बच्चाको पढाइ अब्बल बनाउने उपाय

मङ्गलबार, २६ कार्तिक २०७६, ११ : २४ शुक्रवार
बच्चाको पढाइ अब्बल बनाउने उपाय

केही समयअघिसम्म मेरा छोराछोरी टिभी हेर्छन्, पढ्दै पढ्दैनन् भन्ने अभिभावकको गुनासो रहन्थ्यो। प्रविधिमा आमूल परिवर्तन आएपछि हिजोआज बालबालिकाहरु टिभी छाडेर युट्युबमा व्यस्त हुने गरी बद्लिए तर अभिभावकको गुनासो भने उही छ। हिजोका छोराछोरी टिभीमा झुम्मिन्थे, अचेल युट्युबमा झुण्डिएर हैरान छ। छोराछोरी नपढ्ने नै भए, के गर्ने होला ?

बालबालिकाको पठन रुचि घटेकै हो त ? कि हामी अभिभावक नबद्लिएका हौँ ? यस्ता केही कुरा छन्, जसमा अभिभावकले केही कुरामा मात्रै ध्यान दिने हो भने बालबालिकाको पढाइमा रुचि बढाउन सकिन्छ।

अभिभावक र शिक्षकबीच कुराकानी बढाउनुस्
आफ्ना सन्तानलाई स्कुल मात्र पठाएर हुँदैन। उनीहरुको शैक्षिक स्थितिबारे पनि जानकार हुनुपर्छ। स्कुलका हरेक गतिविधिमा अभिभावक छलफल गर्न तयार हुनुपर्छ। आफ्ना सन्तान पढाउने हरेक विषय शिक्षकसँग पनि बच्चाको रुचि र लगावबारे जानकार हुनुपर्छ। 

स्कुलको सेवा सुविधाबारे सचेत रहनुस्
स्कुलको बनावटले पनि बच्चाहरुलाई फरक पारिरहेको हुन्छ। बच्चाहरुसँग स्कुलको वातावरण कस्तो लाग्दैछ भनेर बुझ्नु त प-यो नै स्कुलमा पुगेर त्यहाँको खेलकुद, खेल्ने चौर, विशेष कक्षाहरुबारे अपडेट भइरहनुपर्छ। कारण, अतिरिक्त क्रियाकलापमा आफ्ना सन्तानको लगाव थाहा पाउन सकियोस्।

गृहकार्यमा सहयोग गर्नुस्
पढ् पढ् भनेर करकर मात्र गर्नुभन्दा आफ्ना सन्तानको गृहकार्यमा पनि सहयोग गर्नु धेरै राम्रो हुन्छ। स्कुलमा सिक्ने मात्र हुन्, त्यसलाई मूर्तरुप दिने घरबाटै हो। गृहकार्य गर्नको लागि शान्त र सिर्जनात्मक वातावरण व्यवस्था गरिदिनुपर्छ। जब तपाईंका सन्तान गृहकार्य गरिरहेका हुन्छन्, त्यतिबेला असाइन्मेन्टको गाइडेन्स, प्रश्नोत्तर र समीक्षा गर्न सिकाउनुपर्छ। गलत ग-यो भनेर रिसाउने हकार्ने गर्नु हुन्न। गल्तीबाट नै सिकिन्छ भन्ने कुरा अभिभावकले मनन् गर्न जरुरी छ।

सिक्न तयार पारेर स्कुल पठाउनुस्
 खाना र निद्रामा विशेष ध्यान दिनुपर्छ। पोषण र निद्रा नपुगेमा बच्चाहरुले सिक्न सक्दैनन्। बिहानको खानामा विशेष जोड दिनुस्। प्रशस्त मात्रामा पौष्टिक आहारासँगै स्वस्थकर खानामा ध्यान दिनु जरुरी छ। कार्बोहाइड्रेड, प्रोटिन, फाइबरयुक्त फलफूल लगायतका सन्तुलित भोजन हुनुपर्छ। झन् स्कुलको प्रारम्भिक तह हो भने त खाना मात्र हैन, स्कुलमा सुत्ने व्यवस्थाको पनि ख्याल गर्नुपर्छ।

समूहमा काम गर्ने कला सिकाउनुस्
बच्चाहरुलाई समूहमा काम गर्ने कला सिकाउनु पर्छ। समूहमा मिलेर काम गर्ने कलाले अरुसँग घुलमिल हुन सिकाउने हुनाले पछि समूहमा काम गर्ने कला सिक्छन्। त्यस्तै समूहमा काम गर्न सिक्छन्। यस्तोमा कहिलेकाहीँ नेतृत्व लिने वा गर्ने कला पनि सिक्न सक्छन्।

सिकाउने शैली सिक्नुस्
 बच्चाहरुको स्वभाव फरक फरक हुन्छ। स्वभावअनुसार सिकाउने तरिका पनि फरक हुन जरुरी छ। अनि सँगै विषयअनुसार पनि सिकाउने कला सिक्न जरुरी छ। यसका लागि इन्टरनेट तथा विभिन्न पुस्तकहरु अध्ययन गर्न सकिन्छ।

त्यस्तै अन्य गतिविधिमा पनि ध्यान दिन जरुरी छः
घर तथा स्कुलको पढ्ने स्थान अवलोकन गर्नुस्,
अतिरिक्त क्रियाकलापमा आफ्ना सन्तानको सहभागिताबारे ख्याल गर्नुस्,
सन्तानका विविध किसिमका योजनाहरु सुन्नुस्
स्कुलको बोर्ड मिटिङमा जानुस्,
पुस्तकालयको अवस्थासँगै उपस्थितिबारे जानकारी लिनुहोस्।

Leave A Comment