आदर्श प्रेमिकाको खोजी

मङ्गलबार, १० मङि्सर २०७६, ०१ : ४६ प्रकाश जंग थापा
आदर्श प्रेमिकाको खोजी

अधिकांश पुरुषले एक आदर्श प्रेमिकाको सपना देखेको हुन्छ। आफ्नी प्रेमिका विशेष होस् भन्ने चाहना राखेको हुन्छ। यति मात्र होइन, प्रेमिकामा हुनुपर्ने निश्चित विशेषता पनि सूचीकृत गरेको हुन्छ। सोही विशेषताले भरिपूर्ण महिलाको निरन्तर खोजीमा हुन्छ ऊ। यसका लागि विभिन्न माध्यम, मार्ग र विधिको उपयोग गर्न पछि पर्दैन। अनेकौँ कसरत गर्दा पनि उपयुक्त महिला भेटिने सुनिश्चितता भने हुँदैन। भाग्यवश भेटे पनि आकर्षित गर्न सक्दैन। प्रेमिका बनाउने कुरा त काल्पनिकतामा सीमित बन्न पुग्छ। केही गरी आकर्षित गर्न र प्रेमिका बनाउन सफल भए पनि त्यो सम्बन्ध दीर्घकालीन हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। विविध जटिलताहरूका कारण सम्बन्धमा पूर्णविराम लाग्छ। यो प्रेमिकाको सन्दर्भमा मात्र होइन, प्रेमीको सन्दर्भमा पनि उत्तिकै लागू हुन्छ। यसपछि सुरु हुन्छ, भूतपूर्व ब्वाइफ्रेन्ड, भूतपूर्व गर्लफ्रेन्डको सिलसिला। आखिर किन यस्तो हुन्छ ? यसको मुख्य जड भनेकै पुरुषले महिला र महिलाले पुरुषलाई बुझ्न नसक्नु हो। अर्थात्, महिलाहरु विशेषतः के कुरामा आकर्षित हुन्छन्, पुरुषबाट के अपेक्षा राखेका हुन्छन् सो बुझ्न असक्षम हुनु हो।

प्रेमिका नभेटिनुका कारण
प्रेम सम्बन्धको सुरुवाती बिन्दु आकर्षण हो। महिलालाई आफूतर्फ खिच्न वा आकर्षित गर्न नसक्ने पुरुष सधैँ एकल हुन्छ। कतिपय अवस्थामा एकतर्फी प्रेमको सिकार पनि बन्छ। सामान्यतः आफूले सोचेजस्तो, खोजेजस्तो प्रेमिका बनाउन नसक्नु अथवा भेट्न नसक्नुका निम्न कारणहरू छन्ः
–सम्बन्धमा रहन मरिहत्ते गर्नुः मित्रता, शारीरिक निकटता र यौनको भोका पुरुषप्रति महिला आकर्षित हुनै सक्दैनन्। यस्ता पुरुष देख्नेबित्तिकै महिलाहरुको मुड अफ हुने गर्छ।

–बाहिर हिँडडुल नगर्नु, यात्रा नगर्नुः घरमै बसेर टेलिभिजन हेरेर, इन्टरनेट चलाएर समय बिताउँदैमा प्रेमिका भेटिँदैनन्। सामाजिक सञ्जालमा सक्रिय रहेको देखिन्छ तर पनि प्रेम सक्रिय हुँदैन। फेसबुक, इन्स्टाग्राम, ट्वीटर लगायत सामाजिक सञ्जालमा जति नै महिलासँग जोडिए पनि प्रेमिका नहुने संभावना उच्च रहन्छ।

–प्रस्ताव नगर्नुः कहिलेकाहीँ सपिङ सेन्टर, फिल्म हल, बाटोमा आकर्षक महिला देखिन्छन्। यद्यपि पुरुषहरु सभ्य रुपमा एप्रोच गर्न सक्दैनन्। चिनजान भएको भए पनि प्रस्ताव राख्न जान्दैनन्। आत्मविश्वास साथ संवाद अगाडि बढाउने हिम्मत गर्दैनन्।

