ब्युँतिएको मुर्छित मानवता

शुक्रबार, ०६ मङि्सर २०७६, ११ : ०६ अच्युत काेइराला
ब्युँतिएको मुर्छित मानवता

एउटा भव्य तारे होटलमा बसिरहेका बेला हान्स मेयरलाई भेट्न उसैको कोठामा पुग्यो, फेब्रिजियो कोलिनी। एउटा समाजसेवी र प्रख्यात व्यवसायीलाई मान्छे भेट्न आइरहन्छन्, इज्जत दिन्छन् तर त्यो दिन कोलिनीले मेयरलाई गोली दियो। त्यत्तिमा मात्र उसलाई चित्त बुझेन। उसले ढलेको मेयरको शरीरको टाउकामा जुत्ताले यसरी हान्यो कि टाउको कच्याककुचुक भयो।

कोलिनीको मन शान्त भएपछि बल्ल ऊ होटलको त्यो भव्य कोठाबाट निस्क्यो र लबीमा आएर होटल कर्मचारीलाई कफी अर्डर ग-यो। कफी खाँदै गर्दा होटलका कर्मचारीले ख्याल गरिन्, कोलिनीको जुत्तामा रगतका टाटा छन्, कोलिनी स्वयं उदास छ।
कर्मचारीले सोध्छे, ‘सर, तपाईं ठीक त हुनुहुन्छ ?’
कोलिनी भन्छ, ‘ठीक छैन, प्रहरीलाई बोलाऊ।’
मेयरको हत्याले जर्मनी चकित छ। कोलिनीप्रतिको घृणा सर्वत्र फैलिएको छ। यस्तोमा तिनै हान्स मेयरले बालखैमा सडकबाट उठाएर ‘मान्छे’ बनाएका क्यास्पर लिनेनको हातमा मुद्दा आइपरेको छ। एउटा प्रतिभाशाली युवा वकिल भएकाले सरकारले उसलाई कोलिनीको केस हेर्न दिएको हो। लिनेनको समस्या के छ भने उसलाई कोलिनीप्रति उठ्नु रिस उठेको छ।

लिनेनले जीवनभर मेयरलाई करुण हृदयको व्यक्तिका रुपमा चिनेको छ। उसलाई पढ्न, लेख्न, विभिन्न अवसरहरु दिलाउन मात्र होइन, उसको सपनाको कार किन्नसमेत मेयरले सहयोग गरेका थिए।

मर्नेहरुको ज्यान त जान्छ, घरले एउटा अभिभावक गुमाउँछ तर यस्ता घटनामा सबैभन्दा बढी मानवता मुर्छित हुन्छ। त्यही मानवतालाई ज्यूँदै राख्न संवेदनशील सरकारले घटनामाथि निष्पक्ष छानविन गर्छन् र दोषीमाथि कार्बाही अघि बढाउँछन्।

यति मात्र भए पनि हुन्थ्यो नि, मेयरकी साख्खे नातिनीसँग समेत ऊ भावनात्मक रुपमा गाँसिएको छ। ऊ भन्छे, ‘तिमीले मलाई कुनै दिन, कुनै पल माया गरेका छौ भने कोलिनीको केस छाडिदेऊ।’

ऊ छाड्न आँट्छ तर जीवनकै पहिलो मुद्दा, त्यो पनि सरकारले अह्राएको मुद्दा कसरी छाड्नु ? यसले उसको वकिल्याइँ भविष्यमा चौपट पार्नेछ।
कुरा सिधा छ, कोलिनीले प्रख्यात मेयरको हत्या ग-यो, उसले सिधासिधा अधिकतम सजाय पाउनुपर्छ।

