स्वतन्त्रताको कानुनी सीमा

मङ्गलबार, १० मङि्सर २०७६, १२ : ५४ शुक्रवार
स्वतन्त्रताको कानुनी सीमा

संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रा दिए तापनि किन हामीले आफूलाई चित्त नबुझेको कुराको विरोध गर्दा, केही बोल्दा अथवा केही लेख्दा रोक लगाइन्छ ? किन नारा जुलुस लगाउँदा अपराधको नजरबाट हेरिन्छ ? खै हामीलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता ? के न्यायका लागि आवाज उठाउन पाइँदैन ?

स्विकृती बराल,अधिवक्ता
–विचार र अभिव्यक्तिको स्वतन्त्रता पाउनु भनेको आफ्नो चित्त नबुझेको कुराको विरुद्धमा अरुलाई असर पर्ने गरी बोल्न पाउनु, लेख्न पाउनु र विरोध गर्न पाउनु हैन। कुनै कुरा चित्त बुझेन र अन्यायमा परेको अनुभव भएको छ भने न्याय खोज्न न्यायपूर्ण तरिका अपनाउनु पर्छ। आफ्नो स्वतन्त्रता बचाउनका लागि अरुको स्वतन्त्रतालाई अप्ठ्यारोमा पार्न पाइँदैन।

गैरकानुनी भेला गर्नु, गैरकानुनी भेला रोक्ने वा भंग गर्ने आदेश उल्लंघन गर्नु, सार्वजनिक शान्ति खलल पार्ने काम गर्नु, राष्ट्रसेवकलाई बाधा विरोध गर्नु, सार्वजनिक स्थानमा आवागमनमा बाधा पु-याउनु, कफ्र्यु उल्लंघन गर्नु, झुठा अफवाह फैलाउनु, हुलदंगा गर्नु, सार्वजनिक सेवा अवरुद्ध गर्नु, संवेदनशील सार्वजनिक क्षेत्रमा मसाल जुलुस गर्नु, आवश्यक वस्तु तोडफोड गर्नु, झुठा अफवाह फैलाउनु मुलुकी फौजदारी संहिता, २०७४ को परिच्छेद २ अनुसार सार्वजनिक शान्ति विरुद्धका कसुरहरु हुन्। कसैले यस्तो कसुर गरेमा कसुर गर्ने व्यक्ति सजायको हकदार हुन्छ।

संविधानअनुसार प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रा भए तापनि कानुनले कसैलाई पनि गैरकानुनी भेला गर्न वा कसुर गर्न स्वतन्त्रता दिएको छैन। आफ्नो विचार राख्न पाउने अधिकार र अधिकारका लागि गैरकानुनी कदम उठाउनु विल्कुलै अलग–अलग कुरा हुन्। कानुनले  गैरकानुनी कार्यलाई कहिल्यै पनि प्रोत्साहन गर्दैन। कानुनले सार्वजनिक शान्ति खलल गर्ने काम निषेध गरेको छ, गैरकानुनी भेला शान्ति भंग हुने सम्भावनासँग सम्बन्घित हुन्छ त्यसैले उक्त काम गैरकानुनी हुन्छ।

दफा ६० को उपदफा २ अनुसार बलको प्रयोग गरी वा प्रदर्शन गरी वा हातहतियार प्रदर्शन गरी राष्ट्रसेवकलाई कानुनले तोकेको काम गर्न वा कर्तव्य पालना गर्न नदिनका लागि, कसैको सम्पत्ति लिनु वा कब्जा गर्नका लागि कसैलाई बाटो, पानी, सार्वजनिक यातायात वा सञ्चार वा अन्य यस्तै कुनै कुरा उपभोग गर्ने हकबाट वञ्चित गर्नका लागि, कुनै व्यक्तिलाई कानुनले गर्न नहुने काम गर्न लगाउनु वा कानुनले गर्न पाउने काम गर्न नदिनका लागि पाँचजना वा पाँचजनाभन्दा बढी व्यक्तिहरुको भेलालाई गैरकानुनी भेला मानिन्छ ।

सार्वजनिक शान्ति विरुद्धका काम गर्न मात्र हैन अरुलाई गर्नका लागि दुरुत्साहन गरेमा मात्र पनि सजायको भागिदार भइन्छ। स्वयं गैरकानुनी भेलामा उपस्थित हुनु वा आफू सहभागी नभई कसैलाई ज्याला दिई वा अरु किसिमले प्रलोभन वा दबाबमा पारी कसैले कसैलाई गैरकानुनी भेलामा सामेल गराएमा निज स्वयं भेलामा सरिक भएको मानी सजाय दिइन्छ।

कसैले हुलदंगा गरेमा हतियारविना हुलदंगा गरेको भए एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना हुन्छ र हतियारसहित गरेको भए दुई वर्षसम्म कैद र बीस हजार जरिवाना हुन्छ। अन्याय नै भएको छ भने पनि न्याय खोज्नका लागि गलत बाटो रोज्नु हुँदैन। अपराध असल नियतले नै गरेको भए तापनि अपराध नै हुन्छ।

Leave A Comment