रश्मिला काशुला,
उपप्राध्यापक तथा बाल मनोविद्
संसारभर नयाँ बस्ती बसाउँदा, पार्क, स्कुल, अस्पताल आदि बनाउँदा बालमैत्री, अपाङ्ग मैत्री बनाउने प्रचलन बढेको छ। हाम्रोमा पनि पछिल्लो समय केही प्रयोग भएका छन् तर पर्याप्त भने छैन। साझा यातायातले बाल सिट राखेर सुरुवात त गरेको छ तर अन्य सार्वजनिक यातायातमा भने लागू छैन।
उपत्यकामा नगन्य मात्रामा पार्कहरु छन्। एक हिसाबले भन्ने हो भने बालबालिका कोठामा ‘बन्दी’ जस्तै जीवन बिताइरहेका छन्। बालबालिकालाई पर्याप्त खेल्ने ठाउँ छैन। छिमेकी छिमेकीबीच घुलमिल छैन। उनीहरु एकलकाटे स्वभावका हुँदै गइरहेका छन्। शहरी इलाकामा हामीले जसरी बालबालिकालाई हुर्काइरहेका छौँ यो एकदमै गलत तरिका छ।
सडक बालबालिका तथा गरिब परिवार एवं दुर्गम गाउँबस्तीका बालबालिकाहरु आधारभूत अधिकारबाटै अझै वञ्चित छन्। राजधानीजस्ता शहरमा बालबालिकाले प्रकृतिको ढुंगो माटो, हावापानीमा खेल्ने र रमाउने अधिकारलाई आधुनिक स्विमिङ पुल, चिल्ड्रेन पार्क आदिले विस्थापित गरेका छन्।
बालमनोविज्ञानअनुसार बालबालिकाहरू खेल्ने, कुुद्ने, रमाउने, अनौठो जिज्ञासाका खोजअनुरूप चकचके र चुलबुले व्यवहार देखाउनु बाल्यकालको विशेषता नै हो।
उनीहरूको शारीरिक र मानसिक विकासका लागि यी विशेषताहरू नितान्त आवश्यक छन् भौतिक संरचना बनाउँदा बालबालिकाको इच्छा र आवश्यकतालाई ध्यान दिएको देखिन्न।
बालमैत्री स्थान बनाऊँ
हाम्रा घर, विद्यालय तथा सार्वजनिक स्थानहरु बालमैत्री छैनन्। बालमैत्री भन्नाले बालमनोविज्ञानअनुसारको चाहना, रुचि, क्षमता र आवश्यकताका लागि पर्यावरणीय पक्ष भन्ने बुझिन्छ। घर, विद्यालय, अस्पताल, खेलमैदान, यातायात र प्रशासनिक निकाय सबै क्षेत्र बालमैत्री हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय महासन्धिको अवधारणा छ। तर यो अनुरुप हाम्रोमा छैन। नीति तथा नियममा राम्रै भए पनि व्यवहारमा कार्यान्वयन भएको देखिन्न।
मनोभावना बुझौँ
अभिभावकले बालबालिकालाई समय दिएको पाइँदैन। हरेक बाबुआमा अब गम्भीर भएर सोच्न जरुरी छ। विशेष गरी हरेक आमाबाबुले आफ्ना बालबच्चाको मनोभावना बुझ्न गुणस्तरीय समय बिताउनु पर्छ । माया, ममता सद्भाव र सुरक्षाको अनुभूति दिलाउनुपर्छ।
बाल मैत्री शब्दमा ध्यान दिऊँ
बाल पत्रिका होस् या पुस्तक बालबालिकाले सहजै बुझ्ने भाषामा लेखिएको हुन जरुरी छ। नेपालीभाषा विज्ञानमा बालबालिकाले बुझ्ने भाषाको भने राम्रो प्रयोग भएको पाइन्छ। बाल्यकालका लागि नुनु, पापा, चिची, बुबु, माम, नाना आदि शब्दहरूको भण्डारण गरेको छ। बालकको क्षमताअनुसारको वाक्य संरचना प्रयोगमा ल्याइएको पाइन्छ। बाल्यकालमा कल्पनाशक्ति अधिक हुन्छ, वास्तविक संसारभन्दा भिन्नै काल्पनिक संसारका कुरा सोच्ने र सुन्न मन पराउँछन्। त्यहीअनुसार कथा कविता रचना गरेको पाइन्छ। तर सार्वजनिक स्थानमा लेखिने कतिपय जागरुक बनाउने सन्देशहरु बालमैत्री पाइँदैन।
बालबालिकाका लागि एका देशमा... भन्दै दन्त्यकथा सुनाउने चलन छ। कपडाका टालाटुलीबाट पुतली अनि माटो र काठका विभिन्न खेल सामग्री बनाइदिने र भाँडाकुटी खेल्न दिने बाल मैत्री वातावरण हुन्।
बालमैत्री परिवेशमा ध्यान दिऊँ
प्रविधिको विकास तीव्र रुपमा भएको छ। यसै अनुसार उपकरण पनि बनेका छन्। वैज्ञानिक उपकरणको उपलब्धताले बालमैत्री परिवेश तयार गर्न अझ सहज भएको छ। विभिन्न डिजाइनका रंगीबिरङ्गी लुगाफाटा, खेलौना अनि विभिन्न बालबालिकालाई मनपर्ने खानेकुराले अभिभावकलाई बालमैत्री व्यवहारमा सहज र सुलभ बनाएको छ। उनीहरुको स्वभाव र उमेरअनुसारको परिवेश निर्माण गर्दा बालबालिकामा सकारात्मक प्रभाव पार्छ।
बालप्रतियोगितामा ध्यान दिऊँ
बालबालिकाको क्षमता विस्तारका लागि भन्दै विभिन्न सौन्दर्य प्रतियोगिता, गायन, नृत्यलगायतका मनोरञ्जनात्मक कार्यक्रम भइरहेको हुन्छ। यस्ता कार्यक्रममा सहभागिताका लागि बालबालिकाले निकै चासो लिएको पाइन्छ।
अभिभावक तथा शिक्षकले के कुरामा ध्यान दिन जरुरी छ भने यो प्रतियोगिता किन के कसरी आयोजना भएको हो ? यस्ता कार्यक्रमले आफ्ना सन्तानलाई के कस्तो प्रभाव पार्छ भन्ने कुरामा सतर्क हुन जरुरी छ।
प्रतियोगिता भन्ने बित्तिकै जित्ने वा हार्ने भन्ने हुन्छ। कार्यक्रममा भाग लिने सबैले उत्कृष्ट प्रस्तुति दिन सक्दैनन्। यदि उनीहरु प्रथम द्वितीय तृतीय भएनन् भने आफैँप्रति हीन भावना पलाउन सक्छ अभिभावकले यस कुरामा ध्यान दिन जरुरी छ।
त्यसमाथि सौन्दर्य प्रतियोगितामा छनोटका लागि गएका तर छनोट नभएका बालबालिकामा म राम्री छैन, म केही गर्न सक्दिन भन्ने भावना ज्यादा भएर मानसिक समस्या पनि देखिन सक्छ यस्ता कुरामा ध्यान दिन जरुरी छ।
घुलमिल हुन सिकाऊँ
मेरा छोराछोरी घरमा नयाँ मान्छे आए भने आफ्नो कोठाको ढोका थुनेर बस्छन् भन्ने गुनासो सुनीन्छ यो समस्या सहरी इलाकामा बढी देखिन्छ। घुलमिलका लागि बालबालिकाहरुलाई समय दिने। बेलाबेलामा घुमाउन लैजान सकिन्छ।
Leave A Comment