अखबार वक्र छन्, त्यहाँ पनि। एउटा हत्यारोको पक्षमा मुद्दा लडिदिएको भन्दै क्यास्पर लिनेन राक्षसको साथीका रुपमा परिणत भएको छ। ऊ स्वयं पनि कहाँ लड्न चाहन्थ्यो र ? तर बाध्यताले यो मुद्दामा अल्झिन पुग्यो।
आफूले मेयरलाई क्रूरतापूर्वक मारेको बयान फेलिनीले दिइसक्यो। प्रहरीले पक्राउ गरिसक्यो। सबै प्रमाण सुरक्षित छन्। खेल खत्तम ! यसमा बुझ्नु वा जान्नुपर्ने कुरा केही थिएन। फेलिनी स्वयं पनि आफूलाई चाँडोभन्दा चाँडो मृत्युदण्ड सुनाइयोस् नै भन्ने चाहन्छ।

तर भर्खरै प्रख्यात कलेज पढेर आएको युवा क्यास्पर लिनेन जीवनमा पहिलो पटक पाएको मुद्दामा यसै हात उठाउने कि मेयर हत्याका पछाडिको ‘मोटिफ’ (उद्देश्य) के हो भनी पत्ता लगाउने, दोधारे मनलाई किनारामा लगाउँदै मुद्दा लड्ने र उद्देश्य पत्ता लगाउने निर्णयमा पुग्छ। र, यो निर्णयले जेजस्तो आँधि ल्याउँछ, त्यसको उसले कल्पना पनि गरेको थिएन।
०००
दोस्रो विश्वयुद्ध सकिएको छ तर हिटलरको जगजगी अझै सकिएको छैन। जर्मनीको विशेष सुरक्षा दस्ता एसएसको इटाली शाखाको हाकिम भएर पुगेका हान्स मेयरको जिम्मेवारी छ, भर्खरै बम विष्फोटमा मारिएका आफ्ना एसएसका दुई सदस्यको बदला लिनु। मुस्किलले २५ वर्ष कटेको ऊ क्रुद्ध छ किनभने उसका दुई जना साथी मारिएका छन्। रिसको झोंकमा उसले निर्णय सुनाउँछ, दुई जनाको ज्यानको बदलामा इटालीको त्यो सानो बस्ती टक्सनीका २० जनाको ज्यान !

यसपछि हान्स मेयरले टक्सनीका सबै युवा, वृद्धवृद्धा र बालबालिका भेला पार्छ। त्यसमध्येबाट २० जना हट्टाकट्टा पुरुष छुट्याउँछ। तिनलाई एक एक गरी गोली हानी हत्याको आदेश दिन्छ। आफ्ना बाबु पनि सोही लाइनमा लागेको देखेर एउटा बालक रुन र चिच्याउन थाल्छ। बालकलाई च्याप्प समातेर मेयरले भन्छ, ‘तैंले यो दृश्य हेर्नुपर्छ। कसैको मृत्युको मूल्य के हुन्छ, तैँले थाहा पाउनु पर्छ।’

त्यसपछि बालकको बाबुलाई गोली हानिन्छ। पहिलो गोलीमा बाबु मर्दैन। उसलाई मार्न अरु दुई गोली खर्चिइन्छ। आफ्नो बाबुको आँखाअघिल्तिर नै भएको हत्या देखेर बालक बेहोस हुन्छ।
यो त्यही फेलिनी हो, जसले वृद्ध मेयरलाई ऊ बसेको पाँच तारे होटलमा पुगी क्रूरतापूर्वक हत्या गरेको छ।
०००
युवा वकिल क्यास्परले जब हत्याको पृष्ठभूमि थाहा पाउँछ, त्यसपछि जर्मनीको एउटा कालो कालखण्ड नै मिहिन रुपमा केलाउनुपर्ने र युद्धका नाउँमा भएका त्यस्ता अपराधलाई र अपराधीलाई न्यायको कठघरामा उभ्याउनुपर्ने दलील पेस गर्छ।

