कास्की–२ उपनिर्वाचनको अन्योल : उत्तराधिकारी कि अनुभवी ?

सोमबार, ०९ मङि्सर २०७६, ०१ : १४ मनोज घर्तीमगर
कास्की–२ उपनिर्वाचनको अन्योल : उत्तराधिकारी कि अनुभवी ?

देशका अन्य भाग भारतले निकालेको नयाँ नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक मिसाएकोमा आन्दोलित छ। कास्की–२ भने चुनावी माहोलमा छ। रविन्द्र अधिकारीको मृत्युसँगै रिक्त भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति नजिकिँदै जाँदा दलका उम्मेदवार मतदाता रिझाउन घरदैलोमा व्यस्त छन्।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि हुन लागेको उपनिर्वाचनको नतिजालाई सत्ताधारी दल नेकपाले सरकारको लोकप्रियता अनुमोदन हुने जनमतको रुपमा हेरेको देखिन्छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको अलोप्रियताको जनमतको रुपमा हेरेको छ। साझा विवेकशील र विवेकशील नेपाली दलले मुख्य दलको कार्यशैलीबाट मतदाता विरक्तिएको सन्देश बलियो बनाउने जनमतको रुपमा लिएको देखिन्छ यो उप निर्वाचनलाई।

कास्की क्षेत्र नम्बर–२ अन्तर्गत पोखरा महानगरपालिकाका ११ वटा वडा छन्। मंसिर १४ मा हुने उपनिर्वाचनमा २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचनका लागि ११ राजनीतिक दल र १० स्वतन्त्रको उम्मेदवारी परेको छ।

अधिकांशको मत नेकपाले चुनाव जित्नेमा छ भने केहीले कांग्रेस विजयी हुने आँकलन गरिरहेका छन्। प्रचार र उम्मेदवारको व्यक्तित्व हेरेर पनि सर्वसाधारणले जितहारको अनुमान लगाइरहेका छन्।

लगातार ३ पटक चुनाव जितेका तत्कालीन एमाले नेता अधिकारीको मृत्युपछि उनको उत्तराधिकारीको रुपमा उनकै पत्नी विद्या भट्टराई नेकपाको तर्फबाट उपनिर्वाचनको प्रतिस्पर्धी छिन्।

कांग्रेसले कास्कीका पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ। साझा विवेकशील दलले रजनी केसी, विवेकशील नेपाली दलबाट जमुना शर्मा, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राप्रपाबाट रोमबहादुर भण्डारीलगायतले उम्मेदवारी दिएका छन्।

विद्यालाई जित निकाल्न सरकारको अलोकप्रियताको सामना गर्दै मतदाता रिझाउनु र सहानुभूतिको आधारमा उम्मेदवार नबनेको विश्वास दिलाउनु महत्वपूर्ण देखिन्छ। कांग्रेस उम्मेदवारका लागि पार्टीको अन्तर्घात रोक्नु र नयाँ मतदातासम्म उम्मेदवारलाई भिजाउनु मुख्य चुनौती देखिन्छ। साझा र विवकेशील नेपाली दलको हकमा त ‘ट्राइ अगेन’ पर्ने पक्कापक्की हो।

पुराना दलले केही काम गरेनन्, देश परिवर्तन हुन राजनीतिक संस्कार परिवर्तन आवश्यक छ जस्ता आकर्षक नारा बोकेर साझा र विवेकशीलका नेता कास्की २ को घर दैलोमा सक्रिय छन्। साझाले कांग्रेसकी नेतृ रजनीलाई पार्टी प्रवेश गराएर प्रतिनिधि सभामा प्रवेश गर्ने प्रयास गरिरहेको छ। तर २१ उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा सत्ताधारी दल नेकपा र प्रमुख पतिपक्ष कांग्रेसका उम्मेदवारवीच देखिन्छ।

कास्की २ रवीन्द्रले तीनपटक जितेको क्षेत्र हो। उनको त्यही लोकप्रियता हेरेर पार्टीले उनको स्थानमा उनकी श्रीमती विद्यालाई उम्मेदवार बनाएको देखिन्छ। रवीन्द्रको लोकप्रियता र सहानुभूति भोटसमेत आउने आँकलन पार्टीको देखिन्छ। केन्द्रित तहदेखिका नेता उनलाई सघाउन कास्की पुगेका छन्।

