विन्टर डाइरियाको जोखिम

बुधबार, ०४ मङि्सर २०७६, ०१ : ३२ शुक्रवार
विन्टर डाइरियाको जोखिम

डा. शेरबहादुर पुन,
क्लिनिकल रिसर्च युनिट संयोजक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु

बालबालिकालाई गर्मीमा मात्रै हैन जाडो मौसममा समेत झाडा पखालाको समस्या हुन सक्छ। जाडो मौसममा भाइरसका कारण झाडापखालाले समस्या हुने भएकाले यसमा सचेत हुन आवश्यक छ। सचेतना नअपनाउने हो भने झाडापखालाले ज्यानै लिने जोखिम हुन्छ।

जाडो मौसममा हुने झाडापखालालाई ‘विन्टर डाइरिया’ भनिन्छ। यसलाई ‘कोल्ड डाइरिया’ नामले समेत चिनिन्छ। जाडो मौसममा ‘रोटा’ भाइरसको कारण इन्फेक्सन भई संक्रमण हुँदा झाडापखाला हुन्छ। विभिन्न भाइरसका कारण झाडापखाला हुन्छ। विशेषगरी जाडो मौसममा भने विश्वमै ‘रोटा’ भाइरसका कारण झाडापखाला हुन्छ।

यो भाइरसको विभिन्न समूह हुन्छ। विशेषगरी बालबालिकामा समूह ‘ए’ ‘रोटा’ भाइरसको संक्रमणले झाडापखाला गराउँछ, भने समूह ‘बी’ ‘रोटा’ भाइरसले वयस्क व्यक्तिलाई झाडापखाला गराउँछ। विशेषगरी वयस्क व्यक्तिमा संक्रमण हुने भएकाले समूह ‘बी’ लाई वयस्क ‘रोटा’ भाइरस नामले समेत चिनिन्छ। वयस्क व्यक्तिमा समेत समूह ‘ए’को ‘रोटा’ भाइरस नहुने हैन। तर असर कम हुन्छ।

विन्टर डाइरियाको जोखिम
यो भाइरसले विशेषगरी बालबालिकालाई सताउँछ। तीन वर्ष मुनिका बालबालिका ‘रोटा’ भाइरसको संक्रमणले मृत्युको जोखिममा परेका हुन्छन्। विकसित मुलुकको तुलनामा अविकसित मुलुकका बालबालिका यो भाइरसको संक्रमणको बढी सिकार हुन्छन्।

एसियामा भएका अनुसन्धानअनुसार जाडो मौसममा पाँच वर्षमुनिका बालबालिकालाई हुने झाडापखालाको कारणमध्ये प्रमुख कारण ‘रोटा’ भाइरस हो। यो उमेरभन्दा कमका बालबालिकाको झाडापखालाका कारण मृत्यु हुने कारणमध्ये प्रमुख कारण समेत ‘रोटा’ भाइरस हो।

डा. शेरबहादुर पुन,

अध्ययनअनुसार झाडापखाला लागेर भर्ना भएका पाँच वर्ष मुनिका बालबालिकामध्ये ५० प्रतिशतमा जाडो मौसममा ‘रोटा’ भाइरस झाडापखालाको कारक भएको देखियो। अविकसित मुलुकमा मात्रै हैन विकसित मुलुकमा समेत यो समस्या हुन्छ। नेपालमा अस्पताल भर्ना भएका पाँच वर्ष मुनिका बालबालिकामध्ये करिब २३ प्रतिशतमा जाडो मौसममा यो भाइरसको संक्रमण देखिएको थियो।

मैले सन् २०१० ताका गरेको अनुसन्धानबाट  नेपालमा पनि ‘रोटा’ भाइरसको संक्रमण छ भन्ने पत्ता लागेको थियो।

यसरी सर्छ
‘रोटा’ भाइरसलाई हावाबाट सर्ने रोग समेत भनिन्छ। भाइरसको सक्रियता हुँदा हावाको माध्यमबाट व्यक्तिमा सरी झाडापखाला हुन्छ। विशेषगरी यो भाइरस दिसाको माध्यमबाट व्यक्तिमा सरी संक्रमण हुन्छ। संक्रमित व्यक्तिको दिसा लागेको हातले कुनै वस्तु तथा खाद्यपदार्थ छोएको अवस्थामा त्यस्तो वस्तु तथा खाद्यपदार्थको माध्यमबाट अर्को व्यक्तिमा भाइरस सर्छ। संक्रमित व्यक्तिले दिसा लागेको हातले छोएको खाद्यपदार्थ अर्को व्यक्तिले खाँदा भाइरस सर्ने जोखिम हुन्छ। त्यति मात्रै हैन संक्रमित व्यक्तिले दिसा लागेको हातले छोएको कुनै भाँडामा खाएको अवस्थामा समेत सर्ने जोखिम हुन्छ।

विशेषगरी बालबालिकामा यो भाइरस सर्ने जोखिम हुन्छ। खाना मात्रै नभएर खेलौनाको माध्यमबाटसमेत भाइरस सर्न सक्छ। भाइरस संक्रमित बालबालिकाले दिसा छोएको हातले खेलाएको खेलौना अन्य बालबालिकाले खेलाउँदा तथा खेलौना मुखमा लगेर टोक्दा तथा चाट्दा भाइरस सर्न सक्छ। त्यसैले संक्रमित बालबालिकासँग एकै ठाउँमा खेल्दा सचेत हुनुपर्छ।

