डले भागभण्डा गरेछन्, अनि उनलाई टाउको नदुख्ने कुरै भएन। ‘म जे गर्छु ठीक गर्छु, ठीकबाहेक अरु केही गर्दिनँ। त्यस्तै जे बोल्छु, ठीक बोल्छु। ठीकबाहेक अरु केही बोल्दिनँ। त्यसैले मेरोअनुसारै काम हुन्छ,’ भन्ने धारणाका ओलीसँग नेपालको के लागोस् !

अर्का अध्यक्ष प्रचण्ड चतुर राजनीतिक खेलाडी भैहाले। फाइदाका लागि फकाउनदेखि लिएर तर्साउनसमेत खप्पिस छन् उनी। ओलीको पेलानले नेपाल आजित भैसकेका आशय सहितका समाचार बेलाबखत बाहिरिने गरेका छन्। अध्यक्ष दाहाल भने सिजनल कुरा र व्यवहार गर्न खप्पिस छन्। कहिले नजानिँदो रुपमा नेता नेपाललाई तर्साउँछन्, त कहिले फकाएजस्तो गर्छन्। उनको यो स्वभावै हो। राजनीतिक कौडा आफ्नो पोल्टामा पार्न मुसा खेलाएजस्तै खेलाउन प्रचण्डलाई कसले भ्याओस् !

अध्यक्ष प्रचण्डले त एक कार्यक्रममा नेता नेपालले नोट अफ डिसेन्ट लेख्नु स्वभाविकै भएको बताएछन्। उनले नेपालले नाम सिफारिसमा आफूले मान्दिनँ नभनेको तर फरक मत राखेको बताएछन्। अब चतुर नेताले बोल्ने यस्तै हो। ओली र प्रचण्ड मिलेपछि नेपालको पनि के लागोस्, खाली असहमति जनाउने त हो ! हुन त पार्टी एकीकरण भएपश्चात् नै उनी चेपुवामा पर्न थालेका हुन्। अब उनी चेपुवाबाट कसरी बाहिर निस्कन्छन् कुन्नी ! त्यो त हेर्नै बाँकी छ।

Leave A Comment