विद्याले आफ्नो प्रचारका क्रममा प्रायः भन्ने शब्द हो, ‘शोकलाई शक्तिमा बदल्छु, रवीन्द्रका अधुरा सपना पुरा गर्छु।’ यसले गर्दा उनलाई संवेदनाको मत जाने धेरैको तर्क छ। स्थानीय स्तरसम्मै निर्वाचन परिचालन कमिटी बनाएर नेकपा जित सुनिश्चित गर्न अगाडि बढेको छ।

तर उनको जोखिम कम भने छैन। विद्यार्थीकालमा राजनीतिमा सक्रिय भए पनि उनी लामो समय देखि राजनीतिमा निस्क्रिय भएर प्राध्यापनमा सक्रिय भएकी थिइन्। उनी कास्कीका लागि नयाँ अनुहार समेत हुन्। रवीन्द्रको निधन हुनुअघि उनको उपस्थिति कास्कीमा खासै देखिएको थिएन।

सबैसँग सहजै घुलमिल हुनसक्ने व्यवहारका कारण रवीन्द्रले पार्टी इतरको मतसमेत ल्याउने गरेका थिए। ती भोट विद्याकोमा नआउन सक्छ। श्रीमान्को मृत्युपछि सहानुभूतिको आधारमा राजनीतिमा आएको भन्दै उनको आलोचनासमेत भइरहेको छ। मतदानको दिन अघिसम्म उनले सहानुभूतिको आधारमा नभई क्षमताकै आधारमा उम्मेदवार बनेको मतदातालाई बुझाउने चुनौती छ।

‘हिजो विद्या राजनीतिमा थिइनन्। आज एक्कासि टिपेर ल्याइयो भनिएको छ। संवेदनाको मत लिन मात्रै ल्याइयो भनिरहेका छन्’ आफ्नो उम्मेदवारीबारे विद्या भन्छिन्,‘ तर म राजनीतिदेखि टाढा थिइनँ, मात्र भूमिका फरक थियो। अहिले फेरि राजनीतिक आन्दोलनमा होमिएकी छु।’

कसलाई उम्मेदवार बनाउने भन्ने रस्साकस्सीका बीच यो पालि पुरानो नेतालाई कांग्रेसले निर्वाचनमा होमेको छ। पौडेल लामो राजनीतिपछि पहिलोपटक लाभको पदका उम्मेदवार बनेका छन्। निष्ठावान् र पुराना नेता भएकाले उनले चुनाव जित्ने अनुमान गर्नेहरु उत्तिकै छन् ।

यो चुनावमा कांग्रेस नेकपाको लालकिल्ला तोड्ने अभियानमा छ। दुई तिहाइमा बहालवाला आफ्नै नेकपा सरकार रहेको बेलामा नेकपाका उम्मेदवार विद्यालाई हराउन कांग्रेसलाई चुनौती पनि छ।

विगतको गणितको आधारमा कांग्रेसलाई कास्की २ को उपनिर्वाचन सहज हैन, तर पनि कुनै कसर बाँकी नराखी त्यसलाई उल्ट्याउने प्रयासमा छ। दुई तिहाईको सरकारले जनअपेक्षाअनुसार काम नगरेको, भ्रष्टाचार बढेको, सुशासन नभएको, सरकार जनताको मर्म र भावनाअनुसार अघि बढ्न नसकेकाले सरकारलाई सही बाटोमा हिँडाउन पनि जनताले आफूलाई मतदान गर्नेमा विश्वस्त कांग्रेस उम्मेदवार खेमराज पौडेल विश्वस्त छन्।

साझा र विवेकशील नेपाली दल पनि कस्सिएको देखिन्छ कास्कीमा। तर चुनावी नतिजा यी दुवै दलको पक्षमा जान चमत्कारै हुनुपर्छ। साझाले अगाडि सारेको केसीको पृष्ठभूमि कांग्रेस हो। उनी उम्मेदवारी दर्ता अगाडि मात्रै साझामा प्रवेश गरेकी हुन्। उनले कांग्रेसको केही मत काट्न सक्छिन्।