यो भाइरस पहिलोपटक लाग्दा कडारुपमा प्रस्तुत हुन्छ। त्यसैले बालबालिकालाई सताउँछ। जीवनमा पहिलोपटक लाग्दा कडा किसिमले असर गर्छ। तर पुनः दोहोरिँदै जाँदा असर कम देखिँदै जान्छ। भाइरसको असर कम हुँदै जानुको कारण व्यक्ति वयस्क हुँदै जाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्दै जान्छ। त्यसैले व्यक्ति जति वयस्क हुँदै गयो यो भाइरसका कारण हुने झाडापखाला तथा बान्ताको जोखिम कम हुँदै जान्छ।

लक्षण
‘रोटा’ भाइरसको कारण झाडापखाला हुँदा पानीजस्तो पातलो झाडापखाला हुन्छ। तारन्तार बान्ता हुन्छ। विशेषगरी साना बालबालिकालाई तारन्तार  झाडापखाला र बान्ता हुँदा शरीरमा पानीको मात्रा कम भई मृत्युको जोखिम हुन्छ। यसरी शरीरमा पानीको मात्रा अत्यन्तै कम हुनुलाई चिकित्सकीय भाषामा ‘सिभियर डिहाइड्रेसन’ भनिन्छ। यसको अर्थ शरीरमा पानीको मात्रा अत्यन्तै कम हुनु हो। शरीरमा पानीको मात्रा अत्यन्तै कम हुँदा शरीरका अंगले सामान्यरुपमा काम गर्न नसक्दा व्यक्तिको मृत्युको जोखिम हुन्छ।

विशेषगरी ग्रामीण क्षेत्रका बालबालिकामा यो भाइरसको संक्रमण भई झाडापखाला हुँदा समयमै उपचार पाउन नसकेको अवस्थामा शरीरमा पानीको मात्रा कम भई मृत्युको जोखिम हुन्छ।

खोप आवश्यक
यस भाइरसबाट बच्ने उपाय नभएको भने हैन। खोपको प्रयोग गर्नाले यो समस्याको जोखिमबाट बच्न सकिन्छ। यो समस्याका जोखिमबाट बच्नका लागि पाँच वर्षमुनिका बालबालिकालाई ‘रोटा’ भाइरस विरुद्धको खोप दिन आवश्यक छ। जुन विश्व बजारमा उपलब्ध छ। नेपालमा भने हालसम्म यो खोपको व्यवस्था छैन। तर व्यवस्था गर्न आवश्यक छ।

बालबालिकामा ‘रोटा’ भाइरस विरुद्धको खोप लगाएको अवस्थामा शरीरमा ‘रोटा’ भाइरस विरुद्ध लड्ने क्षमताको विकास हुन्छ। जसले यो भाइरसको संक्रमण भइहालेको अवस्थामा भाइरसले कडा रुप लिन पाउँदैन। भाइरसको संक्रमणले कडा रुप लिन नपाउँदा झाडापखालाको जोखिम कम हुन्छ। जसले विशेषगरी साना बालबालिकालाई मृत्युको जोखिमबाट बचाउन सकिन्छ।

सावधानी र उपचार
यो भाइरसबाट बच्नका लागि सफा सुग्गर त रहनै प¥यो साथसाथै चिसोकै कारण भाइरस सक्रिय भई झाडापखाला हुन्छ। त्यसैले बालबालिकालाई सफा सुग्गर र चिसोबाट बचाउनु पर्छ। बालबालिकालाई जथाभावी खानपान गराउनु हुन्न। संक्रमित बालबालिकाले खेलाएको खेलौनाबाट भाइरस सर्ने जोखिम भएकाले अन्य बालबालिकाले खेलाएका खेलौना खेल्न तथा मुखमा हाल्न दिनु  हुन्न।

सामान्यतः यो भाइरसको संक्रमण भएको अवस्थामा एक हप्ता सताउँछ। त्यसपछि आफैँ ठिक हुन्छ। यस किसिमको भाइरसको संक्रमण भएको खण्डमा एन्टिबायोटिक औषधिको प्रयोग गर्नु आवश्यक हुन्न। ‘रोटा’ भाइरसले सताएको अवस्थामा लक्षणको आधारमा उपचार पद्धति भने अपनाइन्छ। यही नै भन्ने ठोस उपचार पद्धति र औषधि भने छैन। भाइरसको संक्रमण भई झाडापखाला हुँदा शरीरमा पानीको मात्रा कम हुने भएकाले प्रशस्त मात्रामा उमालेर सेलाउँदै गरेको मनतातो पानी पिउनु पर्छ। जीवनजल पिउनु पर्छ। पानी पिउन नसक्ने बालबालिका तथा बिरामीका लागि भने स्लाइन पानी दिन आवश्यक हुन्छ। शरीरमा पानीको मात्रा कम हुन नदिए मृत्युबाट बच्न सकिन्छ। शरीरमा पानीको मात्रा कम हुन दिनु हुन्न।

जाडोको मौसममा विभिन्न किसिमका इन्फ्लुएन्जा सक्रिय हुने मौसम भएकाले बालबालिका तथा दीर्घ रोगी र पाको उमेर समूहका व्यक्तिले विशेष सावधानी अपनाउनु पर्छ। इन्फ्लुएन्जालाई नै छोटकरीमा फ्लु भनिन्छ। यो एक प्रकारको भाइरस हो। प्रत्येक सिजनमा इन्फ्लुएन्जाको जोखिम हुन्छ। त्यसैले हामी यसमा सचेत हुन आवश्यक छ। नेपालमा इन्फ्लुएन्जाले दुवै सिजनमा समस्या हुन्छ।  
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment