पैसाकाे लाेभमा पार्न खाेज्छन्

मङ्गलबार, १० मङि्सर २०७६, ११ : ३३ शुक्रवार
पैसाकाे लाेभमा पार्न खाेज्छन्

नुवाकोटकी वर्षा तामाङले रात्रीकालिन मनोरञ्जन क्षेत्रमा काम गर्न थालेको वर्ष दिनभन्दा धेरै भइसक्यो। उनी दोहोरीसाँझमा नाच्दा नाच्दै डान्सबारमा नाच्न आइपुगेकी छन्। उनीसँग भोला अधिकारीले गरेको रात्रिकालीन कुराकानी :

डान्सबारमा नाच्न कसरी आइपुग्नुभयो ?
घरको आर्थिक अवस्था कमजोर भएका कारण जागिर खोजिरहेकी थिएँ। एसएलसी मात्र पात्र गरेको कारण मलाई कसैले पनि जागिर दिएनन्। जागिर दिन्छु भन्नेले पनि थोरै पैसामा राख्न खोज्ने। चिनजानका साथीले दोहोरीसाँझमा नाच्ने हो भनेर सोधे। मलाई सानैदेखि नाच्न मन पर्ने भएका कारण हुन्छ भनेँ।

सुरुमा कहाँबाट नाच्न थाल्नुभयो ?  
कोटेश्वरमा रहेको जुगल दोहोरीसाँझमा मैले नाच्ने काम पाएँ। तलब थोरै भए पनि टिप्सले गर्दा केही सहजता भयो। त्यहाँ छोडेर अहिले तिनकुनेमा रहेको तिनघुत्ती डान्सबारमा आइपुगेकी छु।

काम गर्दागर्दै दोहोरीसाँझ किन छाड्नु भो ?
यहाँ काम गर्दा गर्दै दुई महिना जति बिरामी भएँ। दुई महिनापछि त्यहाँ जान लाज लाग्यो। त्यसपछि कामको खोजिमा लागिरहेकी थिएँ।

नाइटमा काम गर्दागर्दै कहिलेकाहीँ अरुको डान्सबार, क्लबतिर जानुहुन्छ कि हुन्न ?
अरुको डान्सबारमा गएकी छैन। तर नाइट क्लबतिर भने महिनामा एकदिन जाने गरेकी छु। म एक्लै जाँदिन, हाम्रो केटीको गु्रप छ। महिना दिन जस्तो ठमेलको फायर क्लब, आइक्लबमा जान्छौं। त्यहाँ गएर डान्स गर्ने गरेका छौँ। अब एकै ठाउँमा काम गरिरहँदा एकै ठाउँको ह्याङ हटाउनका लागि भए पनि नाइट क्लबमा जान्छु।

नाइटमा काम गरेको परिवारलाई थाहा छ कि छैन ?
थाहा छ। आमाले यस्तोमा काम नगर भन्नुहुन्थ्यो। दाइले त एकपटक निकै गाली गर्नुभयो। बुवाले भने मलाई नाइटमा काम गरे तापनि आफ्नो जिन्दगीको ख्याल गर्नु भनेर सम्झाउनु भयो ।
मैले बुवा–आमालाई राम्ररी सम्झाएँ। म बिग्रेर हिँड्दिन्। नराम्रो काम गर्दिन भनेर उहाँहरुले मान्नु भयो। अहिले ठिकै छ।

समाजले कस्तो व्यवहार गर्दो रहेछ ?
समाजले त कुरा काटी हाल्छन् नि। फलनाको छोरी डान्सबार, दोहोरीमा काम गर्छे भनेर। बुवा–आमाले मलाई साथ दिएपछि अरुले भनेर मलाई केही फरक पर्दैन।

डान्सबारमा गेष्टले कस्तो व्यवहार गर्छन् ?
कसैले राम्रो गर्छन्। कसैले नेगेटिभ सोच्ने गरेका छन्। डान्सबारमा गएपछि त्यस्तै खाल्का केटी हुन्छन् भनेर सोच्दा रहेछन्। कसैले मुख छाड्छन्।

राम्रो व्यवहार गर्ने नि ?
राम्रो गर्ने नि हुन्छन् कहिलेकाहीँ। कति आएका हुन्छन्। के ख्याल गरेर सक्नु। बाहिरका भन्दा कलाकार लाइनका अलिक ठिक हुन्छन्। दुःख बुझेका हुन्छन्। जुस खाऊँ, लाउ यति टिप्स भनेर दिनुहुन्छ।

उनीहरुसँग बसेर रक्सी कत्तिको खाइन्छ नि ?
तामाङ हो कहिलेकाहीँ मात्र हो खाने तर मात्ने गरी कहिल्यै खाँदिन। उनीहरुको आग्रह नकार्न नसकेर मात्र थोरै खाने हो।

झगडा कत्तिको हुन्छ ?
रक्सी खाने ठाउँ हो झगडा त कहिलेकाहीँ भइहाल्छ। बाहिरको मात्रै होइन डान्सबारकै स्टाफको फाइट परिरहेको हुन्छ। तर म भने झगडा गर्दिन। मलाई झगडादेखि डर लाग्छ।

परिवारमा कतिजना हुनुहुन्छ ?
हामी छोराछोरी आठ जना छाैँ।  चार जना दाजुभाइ, ४ जना दिदी बैनी अनि आमा बुवा गरेर दसजना छौं।  आमा बुवा बुढाबुढी भइसक्नुभएको छ।

डान्सबारमा काम गर्ने भनेपछि साहुहरुले हेप्ने, यौन शोषण गर्ने गरेका छन् भन्ने सुनिन्छ नि ?
अरुकोमा के छ थाहा छैन। हाम्रोमा त्यस्तो व्यवहार भएको छैन। मेरो साहु तामाङ, म पनि तामाङ भएकाले त्यस्तो जिस्कने, ठट्टा गर्ने पनि हुँदैन। तामाङमा पनि दुवै लोप्चन परियो। साहु ठिकै हुनुहुन्छ, सबैलाई माया गर्नुहुन्छ। दाइ यति पैसा चाहिएको छभन्दा झिकेर दिनुहुन्छ।

डान्सबारमा काम गर्दा त धेरैको लभ परेको सुनिन्छ ? तपाईंको के छ।
सधैँ घुलमिल भइरहने हुनाले धेरैको लभ परेको भन्ने सुनिन्छ तर मैले लभ गरेको छैन। डान्सबारका केटाहरु मलाई मन पर्दैन। उनीहरुले कहिल्यै साँचो तरिकाले माया गर्दैनन्। मेरो केही समय अगाडि डान्सबार बाहिरकै एकजनासँग लभ परेको थियो। उसले मलाई डान्सबारमा काम गर्ने त हो नि भनेर हेपेर बोल्ने, त्यस्तै खालको व्यवहार देखाएका कारण हाम्रो ब्रेकअप भयो। अहिले लभको चक्करमा छैन।

Leave A Comment