आत्मविश्वासको प्रत्यारोपण

बिहिबार, २८ कार्तिक २०७६, ०९ : २९ प्रकाश जंग थापा
आत्मविश्वासको प्रत्यारोपण

आत्मविश्वास र सफलता–असफलता एकअर्काको परिपूरक हुन्। उच्च आत्मविश्वासले सफलताको जग तय गर्छ भने न्यूनतम आत्मविश्वासले असफलताको। कुनै पनि क्षेत्रमा संलग्न हुनुअघि आत्मविश्वास अधिक हुनु जरुरी छ। चाहे त्यो नयाँ प्रेम सम्बन्ध सुरु गर्दा होस् या व्यवसाय। पहिलो डेटिङमा जाँदा होस् या शारीरिक निकटता बढाउँदा। जागिरको अन्तरवार्ता दिँदा होस् या कार्यक्षेत्रमा आफ्नो प्रस्तुति दिँदा। नयाँ रुचिका कुरामा सरिक हुँदा होस् या व्यक्तित्व विकास गर्दा। यी यावत् कार्यक्षेत्रमा आत्मविश्वास अत्यावश्यक छ। यतिसम्म कि आत्मविश्वासको खडेरीमा आफ्नो पार्टनरलाई मीठो चुम्बन दिन पनि ठूलै सकस हुन्छ। यो कसरी ? आत्मविश्वास अधिक भएको अवस्थामा ढिलासुस्तीले स्थान पाउँदैन। कार्य चाँडै गरिन्छ। त्यस कार्यबाट निश्चित परिणाम प्राप्त हुन्छ। मानौँ परिणाम सकारात्मक छ। अब त्यही परिणामले थप आत्मविश्वास बढाउन मद्दत गर्छ। र, सफलता प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्छ। त्यसैगरी आत्मविश्वासको कमी भए कुनै पनि कार्यलाई सुरुवाती चरणमा प्रवेश गराउन सकिँदैन। परिणाम शून्य नै हुन्छ। वर्तमान अवस्थामा कुनै प्रगति आउन सक्दैन। जसको अर्थ हो– असफलता। केहीगरी कार्य सुरुवात गरिए पनि त्यो प्रभावकारी हुँदैन। बीचमै छोडिने प्रवल सम्भावना रहन्छ।

आत्मविश्वास के हो ?
आत्मविश्वास मनस्थिति हो। वैचारिक तरङ्ग, लहर हो। अर्को शब्दमा भन्नुपर्दा ऊर्जाको कम्पन हो। कुनै एक व्यक्ति आत्मविश्वासी छ भन्नुको तात्पर्य उसको मनोदशा ठीक छ, मनोवैज्ञानिक रुपमा स्वस्थ छ, उसमा सकारात्मक वैचारिक लहर चलेको भन्ने बुझिन्छ। आत्मविश्वासहीन व्यक्तिको मनोदशा ठीक हुँदैन। ऊ स–साना उल्झनमा पनि विचलित हुने गर्छ। यस्ता व्यक्तिमा नकारात्मक वैचारिक लहर अत्यधिक रुपमा बग्ने गर्छ। यस्तो व्यक्ति ऊर्जाशील हुन सक्दैन।

आत्मविश्वासको विकासक्रम
कुनै पनि व्यक्ति जन्मजात आत्मविश्वासी हुँदैन। यो बाल्यकाल र वातावरणले निर्धारण गर्ने कुरा हो। आफूले आफ्नो बारेमा के सोचिन्छ, त्यसमा पनि निर्भर रहन्छ। उदाहरणको लागि, यदि एउटा बच्चा सकारात्मक पारिवारिक वातावरणमा हुर्कने मौका पायो भने ? असल अभिभावकत्व प्राप्त भयो भने ? त्यस बच्चालाई हरेक दिन सुन्दर भएको सन्देश प्रवाह गरियो भने ? त्यही बच्चा ठूलो हुँदा आफूलाई सुन्दर रहेको विश्वास गर्छ। अन्यथा त्यही बच्चाले आफूलाई कुरुप रहेको विश्वास गर्छ। यही कारण आकर्षक महिला वा पुरुष आत्मविश्वासी हुन्छन्। कुरुप महिला वा पुरुषमा भने आत्मविश्वासको खडेरी लाग्छ।

यति मात्र होइन, कोही व्यक्ति कत्तिको आत्मविश्वासी हुने भन्ने कुरा अनुभवमा पनि भर पर्छ। जो व्यक्ति कुनै एक क्षेत्रमा बढी अनुभवी छ, त्यसमा उसको आत्मविश्वास उच्च रहन्छ। जस्तै वक्ताको रुपमा कयौँ वर्ष समय व्यतीत गर्ने व्यक्ति भाषण दिने काममा निकै आत्मविश्वासी हुन्छ। त्यसैगरी कुनै पुरुषले धेरै महिलासँग शारीरिक सम्बन्ध राखेको छ भने ? उसलाई अरु महिलासँग सम्बन्ध बढाउन गाह्रो हुँदैन। यस खालको आत्मविश्वास हुनुको पछाडि अनुभव नै हो।

आत्मविश्वास बढाउने तरिका
हरेक क्षेत्रमा आत्मविश्वासका साथ काम गर्न सक्नु काल्पनिक कुरा हो। कुनै क्षेत्रमा आत्मविश्वासी रहन सकिन्छ त कुनैमा सकिँदैन। जुन क्षेत्रमा आत्मविश्वासको स्तर कम हुन्छ, त्यसमा आत्मविश्वास प्रत्यारोपण गर्नुपर्छ। त्यो पनि यथाशिघ्र। आत्मविश्वासी स्वतःस्फूर्त बन्न सकिँदैन। यसका लागि निश्चित कार्य निर्वाह क्षमता र इच्छाशक्ति बढाउनुको विकल्प छैन। आत्मविश्वासी व्यक्तिको रुपमा चिनिन निम्न कार्यविधि अपनाउन सकिन्छ।