–सशक्त संवाद गर्न नजान्नुः प्रायः पुरुषलाई संवाद गर्नै आउँदैन। महिलाले संवाद गर्न चाहेको विषय एउटा हुन्छ तर पुरुष अर्कै विषयमा संवाद गर्छन्। यसरी बुझौँ न, डान्सबारमा भेटेको महिलासँग व्यक्तित्व विकास, सफलता जस्तो विषयमा संवाद गरियो भने के होला ? स्वभाविक रुपमा महिला तपाईँप्रति आकर्षित हुन सक्दैनन्।

–कामुक रहन नसक्नुः महिलाहरु भावनात्मक हुन्छन्। उनीहरुमा शब्दसँग खेल्न सक्ने क्षमता अत्यधिक हुन्छ। बोलीचालीमा कामुकता चाहन्छन्। कामुक संवाद गर्न नजान्ने पुरुष महिलाको साथीको रुपमा सीमित हुन पुग्छन्।

–प्रभावित गर्न नसक्नुः चलचित्र हेर्न जाँदैमा, किनमेलको लागि महिलासँग सपिङ मल धाउँदैमा, महँगो क्याफेमा खाना खुवाउँदैमा महिलाहरु प्रभावित हुन्छन् भन्ने सोच्नु मुर्खता हो। महिलासँग रहँदा, हिँड्दा हात समातेर हिँड्न सक्नुपर्छ। जुन पुरुष महिलालाई मलमा हात समातेर कफी पसलमा लैजान सक्षम हुन्छ, उसले प्राइभेट कोठामा पनि सजिलै लान सक्छ। अन्ततः आफ्नो प्रेमिका बनाउन सक्छ। भन्नुको अर्थ शारीरिक स्पर्श दिन जान्ने पुरुष प्रेमिकाविहीन रहनु पर्दैन।

–सामाजिक सञ्जालमा बातचित गर्न नजान्नुः धैरै पुरुष लाई कसरी च्याट गर्ने भन्ने सामान्यज्ञान समेत हुँदैन। उनीहरु हाइहेल्लो भन्दा पर जानै सक्दैनन्। फलस्वरुप उनीहरुले महिलाबाट धन्यवाद र टाटा बाइबाइ पाउँछन्।

महिलाहरु के चाहन्छन् ?
महिलाहरु भावनात्मक हुन्छन् भने पुरुषहरु तर्क मन पराउने हुन्छन्। त्यसैले महिलाको भावना बुझ्न सक्नुपर्छ। भावनात्मक रुपमा सक्रियता बढाउन सक्नुपर्छ। तर्क गरेर महिलाको मन जित्न सकिँदैन। मुख्यतः महिलाहरु आकर्षक शारीरिक बनावट भएको, सामाजमा प्रतिष्ठित, आर्थिक सुरक्षा दिन सक्ने, विश्वसनीय, आत्मविश्वासी, हास्यपूर्ण, निर्लिप्त तथा शारीरिक सम्पर्कमा महारत प्राप्त पुरुषतर्फ आकर्षित हुन्छन्। यी सम्पूर्ण विशेषताहरु पुरुषमा नहुन सक्छ। यी यावत् विशेषताहरूमध्ये कुन विशेषताप्रति महिला बढी आकर्षित हुन्छन्, त्यो बुझ्न सक्नुपर्छ। अर्को शब्दमा भन्नुपर्दा महिलाहरु के चाहन्छन् त्यो जान्न सक्नुपर्छ। आकर्षक शारीरिक बनावट, सामाजिक प्रतिष्ठा, आर्थिक सुरक्षा र विश्वसनीयता भएको व्यक्तिप्रति महिलाहरु आकर्षित हुन्छन् र प्रेमिका बनाउन सकिन्छ भन्नेमा आम पुरुषको धारणा हुन्छ। यसमा सतप्रतिशत सत्यता छैन। यी विशेषताहरूले महिलामा न्यून भावनात्मक सक्रियता बढाउने गर्छ, जसकारण सम्बन्ध प्रभावकारी हुन सक्दैन। महिलाहरु भावनात्मक सक्रियता उच्च राख्ने निम्न आवश्यकताहरुको सुनिश्चितता चाहन्छन्।

