वैद्यको युद्ध मोह

शुक्रबार, ०६ मङि्सर २०७६, १० : ४३ शुक्रवार
वैद्यको युद्ध मोह

भदौमा आँखा फुटेको गोरु जहिल्यै हरियो देख्छ भन्ने नेपाली उखान यदि कसैलाई ठ्याक्क मिल्छ भने नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई मिल्छ।

१० वर्षे सशस्त्र द्वन्द्वमा नसोचेको सफलता हात पारेका वैद्य र उनको समूह यतिबेला छरपष्ट भए पनि उनलाई युद्धको धङधङी भने अझै छ भन्ने हालै जनकपुरमा आयोजना गरिएको एउटा कार्यक्रममा उनले आवश्यक परे फेरि आन्दोलन गर्ने घोषणा नै गरे।

सँगै युद्ध लडेका साथीभाइ चोइटिएर चारतिर पुगिसके। मूल माओवादी नै एमालेमा विलय भइसक्यो। विलय हुँदाको फाइदा सत्ताको भ-याङ भएको छ कतिपय पूर्व लडाकु नेतालाई।

बिजोग त माओवादीबाट उछिट्टिएको नयाँ शक्ति र विप्लवको नेकपाको छ। स्वयं वैद्य बाको अवस्था पनि गतिलो छैन। यसरी टुक्राटुक्रा भएको पार्टीका नेताको सपना चाहिँ कत्रो ठूलो भने मान्छेले सुन्दा पनि रमाइलो मान्ने !

हुन त बोल्दैमा के जान्छ र ? जोश–जाँगर सेलाइसकेका कार्यकर्तालाई यसो उच्क्याउनु न हो ! युद्ध गर्ने मनसायका कार्यकर्ता पनि हिजोआज जुन जोगी आए पनि कानै चिरेका भन्ने बुझेरै खडेरी पर्न थालिसक्यो।

तापनि के मान्नुपर्छ भने नातिनातिना खेलाउने यो उमेरमा वैद्य बाको रहर चाहिँ मान्नै पर्छ। हुन त बुढेसकालमा विस्मृति र पूर्वस्मृतिले घरिघरि यस्तो अवस्था ल्याउँछ नै ! सपना देख्न त पाइहालियो नि ! पुराना स्मृतिमा रमाउन पनि पाइयो ! कि कसो वैद्य बा !

Leave A Comment