जुठो भाँडामा अल्झिएको अमेरिकी संघर्ष

सोमबार, ०२ मङि्सर २०७६, ०१ : ३३ शुक्रवार
जुठो भाँडामा अल्झिएको अमेरिकी संघर्ष

मेगन मेह्यु बर्गमन

लाक्पा शेर्पाको वेस्ट हार्टफोर्डमा रहेको अपार्टमेन्टमा दिउँसोतिर पुग्दा उनी ढोकामै थिइन्। उनले मलाई मीठो मुस्कानले स्वागत गरिन्। उनको सानो अपार्टमेन्टमा केही कुर्सीहरु थिए अनि भित्तामा केही मेडलहरु, जुन उनका दुई छोरीले जिम्न्यास्टिकमा जितेका थिए।

लाक्पा पहिलो नेपाली महिला हुन्, जो सगरमाथाको चुचुरोमा पुगेर सफलतापूर्वक फर्किइनन् मात्र, सर्वाधिक नौ पल्ट सगरमाथाको सफल आरोहरण गरेर आफ्नो नाममा विश्व कीर्तिमानसमेत बनाइन्। नौ पटक सगरमाथा चढ्ने उनी नेपाली मात्रै हैन, विश्वकै पहिलो महिला पनि हुन्। र, उनी यतिबेला पुनः सगरमाथा चढ्ने तयारीमा छिन्।

तर उनलाई यस पटक सगरमाथा चढ्न त्यत्ति सहज भने छैन। प्रायोजकविहीन, तीन सन्तानकी एक्ली अभिभावक उनका लागि यो पटक सगरमाथा चढ्ने अभ्यास र खर्च जुटाउनै मुस्किल छ। उनी अहिले अमेरिकामा होल फुड रेस्टुरेन्टमा भाँडा माझ्छिन्। उनको आम्दानी पनि थोरै छ। अमेरिकी जीवनमा अपरिहार्यझैँ छ, निजी सवारी साधन। तर कमजोर आर्थिक अवस्थाका कारण उनले कार किन्न सकेकी छैनन्। उनी प्रायः अपार्टमेन्ट र काम गर्ने ठाउँमा हिँडेरै पुग्छिन्। तालिमका लागि कहिलेकाहीँ ट्याक्सी चढ्छिन्।

उनको उपलब्धि हेर्दा म जति आश्चर्यचकित थिए, स्रोतको अभावमा उनले व्यहोरिरहेको दुःख देखेर उत्तिकै छक्क पनि। यत्तिको सफल, साहसी र सक्षम महिला पनि कसरी प्रायोजकविहीन छिन्, अनि अझै कसरी जोखिम मोलेर सगरमाथा चढ्ने तयारीमा लागेकी छिन् ?

जसै म उनकी १३ वर्षीया छोरीसँग कुरा गर्न थालेँ, उनी चिया बनाउन लागिन्। उनकी छोरी प्रविधि र अमेरिकी भाषामा पोख्त थिइन्। उनी आमाको म्यानेजर र अनुवादझैँ थिइन्।
‘आमा हिमाल चढ्न जाँदा तिमीलाई कस्तो लाग्छ ?’ मैले सोधेँ।
‘धेरै कठिन,’ उनले मोबाइल हातमा लिँदै भनिन्, ‘मलाई उनीमाथि गर्व छ तर मलाई सधैँ चिन्ता लागिरहन्छ।’

सगरमाथा आरोहणको हरेक मौसममा ६ देखि १० जनासम्म आरोहीको ज्यान जान्छ। सम्पर्कको माध्यम कि स्काइप हो या स्याटेलाइट फोन ! ‘हिमालसँग मेरो धेरै राम्रो सम्बन्ध छ,’ तातो चिया मेरो हातमा थमाउँदै लाक्पाले भनिन्, ‘म जानेछु तर मलाई थाहा छ म घर फर्कने छु, म फर्कनै पर्छ।’ उनले गम्भीर हुँदै छोरीतर्फ हेरिन्।

४५ वर्षीय लाक्पा नेपालकै हिमाली क्षेत्र मकालुको बालखर्कमा जन्मिइन्। त्यहाँ उनको बुबाको चिया पसल थियो। अझै पनि उनकी आमा त्यहीँ बस्छिन्। उनले मलाई भनिन्, ‘मलाई मेरो ठ्याक्कै उमेर थाहा छैन।’ कारण उनको जन्मदर्ताको प्रमाण नै छैन। उनी सहित ११ जना घरमै जन्मिए। उनको घरमा बत्ति थिएन र उनले स्कुल जानसमेत पाइनन्।

