कलेजको दादागिरी

शुक्रबार, ०६ मङि्सर २०७६, १० : २५ शुक्रवार
कलेजको दादागिरी

बल्झिरहने घाउ नै भयो, मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई चेपुवामा पारेर मोटो रकम असुल्ने प्रथा। डा. गोविन्द केसीको आन्दोलनको प्रभावले करबलले भए पनि सरकारले अधिकतम शुल्क तोके पनि निजीसँगै नेपाली सेनाको मेडिकल कलेजले समेत सरकारी निर्णय उल्लंघन गरिरह्यो। सरकार भने अनुनयमै समेटियो।

जब–जब विद्यार्थी आन्दोलित हुन्छन्, बल्ल चाल पाएझैँ गर्दै सम्बन्धित मन्त्रालय बढी शुल्क नलिन अनुनयको शैलीमा निर्देशन दिन्छ। मेडिकल सञ्चालक सुनेको नसुन्यै गर्छन्। सरकार धम्क्याएझैँ गर्छ। मेडिकल सञ्चालक रोएकोझैँ गर्छन्। नाटक मञ्चन उस्तै छ अहिलेसम्म।

जबसम्म निर्णय गर्ने र कार्यान्वयन गराउने ओहदामा बसेका पदाधिकारी अवैध आम्दानीमा डुब्दैनन् निर्णय कार्यान्वयनमा कुनै समस्या हुन्न। स्वार्थहीन निर्णय कार्यान्वयनमा समस्या पक्कै हुन्न।

मेडिकल कलेजको शुल्कबारे सरकारले गरेको निर्णय कार्यान्वयनमा आइरहेको समस्याको मूल जड नै मुहान सफा नहुनु हो। पटक–पटक देखिने दृश्यले नै निर्णय तहमा रहेकाहरु कसरी मेडिकल कलेजका सञ्चालकहरुको चास्नीमा फँसिरहेका छन् भन्ने देखिने गरेकै छ।

कहिले मार्सी चामलले भरिएको चरेसको थालले चास्नीको काम गरेको देखियो त कहिले सिंगापुरमा भएको उपचारको भुक्तानीले। त्यसैले सरकारी निर्णय कार्यान्वयन गर्न आन्दोलनमा होमिएका विद्यार्थीहरु अपहरणमा पर्दासमेत सरोकारवाला निकायहरु केवल निर्देशनको औपचारिकता निभाएर बसेका छन्। यो भन्दा लाजमर्दो अवस्था अरु के हुन सक्छ र ?

लाजै लागेर हुनुपर्छ प्रधानमन्त्रीको निर्देशनसँगै अहिले सम्पत्ति शुद्धीकरण विभाग मेडिकल कलेज सञ्चालकहरुको सम्पत्तिको स्रोतको खोजीमा खटिएको छ। खोजीका क्रममा विभागको समूह मेडिकल कलेज पुगेर छापा हानिरहेको छ।

यसले कतै अब चैँ सरकारको निर्णय कार्यान्वयनमा आउने आशा बढाएको छ। मेडिकल शिक्षाको नाममा कालो व्यापार गर्नेहरु कानुनी फन्दामा पर्ने सम्भावना देखाएका छ तर हिजोका नजिरहरु हेर्दा यो केवल अहिले आन्दोलित भएका विद्यार्थीलाई भ्रमित बनाएर आन्दोलन मत्थर बनाउने प्रपञ्च मात्र हुन पनि सक्छ। यसमा सजगता आवश्यक छ।

किनभने मेडिकल क्षेत्रको सुधारका लागि आफैंले गरेको निर्णय पटक–पटक उल्लंघन गर्न नहिच्चिाउनेहरु नै अहिले पनि सत्तामा छन्। बदमास मेडिकल कलेज सञ्चालकलाई दण्डित गराउन अहिले शुरु भएको अभियानलाई टुंगोमा पु-याउन नागरिक समाज, सरोकारवाला विद्यार्थी सचेत र सजग हुन आवश्यक छ।

Leave A Comment