जर्मनीका लागि हिटलर युग एउटा धब्बा हो तर त्यो युगको एउटा तीतो सत्य अर्को पनि छ, जब यसको लहरो तानिन्छ नि, पहरो थर्कने मात्र होइन– सबै किसिमका मान्यता ध्वस्त हुन्छन्, सबै विश्वासका मूर्ति खण्डित हुन्छन्। त्यही विश्वास जोगाउन पहिले गरिएका अपराधको ढाकछोप भइरहेको छ तर त्यो कतिञ्जेल छोप्ने ?
तर सत्य त सत्य हो र सत्य यति कठोर हुन्छ कि प्रायः मानिस विस्मित हुन्छन्।

मैले हालै पढेको यो उपन्यासको नाम हो– कोलिनी केस। जर्मन लेखक फर्डिनान्ड भोन सिराकले १२ वर्षअघि लेखेको यो उपन्यासको सान्दर्भिकता नेपालमा सधैँ रहनेछ किनभने यो उपन्यास कुनै हावा कल्पनामा उडेर लेखिएको होइन। यो त्यहाँको वास्तविक घटनामा टेकेर थोरैबहुत कल्पनाको सहयोग लिई लेखिएको उपन्यास हो।

यस उपन्यासले कुनै एउटा घटना र त्यस घटनाले निम्त्याउने राष्ट्रिय संकटसमेत उजागर गरेको छ। जस्तो कि, जब मेयर युद्ध अपराधमा संलग्न भएको थाहा हुन्छ, स्वयं सरकार नै अप्ठेरोमा पर्छ। सन् १९६० को दशकमा जर्मन सरकारले त्यो बेला भएका युद्ध अपराधलाई माफी दिनका लागि एउटा कानुन बनाएको थियो। सो कानुनको खिल्ली उडाउँदै यस किसिमका अपराधलाई अपराधको श्रेणीमा राख्नुको साटो सरकार र त्यस बेलाका चर्चित मन्त्री र वकिलहरु नै लुकाउन र त्यसलाई जाजय ठह-याउन लागिपर्छन्।

उपन्यासमा मेयर मारिएको समय सन् २००१ भनिएको छ। अर्थात्, उपन्यासकारले स्पष्ट रुपमा नयाँ युगमा कुनै पुरानो घटना बल्झियो भने हामीले कुन दृष्टिकोणले त्यसलाई हेर्नुपर्छ भन्ने दृष्टि दिएका छन्।

अदालतमा मुद्दा चल्दै जाँदा कठघरामा एक जना प्रख्यात र बूढा वकिल पनि बयानका लागि तानिन्छन् र उनले जे जवाफ दिन्छन्, त्यसले उपन्यासको उद्देश्य प्रस्ट हुन्छ। र, उद्देश्य हो– जब हामी कुनै समयमा घटेको युद्ध अपराधको मुद्दा हेरिरहेका हुन्छौँँ भने हामीले साँच्चिकै संवेदनशील हुनै पर्छ। त्यहाँ जोडिएको मानवीय संवेदनाको ख्याल गर्नैपर्छ। खासगरी एक्काइसाैँ शताब्दीमा युद्ध अपराधलाई हेर्ने दृष्टिकोण युद्धको बेलाको जस्तो रत्ति पनि हुनुहुँदैन। अपराध भनेको अपराध हो, चाहे त्यो युद्ध अवधिमा भएको नै किन नहोस् !
र, त्यस्तो अपराधलाई बेग्लै तरिकाले हेरिनुपर्छ र पीडितमाथि न्याय हुनुपर्छ।
०००
जब अमेरिकाको ट्वीन टावरमा अलकायदाले प्लेन ठोक्कायो र अफगानिस्तानमा ओसामा बिन लादेन खोज्दै अमेरिकी सेना छि-यो, बनावटी मूठभेड र बनावटी आतंककारीका रुपमा कयौँ सर्वसाधारणको हत्या भयो।

