सभामुख मोह

शुक्रबार, २९ कार्तिक २०७६, ०१ : २१ शुक्रवार
सभामुख मोह

कसैको ओरालो यात्रा, कसैको उकालो पनि हुनसक्छ। अब अहिलेको प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै हेर्नुस् न, उनको कसरतले भ्यायो भने उनी सभामुख हुन रत्ति पनि छैन !

पूर्व एमाले नेतृ शिवमाया उपसभामुख हुँदा यो अवसर आउला भन्ने कल्पेकी पनि थिइनन् होला तर तत्कालीन सभामुख कृष्णबहादुर महरा ‘यौन काण्ड’मा परेपछि र अचानक राजिनामा दिएपछि, शिवमायाको भाग्य बल्ने सुअवसर जन्मिएको हो।

अब महराले राजिनामा दिएपछि महराजस्तै आफ्नै कोटरीका कोही सभामुख भएको हेर्न चाहने प्रचण्डको मोह हुँदो हो ! त्यसैले त अनेकन् कारणले योग्य भए पनि शिवमायाका लागि सभामुख पदको अपेक्षा नै फलामको च्युरा साबित हुन थालेको छ।

संवैधानिक व्यवस्थाअनुसार फरक लिंग र फरक दलबाट सभामुख र उपसभामुख चयन गरिनुपर्छ। यस्तो अवस्थामा यदि शिवमाया उपसभामुख नै रहिन् भने कांग्रेस पार्टीले सभामुख दाबी गर्ने अवस्था आउँछ। तर नेकपा सभामुखको पद नछाड्ने मूडमा देखिन्छ। सो मूडअनुसार पोल्टो त शिवमायाकै भारी हुने चान्स ह्वात्तै बढ्न जान्छ।
यतिबेला संसद् भवन वरिपरि शिवमायाको चर्चा हुनुको कारण चाहिँ शिवमायाको चिची र पापा दुवैको मोह हो। जबसम्म शिवमायाले उपसभामुखबाट राजिनामा दिन्नन्, उनी सभामुख नै बन्न सक्दिनन्। जब पार्टीले उनलाई सघाउने निश्चित हुन्छ अनि मात्र राजिनामा दिएर सभामुखमा भिड्ने योजना छ।

पूर्व माओवादीका तर्फबाट लेखराज भट्ट, अग्नि सापकोटा, देव गुरुङ, पम्फा भुसालको नामसमेत बाहिरिएको छ। सुवास नेम्वाङ भने सभामुख पद सम्हाल्ने मूडमा देखिँदैनन्। यस्तो अवस्थामा शिवमायाको दौडधुप स्वभाविकै हो। तर चुरो कुरो त के छ भने, नेकपाले सभामुख पदको चाहना गर्दा सभामुख र उपसभामुख चयन हुनुपूर्व नै वर्तमान उपसभामुख शिवमायाले राजिनामा दिनुपर्ने हुन्छ। त्यसैले त उनलाई डर छ– राजिनामा दिएपछि रहँदाखाँदाको उपसभामुखको जागिर पनि उड्यो भने के गर्नु ?

त्यही डरले त होला, उपसभामुखले सभामुखका लागि आफू निश्चित हुने भए मात्रै राजिनामा दिने विषय बाहिरिएको छ।

अब सभामुखजस्तो महत्वपूर्ण पदमा सानोतिनो राजनीति त पक्कै हुँदैन ! यदि उनले ‘राज’ र ‘नीति’ गरिन् भने पक्कै पनि त्यसको योग्यता पुग्दो हो ! उनी सभामुख भइनन् भने बुझ्नुपर्छ– उनको ‘राज’ र ‘नीति’को योग्यता अझै पुगेको रहेनछ ! कि कसो ?

Leave A Comment