दाजुभाइ मिलेर बसे, दिदी बहिनी किन मिलेनन् ?

बिहिबार, २७ साउन २०७३, १० : ४२ डा. बलदेव शर्मा अधिकारी , Kathmandu
दाजुभाइ मिलेर बसे, दिदी बहिनी किन मिलेनन् ?

नेपाली भाषाको नयाँ नियमअनुसार दुईतिर दुई–दुईवटासम्म अक्षर भएमा जोडेर लेख्ने अनि कुनै एकातिर तीन अथवा तीनभन्दा बढी अक्षर हुनेबित्तिकै फुटाएर लेख्ने चलन चलाउन खोजिएको छ । शिक्षकहरू विद्यार्थीको जिज्ञासा मेटाउनका लागि दिनदिनै नयाँ कुरा भन्न बाध्य छन् । “दाजुभाइ चाहिँ मिलेर एउटै डिकामा बसे, दिदी बहिनी चाहिँ किन सँगसँगै बस्न नसकेका होलान्, सर !” गुरुबाले आफ्नो प्रत्युत्पन्न मतिको प्रयोग गरिहाले । “जहाँसुकै गएर बुझ । बिहे नहुञ्जेल दाजुभाइ मिल्छन् र एकै अङ्ग हुन्छन् । बिहे गरेपछि चाहिँ घरमा चुरा बज्ने र कुरा बढ्ने हुँदा दाजु भाउजू तथा भाइ बुहारी छुट्टिएर बस्छन् । मिलेर बस्नै नसक्ने चाहिँ महिला नै हुन् । यही कुरो सम्झिएर ‘दाजुभाइ’लाई जोडेर लेख अनि ‘दिदी बहिनी, दाजु भाउजू, भाइ बुहारी’ इत्यादिलाई चाहिँ जोडिन नदिई भिन्दै डिकामा लेख । गुरुबा आजको कक्षा निकै प्रभावकारी भयो भन्ने भ्रमले दङदास भएका मात्रै के थिए, एक छिनपछि एउटी छात्रा जुरुक्क उठिन् र बम्किन थालिन् । “ओ टिचर, बढी चाहिँ हुने होइन है ?  ‘दिदीभाइ’ पनि त सँगै छन् नि ! गुरु जस्तो भएर लैङ्गिक विभेद गर्ने ? ‘दिदी बहिनी’ मात्रै होइन, ‘दाजु बहिनी’ पनि छुट्टिएका छन् । मनपरीसँग नियम सिकाउने अधिकार तपाईंलाई कसले दियो, हँ ?” तिनको रिस मरेकै थिएन ।
अर्को उटपट्याङ कस्सियो “‘लोग्नेस्वास्नी, जोइपोइ, पतिपत्नी’ले चाहिँ जोडिएर बस्न पाउने अनि ‘श्रीमान् श्रीमती’ले सम्बन्ध विच्छेद गर्नुपर्ने किन ? एउटै अर्थका ‘फुपूफुपा’ जोडिने अनि ‘फुपू फुपाजु’ नजोडिने कसरी भयो ? सरासर मानव–अधिकारको हनन गरिएको छ ।”
अचेल एकै अर्थ बुझाउने संयुक्त क्रियालाई पनि जोडेर लेख्न पाइँदैन । खाइदियो=अर्काको भाग खायो अथवा खाएर गुन लायो । खाई दियो=केही वस्तु पहिले खायो अनि पछि अरूलाई दियो । यसरी जोड्नु र नजोड्नुमा स्पष्ट अर्थभेद पाइन्छ । पढिहेर पढी हेर, हेरिराख हेरी राख, गरिबस गरी बस आदिमा अर्थको भिन्नता पाइन्छ । छुट्टै लेखिएका क्रियाहरू स्वतन्त्र हुन्छन् । त्यस्ता क्रियाहरूको अगिल्लो क्रियापछि बलाघात वा उच्चारणको रोकावट पनि हुन्छ । जोडिएर लेखिएको खण्डमा पछिल्लो क्रियाको छुट्टै र स्वतन्त्र अर्थ आउँदैन । ‘पढिहेरमा हेर्नुको, हेरिराखमा राख्नुको र गरिबसमा बस्नुको छुट्टै अर्थ लगाउन मिल्दैन । त्यस्ता सहायक क्रियाहरूले अगिल्लो मुख्य क्रियाको अर्थलाई मात्र सघाउँछन् । यसैले विचार गरेर लेख्नुपर्छ ।

Leave A Comment