सम्बन्धको रातो झण्डा

शनिबार, ३० कार्तिक २०७६, १२ : ०५ प्रकाश जंग थापा
सम्बन्धको रातो झण्डा

सालो–भिनाजु गुड फ्राइडे मुडमा थियौँ। रात्रिकालीन जीवनको मजा लिन एउटा क्लबलाई गन्तव्य बनाएका थियौँ। बेलुकीको समय, बुलेट बाइकमा हुइँकिदै गर्दा एउटी महिला हस्याङफस्याङ गर्दै पुरुषलाई पछ्याउँदै गरेको देख्यौँ। हामीलाई देख्ना साथ ती महिलाले रुँदै बिन्ती बिसाइन्, ‘दाइ, त्यो केटाले मलाई छोयो। त्यसलाई समात्नुस् न।’

यस्तोमा महिलालाई सहयोग नगर्ने कुरै भएन। त्यसमाथि भिनाजु पर्नु भो सिङ्गापुरे प्रहरी ! उहाँलाई आफ्नो क्षमता र कौशल देखाउने सुनौलो अवसर आइप-यो। केटो बाइकको हेलमेट बोकेर चुनदेवी मार्गतर्फ लागेका थिए। हामी पनि त्यही अँध्यारो मार्गतिर लाग्यौँ। बुलेट बाइकको गतिले त्यो केटालाई भेट्न समय लागेन। केटो पन्छिने कोसिसमा थियो। त्यसपछि केटालाई च्याप्प समातेर सोध्यौँ, ‘किन भागेको ?’

हामीलाई लागेको थियो– त्यो केटोले शायद शारीरिक दुव्र्यवहार ग-यो तर जब केटा र केटी दुवैको कुरा सुनेपछि वास्तविकता थाहा भयो। दुईबीच सम्बन्धको समस्या रहेछ। केटो सम्बन्ध अन्त्य गर्ने सुरमा रहेछ। केटीलाई यो स्वीकार्य रहेनछ। उसले आफ्नो केटो अर्कै केटीसँग लहसिएको क्याफेमा देखेकी रहिछन्। त्यहीँ बबाल खडा गरिछन्। अपमानित हुनबाट जोगिन केटो अँध्यारोतिर लस्केको रहेछ।

कुरा बुझ्दै जाँदा दुवै जना टिचिङ हस्पिटलका डाक्टर रहेछन्। सम्बन्ध व्यवस्थापन गर्न नजान्दा दुवै तनावमा परेका रहेछन् !

कुरा बुझ्दै जाँदा के थाहा भयो भने, महिला केटोप्रति अधिकार जमाउन चाहन्छिन्, सम्बन्धलाई निरन्तरता दिन मरिहत्ते गर्दैछिन्। प्रेमीले धोका दिन लागेको शङ्का गर्दैछिन्। त्यसैगरी पुरुष मनोविज्ञान पनि बुझिहेर्दा के थाहा भयो भने ऊ यो केटीसँग संवाद गर्नै चाहँदैन, सम्बन्धप्रति उति गम्भीर छैन। यी सबैको अर्थ हो, सम्बन्धको तिक्तता बढिसक्यो। सम्बन्धमा खतराका सङ्केतहरू देखापरिसके। थप के भयो भने सम्बन्धमा रातो झण्डा देखिन थाल्छन् त ?
–रक्सी, चुरोट एवं लागू औषधको कुलतमा फँसेको पार्टनर हुनु।
–ठूलो धन राशिको सहयोग माग्नु।
–अवैध व्यापार व्यवसाय सञ्चालन गर्नु।
–एउटै जागिरमा अड्न नसक्नु, अस्थिर हुनु। बारम्बार जागिर परिवर्तन गर्दै हिँड्नु।
–ढाँटछल, चोरीडकैत गतिविधिमा संलग्न तथा जेल जीवन बिताएको इतिहास हुनु।
–छोटो–छोटो समयमा नै सम्बन्ध फेरेको विगत हुनु।
–पार्टनरले साथीको साथ सहयोग गुमाउँदै जानु वा शून्य साथी हुनु।
–सशक्त संवाद, सम्बन्धबारे अनिच्छुक हुनु।
–पैसा, शक्ति र प्रसिद्धिको पछाडि लाग्नु।
–प्रेमी वा प्रेमिकालाई हप्ताको तीन पटक भन्दा बढी भेट्ने इच्छा हुनु। अथवा यसको ठीक विपरीत प्रेमी वा प्रेमिकालाई हप्ताको एक पटक पनि भेट्न समय नहुनु। कतिपय अवस्थामा झन् महिनौँसम्म पनि भेट नदिनु।
–चाँडो रिसले उग्र हुनु। शारीरिक दुव्र्यवहार गर्नु।
–ब्रेकअपको डर देखाउनु।
–कयौँ वर्षसम्म लामो दुरीको सम्बन्धमा रहनु तर दुरी कम गर्न कुनै अग्रसरता नदेखाउनु।
–मनोवैज्ञानिक समस्याबाट ग्रसित पार्टनर हुनु आदि।

