ह्याङ आउट गर्न डान्सबार र दोहोरीसाँझ

मङ्गलबार, ०३ मङि्सर २०७६, ०२ : १२ शुक्रवार
ह्याङ आउट गर्न डान्सबार र दोहोरीसाँझ

डान्सबार र दोहोरीसाँझमा घुमिरहने कलाकार हुन् जयराम सापकोटा। दर्जनौं टेलिसिरियल तथा फिल्ममा पण्डित बाजेको भूमिकामा देखिँदै आएका छन्।  जयराम दरबारमार्गमा रहेको दरबारमार्ग दोहोरीसाँझमा भेटिए। उनले  भोला अधिकारीसँग साटेको रात्रीकालिन अनुभव :

कहिलेकाहीँ रमाइलोका लागि डान्सबार, दोहोरीसाँझतिर घुम्ने गरेको छु। सबैको आ–आफ्नै सोख हुन्छ। त्यस्तै मलाई नाइट लाइफमा रमाउन मन लाग्छ। म डान्सबार र दोहोरीसाँझमा जान थालेको चाही २७,२८ वर्ष भयो। सुरु–सुरुमा डान्सबार कस्तो हुँदो रहेछ भनेर हेर्नका लागि जान्थेँ।  बिस्तारै यसको प्रभावले गर्दा नाइटमा ह्याङ दिमागलाई आउट गर्नका लागि डान्सबार, दोहोरीतिर जाने गर्छु।  पहिलाको तुलनामा अहिले डान्सबार अलिक कम जान्छु।

रातभरि घुमिन्छ     
घरबाट निस्केपछि यही ठाउँमा बस्ने भन्ने छैन। तीन–चारजना साथीहरु भयो। खर्च गर्ने अरु नै हुन्थे। उनीहरुले जता लैजान्थे उतै गइन्थ्यो। अहिले पनि गइन्छ। पहिलोपटक पुतली सडकमा रहेको ‘शो गल’  डान्सबार थियो अहिले त्यो छ कि छैन थाहा छैन, निकै भयो त्यहाँ नगएको। त्यसपछि दरबारमार्गमा रहेको झरना डान्सबार जान्थेँ।  साथीहरु भएपछि नाइटमा हिँड्नुको मज्जै बेग्लै हुन्छ। अलिक बढी न्युरोडतिर गइन्छ। फेरि मेरो बानी के छ भने बोर्ड नै हेर्दिनँ। साथीहरुले डान्सबार खोलेका छन्। आइज न है भनेका हुन्छन्। कसले सोधिखोजी गर्छ र।  नियमित भने आउँदिन तर हप्तामा एक राउण्ड घुमेको नै हुन्छु। मलाई सानैदेखि डान्सबार, दोहोरीसाँझ लगायत रात्रीकालिन मनोरञ्जनमा रमाउन मन लाग्छ।

डान्सबारमा गएर टन्न रक्सी पिउने मान्छे पनि होइन। हल्का पिउने अनि रमरम भएपछि फेरि अर्को डान्सबार जाने। डान्सबारमा रमाइलो भएन भने दोहोरीसाँझतिर जाने गर्छौ। केटैकेटा मिल्यो दोहोरी गयो, बोल्नलाई पनि साथी हुने। उनीहरुले गाएको सुनेर आनन्द लियो। अनि राति १२, ०१ बजे ट्याक्सी खोजी आफ्नै घर आउने गर्छु।
रक्सी सीमित मात्रामा खाने भएका कारण मातेर बाटोमा सुत्नु परेको छैन। हामी होसमै घर आइपुगेका हुन्छौँ। कहिलेकाहीँ ठमेल, दरबारमार्गबाट हिँडेरैै घरसम्म पुगेका छौँ। रमाइलोका लागि हिँडेको हो के को ट्याक्सी चढ्नु हिँडेर जाऊँ भन्थ्यौँ। हल्का रक्सी लागेको तालमा घर पुगेको पत्तै हुँदैनथ्यो।

केटा केटीको झगडा
मेरा साथीले ठमेल घुम्न जाऊँ न भने। कहाँ जाने भन्ने नै थिएन। जहाँ मन लाग्छ त्यतै घुमेर आऊँ। रमाइलो भयो भने कतै बसेर कफी खाउँला नत्र सुन्धारा एउटा डान्सबार छ। त्यहाँ मैले चिनेको साहुको अलि छुट पनि दिन्छ भन्ने कुरा भयो। त्यसैले हामी ठमेलतर्फ लाग्यौंँ। गाडी चेढर भन्दा पनि हिँडेर मज्जा आउछ भन्ने भयो। आज भन्दा ३ ,४ बर्ष अगाडीको कुरा हो। ठमेल घुम्दा त्यस्तै ९, बजेको थियो होला।

बीच बाटोमा केटीले एकजना केटालाई दुईचार झापड हानी हाली र मन परि गाली गर्न थाली। उनीहरुको सम्बन्ध के हो कसो हामीलाई थाहा छैन। किन भने झगडा गरिहेको ठाउँमा के निहुँमा झगडा गरेको भन्न पनि मिलेन। हामीलाई नै बजाउलान् भन्ने डर। मैले यति वर्ष डान्सबार, दोहोरीसाँझ होस् या कतै जाँदा केटीले केटा कुटेको र गाली गरेको सुनेको छैन। मुखमा आए जति सबै गाली गरी। उनीहरुको झगडा हेर्नहरुको भीड लाग्दै थियो। हामी सरासर आफ्नो बाटो लाग्यौँ।

अर्को दरबारमार्गमा नै आमा छोरी हुन् कि के हो। छोरी भागेर डान्सबारमा काम गरेको जस्तो बुझिन्थ्यो। आमाले थाहा पाइछन् र छोरी लिन आउँदा, आमा छोरीको कुटाकुट परेको जस्तो देखिन्थ्यो।  यस्ता घटना नाइटमा धेरै देखिन्छन्।

डान्सबारमा काम गरेँ  
म १५, १६ वर्षको हुँदा सुन्धारामा एउटा डान्सबार थियो। नाम अलिक अप्ठ्यारो भएकाले मैले बिर्सेँ। त्यहाँ मैले १५, १६ दिन काम गरेँ। त्यहाँ मेले भाँडा माझ्ने, टेबुल पुछ्ने काम गरेँ। साहु किच किचे भएकै कारण छोडेर हिँडेँ। खासमा म कलाकार बन्छु भनेर हिँडेको थिएँ। कतिपय चर्चित कलाकारहरु डान्सबारमा नै नाच्थे। म सानैदेखि कलाकारहरुलाई भेट्छु कि भन्ने हेतुले डान्सबारमा भागी भागी जाने गर्थेँ। साहुँको व्यवहार नै मलाई ठिक लाग्दैनथ्योे। लेडिज कलाकारहरु कति हेपिएका थिए। समयमा पैसा पाउँदैन थिए। अहिले भने पहिलाको तुलनामा समय फेरिएको छ। अहिले पैसा समयमै पाउने गरेका छन्।

लेडिज डान्सरहरु वान पिसमा नाच्ने गर्थे। उनीहरुलाई त्यस्तै नाच्न लगाउँथे। वान पिसमा नाच्न लगाउँदा गेष्टले पैसा धेरै झार्छ भन्ने साहुहरुलाई लाग्थ्यो। उनीहरु नाच्थे तर पैसा धेरै साहुको हुन्थ्यो।

Leave A Comment