केटाको मात्र होइन, केटी केटीमा पनि फाइट पर्छ

मङ्गलबार, २६ कार्तिक २०७६, १० : १२ शुक्रवार
केटाको मात्र होइन, केटी केटीमा पनि फाइट पर्छ

दोहोरीसाँझलाई  कर्म बनाइरहेका दोहोरी गायक अमृत भारतीसँग भोला अधिकारीले गरेको रात्रिकालीन कुराकानी :

दोहोरीसाँझमा गाउन थालेको २०७३ सालदेखि हो। आर्थिक अवस्था कमजोर भएकै कारण दोहोरीसाँझमा गाउन थालेको हुँ। कोटेश्वर जडिबुटीमा सत्तरङ्गी दोहोरीसाँझ थियो। अहिले धेरै साहुले त्यो दोहोरीसाँझ किनबेच गरिरहेकाले नाम फेरिरहेका छन्। त्यहाँबाट मैले दोहोरीसाँझमा गाउन सुरुवात गरेको हुँ। दोहोरी गाउनका लागि उखान टुक्का त आउँथ्यो तर सवालको जवाफ फर्काउन सक्दिन थिए। पछि पछि बाँनी पर्दै गयो।

गेष्टले केटी मिलाइदेऊ न भन्छन्
झन्डै आधा दर्जन जति दोहोरीसाँझमा गीत गाइसकेँ मैले। हरेक दोहोरीसाँझमा केटी मिलाइदेऊ न भन्ने गेष्टहरु आउँछन्। राति १२ बजेपछि गेष्टहरुले तिम्रो छेउमा बसेको केटीको रेट कति छ। बाहिर जाने गरेको छ भने भन पैसा दिन्छु भनेर लोभ देखाउँछन्।

दोहोरीसाँझमा धेरै थरिका गेष्टहरु आउने गरेका छन्। यी सबै कुरा आफूले भोगेका हुन्। मान्छेहरुले कति तुच्छ सोच्ने गर्छन्। तर दोहोरीसाँझमा गाउने लेडिज कलाकारहरु त्यस्ता खालका हुँदैनन्। सबै आर्थिक समस्याका कारणले नै दोहोरीसाँझमा गाएर अरूलाई मनोरञ्जन दिएर पेट पाल्न आएका हुन्छन्।

तल झरेपछि मारिदिन्छु भन्छन्
कतिपय गेष्टहरुले तँ हिरो भएको हो। तँ तल मात्रै झर न । बाटैमा सिद्धाइदिन्छु समेत भनेका छन्। मैले यस्तो धम्की त कति भोगेँ। तर अहिलेसम्म कसैले कुटेका भने छैनन्। उनीहरुले रक्सीको तालमा धम्क्याएर जान्छन्।
यस्तो खालको धम्की कसैले केटी नमिलाइदिएको भनेर दिन्छन् भने कसैले अनुरोध गरेको गीत गाइएन भनेर धम्क्याउने गरेका छन्, यस्तो बेला भने दोहोरी नै छोडाैं कि जस्तो लाग्छ। छोडेर के गर्नु अरु काम गर्न जानेको छैन। अब त यस्ता धम्की सामान्य लाग्न थालिसक्यो।  

ज्यानको भन्दा तलबको माया
आफू ६५ सय तलबमा काम गर्न थालेको मान्छे। धेरै समयपछि तलब बढाएर ७५ सय पु-याएपछि त साहुले पैसा दिन छोड्यो। हजार पन्ध्र सय लैजा भन्न थाल्यो। त्यो पनि ३,४ महिना भइसक्यो साहुले  तलब नदिएको। यस्तो जोखिम मोलेर पनि जेनतेन काम गरिरहेको थिएँ। 

आखिरमा ३,४ महिनाको तलबै नपाएपछि म निस्केर अर्को दोहोरीमा गएँ। त्यहाँ मलाई छ हजार दिइयो। अर्को दोहोरीमा पनि समयमा तलब दिएन। यहाँ धेरै समय बस्न मन लागेन। किनभने मलाई दिल खोलेर गाउन नै दिएनन्। त्यसपछि जुगल दोहोरीसाँझमा गएँ। यहाँ तलब घटेर ५ हजार भो। तलब ५ हजार भए पनि टिप्स भने डबल नै हुन्थ्यो। त्यसको लोभले गर्दा नै बसेँ। बिस्तारै तलब बढ्दै १० हजार पुग्यो। मैले साढे १० मागेको थिएँ। पाँच सयको कुरा नमिलेपछि छोडेँ। नयाँ बानेश्वरको बिजुली बजारमा रहेको मायालु दोहोरीसाँझमा आएँ। यहाँ पैसाको हिसाबले निकै थियो। तर टिप्स नै भएन। दरबारमार्गमा रहेको एउटा दोहोरीमा पनि काम गरेँ। अहिले शैलुङ दोहोरीसाँझमा काम गर्न थालेको छु। 

केटी केटीको ग्याङ फाइट
अहिले छोरी मान्छे पनि रक्सी पिएर लठ्ठ परेका हुन्छन्। कोटेश्वरकै एउटा दोहोरीसाँझमा म गीत गाउनका लागि सेड्युल मिलाइरहेको थिएँ। केटीको दुईवटा ग्याङ गीत सुन्दै थिए। एकै छिनमा ड्याम ड्याम र डुम् डुम् फाइट पर्न थाल्यो। फाइट खेल्दै दोहोरीसाँझको तल गए। के निहुँमा झगडा परेको हो मलाई थाहा छैन।

एक छिनमा साहुले फोन गरेर प्रहरी बोलायो। प्रहरी आएर भाटै भाटाले हान्दा पनि फाइट रोकिएन। उनीहरुको हतियार भनेको कपाल रहेछ। प्रहरीले जति भाटा हाने पनि छुट्न मुस्किल भयो। मैले यस्तो फाइट पहिलोपटक देखेको हो। कसो कसो गरेर प्रहरीले छ्युट्याएर लग्यो।   

केटाहरुको फाइट पनि कम छैन र थिएन। जुगल दोहोरीसाँझ र इन्द्रावतीमा धेरै जसो केटाहरुको पनि फाइट परिरहन्थ्यो। जुगलमा काम गर्दा केटाहरुको नै ग्याङ फाइट परेको छ। एका पट्टि ३ जना जति केटाहरु थिए भने अर्को पक्षमा १० जना जति। जताततै रगतै रगत भएको थियो।

सामान्य त भइरहन्छ। यही ठाउँमा एउटाले बाहिर रक्सी खाएर आएको रहेछ। रड नै प्रहार गरेको थियो। दोहोरीसाँझको स्टेजमा रहेको ऐनामा लाग्यो। म छेउमै थिएँ तर भगवान् भरोषा जोगिएँ। त्यस्तै अर्को एउटा रक्सीवालाले ढोकाको ऐनामा वियरको बोतलले हान्दा मेरो देब्रे हात नै काट्यो, सीसा उछिट्टिएर।

Leave A Comment