उनका अधिकांश दाजुभाइले सगरमाथा चढेका छन्। उनका दाजु मिङमा गेलु शेर्पाले ११ पटक सगरमाथा चढिसके। अर्का दाइले आठ पटक चढे, अर्कोले पाँच अनी उनको बहिनीले समेत एक पटक चढिसकेकी छिन्।
‘हिमाल नचढेका कुनै शेर्पा छैनन्,’ उनले भनिन्।

जब कसैले यदि पैसा छ भने जसले पनि सगरमाथा चढ्न सक्छ भन्छन्, उनलाई नमीठो लाग्छ। उनी सुन्ने गर्छिन्, ‘यसो पाइला चालिदिए मात्र पुग्छ, बाँकी काम सबै शेर्पाहरुले गरिदिन्छन् !’ नेपालबाट सगरमाथा चढ्न विदेशी नागरिकलाई ५० हजार अमेरिकी डलर खर्च लाग्छ। नेपाली नागरिकको हकमा पनि ३० हजार अमेरिकी डलर खर्च त चाहिन्छ नै !

सगरमाथा चढ्ने क्रममा आफ्नै आँखाअगाडि आरोहीहरु मरेको देखेकी छन् उनले। बाटामा पुरिएका शव नाघेर हिँडेकी छन्। विदेशी आरोहीलाई अगाडि बढाउन र डोरी राख्न शेर्पाहरु खुम्बु आइसफल मात्रै ४० पटक भन्दा बढी ओहोरदोहार गर्छन्।

‘तपाईंले आइसफलमा धेरै समय बिताउनुभयो भने तपाईं मर्ने पक्का छ,’ उनले भनिन्, ‘हामी किन यो काम गरिरहेका छौँ ? पैसा कमाउन अनि आलु फलाउन !’
त्यसैले लाक्पाका लागि सगरमाथा चढ्न निक्कै सजिलो छ भन्नु अपमान हो।
०००
पर्यटकका लागि सामान ओसार्न काकालाई सघाउँदै, बेस क्याम्पको भान्छामा खाना पकाउँदै, भरिया बन्दै उनका दाजुभाइ र बहिनी जसरी सगरमाथा चढे, लाक्पाले पनि त्यसरी नै चढिन्। युवा उमेरमा उनी केटाजस्तै थिइन् रे ! त्यसैले छोरीको बिहे नहुने भयो भनेर उनकी आमा सधैँ चिन्तित हुन्थिन्। चिन्ता धेरै लम्बिएन किनभने उनले पहिलो श्रीमान् हिमालमै भेटिन् अनि उनीहरु अमेरिका आए, सन् २००२ मा। सम्बन्ध नबिगे्रेसम्म उनीहरु प्रायः सँगै सगरमाथा चढ्थे।

सन् २००४ मा उनका श्रीमान्ले उनलाई सगरमाथामा छाडेर हिँडे। त्यसपछि उनको व्यवहार खराब हुँदै गयो। पहिलो सन्तानको जन्मपछि त व्यवहार झन् बिग्रियो। कतिसम्म भने श्रीमान्को कुटाईबाट उनी अस्पतालै भर्ना हुनुप¥यो। घरबारहीन भएर अनि अरुको आश्रय लिएर जीवन काट्नुपर्ने भएपछि उनले श्रीमान्सँग छोडपत्र गरिन्। यसपछि  अमेरिकामा उनका कठिन दिन शुरु भए।
०००
सेरेना विलियम्सले २३ हप्ताको गर्भवती हुँदा अस्ट्रेलियन ओपन जितिन्। लाक्पा, पहिलो सन्तान जन्माएको आठ महिनापछि पहिलो पटक सगरमाथा पुगिन्। पुनः सगरमाथा पुग्दा उनी दुई महिनाको गर्भवती थिइन्।

तर लाक्पासँग विलियम्सझैँ न राम्रो खाना थियो, न प्रशिक्षक। आर्थिक रुपमा उनी पूरै समय तालिम लिनसमेत सक्षम छैनन्। अपार्टमेन्टको भाडा र सन्तानको खर्च जुटाउन उनी दैनिक काम गर्न बाध्य छिन्।