तर खेमराजको चुनौती पनि कम छैन। कांग्रेसमा यसअघि हुने भनिएको अन्तर्घात यसपालि नदोहोरिने धेरैको अनुमान छ।  चुनावको केही महिनाअघि कांग्रेस छोडेकी रजनी केसी साझा पार्टीकी उम्मेदवार भएपछि कांग्रेसलाई रजनी बाधक बन्न सक्ने धेरैको आँकलन छ। उनी नयाँ पुस्ताका मतदातामाझ त्यत्ति परिचित छैनन्। सरकारमा नरहे पनि आम नागरिकमा कांग्रेसको छवि सुधारिइसकेको छैन।

‘सरकारले जनताको दैनिकीसँग सम्बन्धित स–साना समस्या पनि समाधान गर्न नसकेको, महँगी नियन्त्रण गर्न नसकेको, सुशासन दिन नसकेको, पानीजहाज, रेलजस्ता हावादारी सपना जनतालाई बाँडेर निराश बनाएकोले त्यसलाई तोड्न पनि मैले चुनाव जित्नुपछ,’ खेमराज भन्छन्, ‘चुनावका लागि कास्की कांग्रेस एकढिक्का छ। कास्की लालकिल्लै हो, अरु त कुनै पार्टीले जित्दैन भन्ने नेकपाका साथीहरुमा भ्रम छ। त्यो भ्रमलाई तोडेर देखाउँछु।’

साझा र विवेकशील नेपाली दल पनि कस्सिएको देखिन्छ कास्कीमा। तर चुनावी नतिजा यी दुवै दलको पक्षमा जान चमत्कारै हुनुपर्छ। साझाले अगाडि सारेको केसीको पृष्ठभूमि कांग्रेस हो। उनी उम्मेदवारी दर्ता अगाडि मात्रै साझामा प्रवेश गरेकी हुन्। उनले कांग्रेसको केही मत काट्न सक्छिन्।

पार्टीगतरुपमा प्रभावित नभएका मतदाताले उनलाई मत दिन सक्छन्। तर जितका लागि यत्ति पक्कै काफी हुन्न। परिवर्तित राजनीतिको नारा लिएर विवेकशील नेपाली दलबाट पनि उम्मेदवार मैदानमा छिन्। उनीसहित अन्य दलका उम्मेदवारले निर्वाचनमा दलको उपस्थिति देखाउने नै उपलब्धि हुने देखिन्छ।

सत्ताधारी, प्रतिपक्षको कडा टक्कर
कास्की २ को विगतको नतिजा हेर्दा सत्ताधारी नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसका उम्मेदवारबीच कडा टक्कर हुने देखिन्छ। कास्की २ नेकपाको पकड क्षेत्र देखिए पनि पछिल्लो निर्वाचनको मत परिणाम र बदलिएको माहोलले नेकपा उम्मेदवारलाई जित सुनिश्चित गर्न त्यत्ति सहज भने देखिन्न।
२०७४ को निर्वाचनमा तत्कालीन एमाले र एकीकृत माओवादी मिलेर सहभागी हुँदा कांग्रेसका उम्मेदवारसँगको मतान्तर ८ हजार ५ सय ६२ थियो।

अहिले निर्वाचन हुने क्षेत्रको प्रदेश सभा सदस्य कांग्रेसबाट छन्। ०७४ मा कांग्रेसबाट देवराज चालिसे उम्मेदवार थिए। उनको हारपछिको विश्लेषणमा पार्टीभित्रको अन्तर्घात र रवीन्द्रको व्यक्तिगत प्रभावका कारण केही कांग्रेसी मतसमेत गएको निष्कर्ष कांग्रेसको थियो।

विद्यालाई जित निकाल्न सरकारको अलोकप्रियताको सामना गर्दै मतदाता रिझाउनु र सहानुभूतिको आधारमा उम्मेदवार नबनेको विश्वास दिलाउन सक्नु महŒवपूर्ण देखिन्छ। महिला उम्मेदवार हुँदा आउने मत साझा र विवकशील नेपालीले केही काट्न सक्छन्।

कांग्रेस उम्मेदवारका लागि पार्टीको अन्तर्घात रोक्नु र नयाँ मतदातासम्म उम्मेदवारलाई भिजाउनु मुख्य चुनौती देखिन्छ। साझाकी उम्मेदवारलाई पार्टीको मत जान रोक्नु पनि उसको चुनौती देखिन्छ। साझा र विवकेशील नेपाली दलको हकमा त ‘ट्राइ अगेन’ पर्ने पक्कापक्की नै देखिन्छ।

Leave A Comment