सम्बन्ध जोगाउने कार्यनीति
जुन सम्बन्धमा अत्यधिक रातो झण्डाहरु देखिन्छन्, त्यो सम्बन्धलाई निरन्तरता दिनुको कुनै अर्थ छैन। त्यसैले अनुचित र बेकारको सम्बन्धबाट बच्न, सम्बन्धको रातो झण्डा हटाएर हरियो झण्डा फहराउन निम्न कार्यनीति अपनाउन सकिन्छ।
(क) यौन प्रचुरता सुनिश्चित गर्ने
विषाक्त सम्बन्ध जति धेरै लम्बियो त्यति नै धेरै जीवन कष्टपूर्ण बन्दै जान्छ। एकपछि अर्को जटिलता थपिँदै जान्छ। अब यस्तो परिस्थितिमा जीवन जीउने कि जटिलताहरूसँग जुध्ने ? अनुचित सम्बन्धले निम्त्याउने प्रत्येक जटिलतासँग जुध्नु भन्दा विषाक्त सम्बन्धलाई अन्त्य गर्नु बुद्धिमानी हुन्छ। प्रायः नेपालीहरु रातो झण्डा देखिँदा पनि सम्बन्ध तोड्न चाहँदैनन्। बरु दयनीय जीवन बाँच्न तयार हुन्छन्, सम्बन्ध अन्त्य गर्ने हिम्मत गर्दैनन्। कारण ? सम्बन्धमा विकल्पको कमी हुनु।

सम्बन्ध सुमधुर रहुञ्जेल अगाडि बढ्ने हो, साथ दिने हो। सुमधुर हुन नसकेको खण्डमा विकल्प खोज्न सक्नुपर्छ। पंचर भएको सम्बन्धले जीवनयात्रा सहज हुँदैन। त्यसकारण विकल्प खोज्नुस्। यौन प्रचुरता सुनिश्चित गर्नोस्। यसका लागि बार, क्लब, पिकअप समुदाय आदि ठाउँमा प्रवेश गर्न सकिन्छ।

(ख) सुरक्षित भविष्य निर्माण गर्ने
सम्बन्धमा रहेपछि त्यसलाई निरन्तरता दिने वा नदिने भन्ने सुरक्षित भविष्य अथवा करिअरले निर्धारण गर्छ। सुरक्षित भविष्य हुनुको तात्पर्य हो आर्थिक स्वतन्त्रता हुनु। सम्बन्ध इन्जिन हो भने आर्थिक पाटो इन्धन। इन्धन बिनाको इन्जिन कुनै काम लाग्दैन। भनाइको मतलब आर्थिक हैसियत बिना सम्बन्ध चलायमान हुन सक्दैन। सम्बन्ध जोडेपछि विभिन्न आवश्यकताहरु पूर्ति गर्नुपर्ने हुन्छ। जसको लागि चाहिन्छ, पैसा। यस मामिलामा कुनै पनि किसिमको सम्झौता हुन सक्दैन। आर्थिक अवस्था कमजोर भएको अवस्थामा स्तरीय जीवन जीउन सकिँदैन। जो व्यक्तिमार्फत् स्तरीय जीवनको सुनिश्चितता हुँदैन, त्यस्ता व्यक्तिप्रति कोही पनि सम्बन्ध कायम राख्न चाहँदैनन्। त्यसैले सुरक्षित भविष्य निर्माणमा सक्रिय हुनोस्। कुनै एक क्षेत्रमा करिअर निर्माण गर्नोस्। यसले आर्थिक हैसियत बढाउन मद्दत गर्छ। संक्षेपमा भन्नुपर्दा सम्बन्धमा चुम्बकीय क्षमता बढाउन सुरक्षित भविष्य निर्माण गर्नोस्। नत्र तपाईँको प्रेमी वा प्रेमिकाले यसको करिअर छैन, भविष्य छैन भन्दै बेवास्ता गर्न थाल्छन्।