जब उनी काम छाडेर आरोहण अभियानमा जान्छिन्, घरबारविहीन हुने जोखिम बढ्छ। जसै उनी आरोहणबाट अमेरिका फर्कन्छिन्, धेरैभन्दा धेरै काम गर्छिन्। कहिले सेभेन इलाभेनमा क्यासिएर बन्छिन्, कहिले घर सफा गर्न हिँड्छिन्।

‘म उनीहरु (ग्राहक र साथी)लाई सगरमाथाबारे केही भन्दिनँ,’ उनले भनिन्। उनले नभने पनि एक पटक घरको भुइँ सफा गरिरहेको बेला त्यो घरधनीले उनी सफल सगरमाथा आरोही र विश्व रेकर्ड भएकी साहसी महिला भएको चाल पाएछन्।

जब मैले अन्तर्वार्ताको क्रममा उनलाई हिँड्दै कुराकानी गर्न प्रस्ताव गरेँ, उनको च्यात्तिएको हाइकिङ जुत्ता देखेँ। उनी त्यही च्यात्तिएको जुत्तामा तुना बाँध्ने कोसिस गरिरहेकी थिइन्।

यहाँ कतिपय इन्स्टाग्राममा धेरै फलोअर भएकाहरुले सित्तैमा सगरमाथा चढ्न चाहिने गेयर उपहार पाउँछन् तर लाक्पासँग राम्रो झोलासमेत छैन। उनको कोठामा रहेको झोला उनले दुई पटक सगरमाथा चढ्दा प्रयोग गरिसकेको झोला हो। लाक्पालाई आधुनिक जमानामा प्रायोजकहरुको नजरमा पर्ने उपायहरु पनि थाहा छैन। इन्स्टाग्राममा छैनन् उनी। उनलाई आफ्नो उपलब्धिको प्रचार गर्न पनि आउँदैन। चर्चाविहीन भएकाहरुलाई प्रायोजकहरुले पनि पत्याउने कुरै भएन।

तर आधा सतक उमेर पुगिसकेकी तीन सन्तानकी आमा उनलाई समेत रहेकी उनलाई हिमाल चढ्दा तल्लो भागमा बिस्तारै हिँड्नुपर्छ भन्ने थाहा छ। आइसफल नजिक पुगेपछि के गर्न हुन्छ, के गर्न हुन्न राम्रो जानकारी छ।

व्यक्तिगत रुपमा उनी निक्कै हँसिमजाक गर्नुपर्ने महिला रहिछन्। अनि उनको प्यासन भनेकै सगरमाथा चढ्ने ! उनले सगरमाथा चढ्दा ढुंगाहरुमा कसरी समात्ने, सगरमाथाको आवाज कस्तो आउँछ ? टेन्टमा कसरी सुत्ने अनि स्लिपिङ ब्यागभित्र राखेर चिसा हात कसरी तताउने, मलाई त्यहीँ ट्रिकहरु सिकाइदिइन्।

अपार्टमेन्टमा उनले मलाई बुट अनि रातो गियर देखाइन्, जुन उनी सगरमाथा चढ्दा प्रयोग गर्ने गर्छिन्। उनी ५० वर्ष पुरानो अक्सिजन मास्क प्रयोग गर्छिन्, अहिले पनि। उनलाई विश्वास छ, त्यो अहिलेको मास्कभन्दा बढी भरपर्दो छ।

प्रायोजक पाउने हो भने विश्वका सबै अग्ला चुचुराहरु चढ्न सक्ने खुबी छ उनमा तर उनी प्रायोजकविहीन र सहयोगीविहीन छिन्। उनी थाकेकी भने छैनन्, न त आत्तिएकी नै छिन्। अब उनको सपना हो, अर्को वर्षको सिजनमा फेरि सगरमाथा चढ्ने। उनलाई थाहा छ, यो सपना निक्कै महत्वाकांक्षी सपना हो।

‘प्रायः खेलाडीहरु क्रेजी नै हुन्छन्,’ उनले भनिन्, ‘तर म विश्वलाई देखाउन चाहन्छु, म गर्न सक्षम छु। मजस्तै सगरमाथा चढ्न चाहने विश्वका महिलालाई देखाउन चाहन्छु कि मैलेजस्तै उनीहरुले गर्न सक्छन्।’
दि गार्र्जियनबाट साभार

Leave A Comment