(क) आत्मविश्वासः हरेक महिला आफ्नो पुरुष साथी आत्मविश्वासी होस् भन्ने चाहन्छन्। आत्मविश्वासी पुरुषको सामीप्यमा सजिलै आकर्षित हुन्छन्। बोल्न डराउने, आफ्नो कुरा स्पष्ट रुपमा राख्न नसक्ने, लजाउने पुरुष कुनै पनि महिलाको निमित्त आकर्षक साबित हुन सक्दैनन्। त्यसैले महिलाको अगाडि आत्मविश्वासी हुनोस्। मनको कुरा निडर, निर्लज्ज र प्रस्ट रुपमा भन्न हिम्मत गर्नोस्।

(ख) हास्यः महिलाहरू भावनात्मक सम्बन्ध जोड्न चाहन्छन्। मनले खाएको पुरुष सँगसँगै हाँस्न, मुस्कुराउन मन पराउँछन्। जोक्सहरु भनेर सहजै हँसाउन सक्ने, अनुहारमा खुसी ल्याउन सक्ने पुरुषतर्फ महिलाहरु नजिक हुन समय लगाउँदैनन्। त्यसैले महिलाहरु सामु रहँदा, अन्तरक्रिया गर्ने अवसर पाउँदा अरुभन्दा अलग रहने कोसिस गर्नोस्। सकेसम्म हास्यपूर्ण बन्नुस्। वातावरण नै रसिक बनाउन तत्पर रहनुस्। तपाईँ भेटमा जति धेरै हास्यरस थप्न सक्नुहुन्छ, महिलाहरु तपाईँलाई त्यति धेरै प्रेम गर्न थाल्छन्।

(ग) निर्लिप्तताः महिलातर्फ निर्लिप्त हुनुको अर्थ महिलालाई बेवास्ता गर्नु होइन। महिलाको ख्याल राख्ने क्रममा, प्रेमभाव व्यक्त गर्ने क्रममा आशक्ति राख्नु भएन भन्ने हो। मित्रता, शारीरिक घनिष्ठता, आत्मीयता आदिका लागि मरिहत्ते गर्नु भएन भन्ने हो। उपलब्धि, सफलता केन्द्रित पुरुषतर्फ जो कोही महिला आकर्षित हुन्छन्। त्यसकारण महिलालाई प्राथमिकतामा राख्न छाडेर आफ्नो जीवन उद्देश्यलाई प्राथमिकतामा राख्नोस्।

(घ) शिष्टताः महिलाले पुरुषमा शिष्टता, शालिनता हेरेका हुन्छन्। पुरुष कत्तिको रोमान्टिक छ, त्यो हेरेका हुन्छन्। चुनौतीपूर्ण परिस्थितिको सामना कसरी गर्छ र आवश्यक परेको खण्डमा चुनौती मोल्छ कि पछि हट्छ, त्यो पनि हेरेका हुन्छन्। त्यसैले जस्तोसुकै अनुकूल परिस्थितिमा पनि धैर्यवान् रहनुस्। शिष्टता हरदम कायम राख्नोस्।

(ङ) आत्मिय एवं स्वर्गीय अनुभूति दिलाउने यौनः महिलाहरु यौन निकै रुचाउँछन् तर स्वीकार गर्न भने हिच्किचाउने गर्छन्। जुन पुरुषले यौन सम्पर्क दौरान महिलालाई चरमोत्कर्षमा लान सक्छ, सन्तुष्ट पार्न सक्छ, उसको प्रेम सम्बन्धमा धेरै उतारचढाव आउँदैन। सम्बन्धमा उत्पन्न हुने समस्याको प्रमुख कारण प्राइभेट कोठा हो। त्यसैले समाधान पनि उही प्राइभेट कोठामा खोज्न सक्नुपर्छ। यौन एक कला हो। यसमा विविधता र कलात्मकतालाई विशेष जोड दिनुपर्छ। महिला मनोविज्ञान केलाउन सक्नुपर्छ। बेडमा वाइल्ड हुन सक्नुपर्छ। यौन पार्टनरले के सोच्यो होला भनेर डराउनु हुँदै हुँदैन। शारीरिक सन्तुष्टि दिन नसक्ने पुरुषलाई कुनै पनि बेला महिलाले छोड्न सक्छिन्। यसर्थ यौन मामिलामा महारत प्राप्त गर्नु पनि अत्यन्त जरुरी छ।

Leave A Comment