केटी मिलाइदेऊ भन्ने अफर धेरै आए

मङ्गलबार, २६ कार्तिक २०७६, ०९ : ५४ शुक्रवार
केटी मिलाइदेऊ भन्ने अफर धेरै आए

प्रेम श्रेष्ठ,ट्याक्सी चालक

ट्याक्सी पेशामा लाग्नुभएको कति भयो ?
चार वर्ष भयो।

ट्याक्सी चलाउनुभन्दा अगाडि के गर्नुहुन्थ्यो ?
हाइड्रो पावरको गाडी चलाउँथेँ। लामो समयसम्म त्यहाँ जागिर खाएपछि आफँैले अलिक सहज ट्याक्सी पेशा होला कि भनी रोजेको हुँ।

चार वर्षसम्म ट्याक्सी चलाउँदा कस्ता अप्ठ्यारा भोगियो त ?
ट्याक्सीमा यात्रुको व्यवहारदेखि लिएर ट्राफिक प्रहरीको हेपाइ खाइयो। नाइटमा त झन् यात्रुको गतिविधि नै ठिक लागेन। यात्रुले थर्काउने, भाडा दिन नखोज्ने प्रवृत्तिका यात्रु धेरै भेटिने गरेका छन्।
केही सयम अगाडि एयरपोर्टबाट बालाजु जाँदा एकजना यात्रुले थर्काएको छ। एयरपोर्टमा मिटरमा जाने सल्लाह भई हिँडेका थियौँ। बालाजु पुगेपछि तोकेको भन्दा कम भाडा दिएर गयो। थोरै पैसा दिएर पनि अझैँ मुखमा जे आयो त्यही बोल्दै थियो।

प्रहरीलाई खबर गर्नुभएन ?
ट्याक्सी प्रहरी भएकै छेउमा रोकेको हुँनाले मैले तत्काल प्रहरीलाई बोलाएँ। उसलाई प्रहरीले समाएर मेरो पूरा पैसा दिन लगायो र उसलाई त्यहीँ राखेको थियो। पछि के भयो थाहा भएन।

हाउमचमा कत्तिको परिन्छ ?
राति भन्दा दिउँसो अलिक बढी चेकिङ हुन्छ। नाइटमा त्यति धेरै हाउमच हुँदैन। म हाउमचमा केही महिना अगाडि परेँ। एयरपोर्टबाट कलंकी जाउँ भनेर सोधेको थियो। मैले हुन्छ भनेँ। कतिमा जाने भनेर प्रश्न आयो। मिलाएर थप दस, बीस रुपैयाँ दिनु न भनेको। ल तपाईं हाउमचमा पर्नु भयो भनेर तीन हजारको चिट काटि हाल्यो। धेरै पटक सोध्ने ग-या छ। उनीहरुको सोधाइ र गेटअपले नै अब त परैबाट हाउमच चेकिङवाला चिन्छु।

खाना खाउँ खाजा खाउँ भन्ने यात्रु कत्तिको भेटिन्छन् ?
त्यस्ता कमै भेटिने गरेका छन्। मैले एक पटक एयरपोर्टबाटै भ्याली भित्रै एकजना यात्रु घुमाएको थिएँ। उसले खाना, खाजा, चिसो आदि खुवाएको थियो। मिटरमा उठेको पैसा पनि दियो। फेरि फेरि भेटौंला है गुरुजी भन्दै बिदा भएको थियो। यही एउटा यात्रु थियो, यसो भन्ने अरु भेटेको छैन।
नाइटमा ट्याक्सी चलाउँदा पहिलो कुरा सुरक्षा छैन। ट्याक्सी जहाँ पनि लिएर जानुपर्ने हुन्छ। त्यहाँ पुगेपछि लुटिने कुटिने, उस्तै परे ट्याक्सी चालकलाई मार्नेसमेत गरेका छन्। यसमा सरकारको ध्यानै छैन। उल्टै सरकारले नै ट्याक्सीलाई हेपेको जस्तो लाग्छ।

ट्याक्सी चालकले यात्रु ठग्ने गरेको सुनिन्छ नि। खास कुरा के हो ?
मान्छेका हातका औंला सबै बराबर छैनन्। त्यस्तै सबै ट्याक्सी चालक असल पनि छैनन्। एयरपोर्टका ट्याक्सी चालकहरुले होटलवालासँँग यात्रु पु-याइदिए बापत कमिसन  माग्ने गरेका छन्। यात्रुलाई भाडा बढी लिने गरेका छन्। बाहिरको ट्याक्सी गयो भने प्रहरीले समेत बस्न दिँदैन। टिप गर्ने त कुरै भएन। यस्तो ठाउँमा प्रहरीले विचार गर्ने हो नि। कहाँ ठगी भइरहेको छ भन्ने कुरा। पुलिस र ट्याक्सी नै मिलेका छन्। बाहिरका ट्याक्सीले त ठगेजस्तो लाग्दैन।

नाइटमा ट्याक्सी चालकलाई केटी मिलाउने अफर आउँछ रे नि हो ?
यस्तो त धेरे घटना छन्। होटलमा, डिस्को, डान्सबारबाट मातेर निस्कने  यात्रुले मलाई केटी मिलाइदेऊ भनेर सोध्ने गरेका छन्। नेपाली, इण्डियन सबैले सोध्ने गर्छन्। नाइटको समयमा केटाकेटी चढेका छन् भने छाडा पनि बोल्छन्। धेरै ठाउँमा यस्ता यात्रु हुन्छन्। आफूले गन्तव्यमा पु-याउने काम हो भनेर सम्झन्छु।
प्रस्तुति : भोला अधिकारी

Leave A Comment