(ग) सम्बन्धबारे गहन अध्ययन गर्ने
सम्बन्ध हलुका रुपमा लिने विषय होइन। ख्यालठट्टामा सम्बन्ध सुरुवात होला तर त्यहाँबाट सुरु भएको सम्बन्धको जग मजबुत हुँदैन। सम्बन्धलाई समय व्यतीत गर्ने माध्यम ठान्नु मुर्खता हो। यसमा गम्भीरतापूर्वक लाग्नुपर्छ। जिम्मेवारी बोध गर्नुपर्छ। अधिकांश मानिस हठात् सम्बन्धमा रहने गर्छन्। कोही व्यक्ति मन प-यो कि सम्बन्ध जोड्ने डोरी बुन्न थाल्छन्। सम्बन्धबारे अत्यावश्यक ज्ञान हासिल गर्न चाहँदैनन्। सम्बन्ध के हो ? यसलाई कसरी दिगो राख्ने ? एकअर्कालाई कसरी बुझ्ने ? ब्रेकअप भएको अवस्थामा कसरी धैर्य रहने ? यी यावत् विषयमा कत्ति पनि शिक्षा र कौशल हुँदैन। यद्यपि सम्बन्धमा बस्न भने लालायित हुन्छन्। भाग्यवश सम्बन्ध जोड्न सफल भए तापनि त्यो निकट भविष्यमै टुट्न जान्छ। यसर्थ जुग कटाउने सम्बन्धको निमित्त सम्बन्धबारे गहन अध्ययनलाई प्राथमिकतामा राख्नोस्। लैंगिकता, कामुकता बारेमा अध्ययन गर्नोस्। विपरीत लिङ्गीको मात्र नभएर स्वयं आफ्नो मनोविज्ञान अध्ययन गर्नोस्। मानवीय व्यक्तित्वका प्रकारबारे पर्याप्त अध्ययन गर्नोस्। र, सोहीअनुरुप व्यवहार गर्नोस्। यति मात्र होइन, सम्बन्धमा उत्पन्न हुन सक्ने कमी–कमजोरीबारे पनि सचेत रहनोस्।

(घ) स्वास्थ्य व्यवस्थापन गर्ने
प्रेम सम्बन्धमा आफ्नो प्रेमी–प्रेमिका कत्तिको स्वस्थ छन् ? ऊर्जाशील छ कि छैन ? त्यो सब हेरिन्छ नै। अस्वस्थ व्यक्ति ऊर्जाशील हुन सक्दैन। यस्ता व्यक्तिप्रति कुनै पनि महिला वा पुरुष आकर्षित हुने सम्भावनै रहेन। सम्बन्ध स्थापित हुने विषय त कल्पनाको कुरा हो। त्यसकारण सम्बन्ध कायम राख्न स्वास्थ्य व्यवस्थापन गर्नुको विकल्प छैन। यसका लागि पोषणयुक्त खानामा ध्यान दिनु आवश्यक छ। खाना जिब्रोको लागि होइन, स्वास्थ्यका लागि खाने हो। बाटोमा जे भेटिन्छ त्यही खाने होइन। त्यसले स्वास्थ्यमा प्रतिकूल असर गर्छ।

प्रायः पुरुष आकर्षक शरीर भएको महिलाप्रति लोभिन्छन्। त्यसैले सम्पूर्ण महिलाहरु नियमित व्यायाम गर्नोस्। आवश्यक परे फिटनेस क्लबमा भर्ना हुनोस्। यसको मतलब यो होइन कि पुरुषले व्यायाम गर्न पर्दैन। पुरुषले पनि उत्तिकै व्यायाम गर्नु आवश्यक छ। आखिर महिला पनि सुगठित शरीर भएकै पुरुषप्रति चाँडै आकर्षित हुन्छन्। मनोभाव, स्वभाव, आनीबानी साथै मनोवृत्ति त पछि हेरिन्छ।

Leave A Comment