(क) आत्मविश्वास कम भएको निश्चित कार्यक्षेत्र पहिल्याउने
सबै क्षेत्रमा महारत प्राप्त गर्न सकिँदैन। जसकारण आत्मविश्वासको कमी अनुभूत हुनु अस्वाभाविक होइन। कुन क्षेत्रमा आत्मविश्वास कम अनुभूत गर्नुहुन्छ, त्यो क्षेत्र पहिल्याउने प्रयास गर्नोस्। डेटिङमा आत्मविश्वास कमी छ कि ? विपरीत लिङ्गीप्रति आत्मविश्वास कमी छ कि ? बार र क्लबमा भेटिने मानिससँग बोल्न आत्मविश्वास कमी छ कि ? कार्यक्षेत्रमा म्यानेजरसँग अन्तरक्रिया गर्न आत्मविश्वासको कमी छ कि ? ती सबै कुरामा सचेत रहनुस्। यसले अर्को कदम चाल्न विशेष भूमिका खेल्छ।

(ख) वैकल्पिक कार्यको छनोट
आफ्नो आत्मविश्वास कमी भएको क्षेत्र पहिचान गरेपछि आवश्यक कार्य योजना अगाडि सार्नुहोस्। एकैखाले कार्य योजनाले उचित प्रतिफल दिन सक्दैन। वैकल्पिक कार्य योजना खोजी गर्न सक्नुपर्छ। यसका लागि आत्मविश्वासी व्यक्तिबाट सिक्न सकिन्छ। आत्मविश्वासी व्यक्तिले चाल्ने कदमबारे अवगत हुन सक्नुपर्छ। उनको सोच्ने शैली कस्तो छ ? भावभङ्गिमा कस्तो छ ? ती सब विषयमा जानकारी लिन सक्नुपर्छ।

(ग) प्रतिज्ञा गर्ने
प्रतिज्ञाको लागि शान्त ठाउँ रोज्नुस् अनि ध्यान मुद्रामा केही वाक्य वाचन गर्नोस्। जस्तैः
‘मलाई आत्मविश्वासी हुन मन पर्छ।’
‘मलाई अरुको सकारात्मक एवं नकारात्मक धारणाले कुनै प्रभाव पार्दैन।’

यी दुई वाक्यांश हरेक बिहान पाँच मिनेटसम्म उच्चारण गर्नोस्। यो अभ्यास तीन महिनासम्म निरन्तर गर्नोस्। यस्तो अभ्यासले सकारात्मक मनस्थिति कायम राख्न सहयोग गर्छ।

(घ) कल्पना गर्ने
कल्पना गर्नु व्यक्तित्व विकासको एउटा प्रभावकारी रणनीति हो। कुन क्षेत्रमा आत्मविश्वासको कमी महसुस गर्नुहुन्छ, त्यो पहिचान गर्नोस्। मानौँ, तपाईँलाई भाषण गर्ने कार्यमा आत्मविश्वास छैन। यस्तो परिस्थितिमा एकान्त ठाउँमा बस्नोस्। भाषण दिन आत्मविश्वासको कमी भएको अवस्थामा आफूलाई राख्नुहोस्। त्यस अवस्थामा आत्मविश्वासी वक्ताले के कस्तो गतिविधि गर्छन् त्यो परिकल्पना गर्नोस्। के कस्ता वैकल्पिक कार्य गर्छन्, त्यसको परिकल्पना गर्नोस्। सोही गतिविधि, वैकल्पिक कार्य आफैँले गरेको परिकल्पना गर्नोस्। यस्तो अभ्यास हरेक बिहान पाँच मिनेटसम्म तीन महिना निरन्तर गर्नोस्। यस्तो प्रकृतिको रणनीति अपनाउँदा आत्मविश्वास साथ कार्य सुरुवात गर्न अग्रसरता बढाउँछ। एक किसिमको हुटहुटी पैदा गराउँछ। सम्भावित चुनौती केलाउन सहज हुन्छ।

(ङ) सामूहिकीकरण गर्ने
एक्लोपनमा रहेर चिनजान बढाउन असम्भव छ। स्वयं आफूलाई चिन्न सकिएला तर अरु नयाँ व्यक्तिलाई चिन्न समूहमा घुलमिल हुन सक्नुपर्छ। समूहमा विविध संस्कारबाट आएका व्यक्तिसँग भेट्ने अवसर प्राप्त हुन्छ। यस भेटमा चिनापर्चीको लागि अग्रसर हुन सके आत्मविश्वासको स्तर बढ्छ। जति नै धेरै अनजान व्यक्तिसँगको भेटमा पनि आत्मविश्वास साथ आफ्नो विचार राख्न सकिन्छ। निकट भविष्यको अन्तरक्रियामा कुनै अवरोध आउँदैन। त्यसैले सामूहिकीकरणको अवसर भरपूर प्रयोग गर्नोस्। यसका लागि सभा समारोह, पार्टीमा भाग लिनुस्। त्यहाँ उपस्थित मानिससँग परिचय गर्नोस्। फोन नम्बर आदनप्रदान गर्नोस्। सकेसम्म विपरीत लिङ्गीप्रतिको संवाद बढाउनुस्। महिलासँग बोल्न डर लाग्छ ? महिलासँग संवाद गर्न अग्रसर रहनुस्। पुरुषसँग संवाद गर्न डर लाग्छ ? पुरुषसँग संवाद गर्न अग्रसर रहनुस्। यसले विपरीत लिङ्गीप्रति पनि आत्मविश्वास बढाउँछ।

Leave A Comment