तीमध्ये एउटा घटनाको खुलासा भएलगत्तै सेनाको इन्क्वायरी बस्यो र त्यसले अध्ययन प्रतिवेदन बुझायो। जसको नाम थियो, ‘द किल टिम’। यसपछि सर्वसाधारणलाई आतंककारी बनाउँदै हत्या गर्ने सर्जेन्ट डिक्स र उनको कार्यलाई मन नलागी–लगानी साथ दिने एन्ड्रयु ब्रिगम्यानमाथि सरकारले मुद्दा चलायो। उनीहरु दुवैमाथि कडा कार्बाहीसमेत गरियो।

मर्नेहरुको ज्यान त जान्छ, घरले एउटा अभिभावक गुमाउँछ तर यस्ता घटनामा सबैभन्दा बढी मानवता मुर्छित हुन्छ। त्यही मानवतालाई ज्यूँदै राख्न संवेदनशील सरकारले घटनामाथि निष्पक्ष छानविन गर्छन् र दोषीमाथि कार्बाही अघि बढाउँछन्।

युद्ध एउटा विशेष परिस्थितिमा हुनसक्छ तर युद्धका नाममा कुनै बेकसूर मानिसमाथि ज्यादती हुनु, तिनको ज्यान हरण गरिनु, तिनलाई निर्ममतापूर्वक कुटपिट गरिनु युद्ध होइन, अपराध हो। कसैले युद्धलाई निजी अहंकार शमन गर्ने बाटो बनाउँछ भने त्यस्तालाई अपराधीको श्रेणीमा राखेर अपराधीसरह नै व्यवहार र दण्ड दिइनुपर्छ भन्ने सन्देश ‘द किल टिम’को मात्र होइन, ‘कोलिनी केस’को पनि हो।

संवेदनशील समाज र निर्लज्ज भिडबीचमा एउटा तात्विक फरक हुन्छ। संवेदनशील समाज भएका गल्तीप्रति लज्जित हुन्छ, भविष्यमा नदोहो-याउन कटिबद्ध हुन्छ। निर्लज्ज भिडले भने कानुन, शक्ति र सत्ताको आडमा अपराधी जोगाउन वकिलहरुको लर्को लगाउँछ, कानुनी शासनको धज्जी उडाउँदै धाक र धम्की दिन्छ। त्यस्तो ठाउँमा मानवता मुर्छित र कोमामा पर्छ।
०००
१२ वर्षअघि रौतहटमा घटेको यस्तो आपराधिक घटना जसमा अहिलेसम्म कति मारिए एकिन हुनै सकेको छैन, त्यसको क्रुरताको कुनै आँकलनै छैन। चुनाव आफ्नो पक्षमा पार्न बम बनाउँदाबनाउँदै पड्कदा घाइते भएकालाई उपचारका लागि अस्पतालको साटो दनदन बलिरहेको भट्टीमा हालेर जलाउने मुटु कति क्रुर होला ?

त्यस्ता क्रुर व्यक्ति यो देशमा १२ वर्षसम्म निर्धक्क मात्र भएनन्, पटक–पटक जनअनुमोदनबाट जनप्रतिनिधि र मन्त्रीसमेत बने। राज्य जाग्दा पनि तालुकदार निकायले निर्धक्क कानुनी प्रक्रिया अगाडि बढाउन सकेन। मुद्दा हेर्ने र आदेश दिने न्यायकर्मी ज्यानको मायाले जिल्लै छाड्नुपर्ने अवस्था आयो।

हो, त्यस्तो घटनामा जोडिएका मोहम्मद आफताव आलमजस्ता व्यक्ति जब कारागार चलान हुन्छन्, यी सारा प्रक्रियामा सम्मिलित प्रशासन र न्यायपालिकाले मुर्छित मानवतालाई पानीले छम्केर ब्युँताउँछन्।

अहिले मुर्छित मानवता ब्युँतिएको त छ तर यसले निरन्तर सास फेरिरहन्छ या पुनः कोमामा जान्छ, यस्तो अस्थिरतामा ठोकुवा गर्नु असम्भव छ।

Leave A Comment