घाँटीको क्लिनिकल योगाभ्यास

बुधबार, ११ मङि्सर २०७६, १० : ३६ शुक्रवार
घाँटीको क्लिनिकल योगाभ्यास

डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

शरीरको सबैभन्दा माथिल्लो भाग शिर अर्थात् टाउको अड्याउने भाग घाँटी हो। सानो आकारको घाँटीले टाउको अड्याउनका लागि यो भाग लचिलो तथा मजबुत हुन आवश्यक छ। घाँटीमा धेरै नसा हुन्छन्, जसमध्ये मस्तिष्क, कान, आँखा, मुखसँगसम्बन्धित नसा अत्यन्तै संवेदनशील हुन्छन्। यी नसामा समस्या भएको खण्डमा सबैभन्दा बढी भार घाँटीमै पर्छ। घाँटीको काम संवेदनशील भएकाले यसलाई मजबुत बनाउन व्यायाम र आराम अवस्य आवश्यक हुन्छ।

दैनिक चार घण्टामा एक पटक १० मिनेट घाँटीको अवस्थाले प्रक्रियागतरुपमा हल्का परिवर्तन गर्नु आवश्यक हुन्छ। काम तथा आफ्नो व्यवसायअनुसार व्यक्तिले कुनै न कुनै रुपमा घाँटी चलाइरहेको हुन्छ। जसले घाँटीको नसामा लचकता ल्याउँछ।

व्यवस्थितरुपमा घाँटी नचलाएको अवस्थामा भने घाँटीका नसा निस्क्रिय हुन पुग्छन्। यस्तो अवस्थामा घाँटी स्थिर हुन्छ। जसले घाँटी अररिनेलगायतका समस्या उत्पन्न हुन सक्छन्। व्यायामको अभावमा घाँटीका नसा तथा मांशपेशी तन्किने, सुन्निनेजस्ता समस्या भई तनाव उत्पन्न भएर नसा चलायमान नहुँदा दुख्ने तथा सुन्निने जोखिम हुन्छ। घाँटीको यस्तो समस्याले घाँटी अररिन्छ।

कतिपय अवस्थामा अनावश्यकरुपमा घाँटी झड्काउँदा, पड्काउँदा तथा मर्काउँदा नसामा तनाव भई घाँटी अररिन पुग्छ। घाँटी अररिएको अवस्थामा तनाव उत्पन्न हुने तथा दुख्ने भएकाले मालिस नगर्नु नै उचित हुन्छ।

कपाल काट्ने क्रममा मालिस गर्दा समेत मुन्टो एक्कासि पड्काउँदा नसामा अनावश्यक दबाब परी नसा सड्किएर मुन्टो अररिएर घाँटीमा समस्या उत्पन्न हुने जोखिम हुन्छ। त्यसैले एक्कासि मुन्टो सड्काउने तथा पड्काउने गर्नु हुन्न।

घाँटी लचिलो तथा मजबुत बनाउने विभिन्न उपाय छन्। अब चर्चा गरौँ घाँटी लचिलो तथा मजबुत बनाउने ‘क्लिनिकल योगाभ्यास’का बारेमा।

पहिलो चरण
घाँटी मजबुत बनाउने ‘क्लिनिकल योगाभ्यास’को पहिलो चरणमा उठेर वा बसेर घाँटी सिधा बनाउनु पर्छ। त्यसपछि हल्कागरी घाँटीलाई दायाँबाट बाँयातर्फ घुमाएर पुनः बायाँबाट दायाँतर्फ लैजानुपर्छ। यो प्रक्रिया करिब १० मिनेट गर्नु उचित हुन्छ। यसरी दायाँबायाँ गरी गरिने व्यायामले घाँटीका नसा तथा मांशपेशी शूक्ष्मरुपमा चलायमान हुन पाउँछन्। यस्तो किसिमको योगाभ्यास घाँटीको व्यायामको पहिलो चरणको आमअप हो। यसरी घाँटी घुमाएर यसका नसा तन्याक तुनुक नगर्ने हो भने व्यायाम गर्दा सड्किने जोखिम हुन्छ।

दोस्रो चरण
घाँटीको दोस्रो चरणको व्यायाममा प्रवेश गर्दा पहिलो चरणको अवस्थाकै (उठेर वा बसेर) आसनमा बस्न सकिन्छ। त्यसपछि घाँटीलाई सिधा ठाडो गरी स्थिर आसनमा राखिन्छ। स्थिर आसनमा राखेपछि बिस्तारै टाउको अगाडि छातितर्फ लगिन्छ। टाउको निहुराएर छातिमा छुँदै पछाडि लगिन्छ। पछाडि पिठ्यूँतर्फ टाउकाले छुने प्रयास गरिन्छ। करिब १० पटक टाउको अगाडि–पछाडि गर्नु उचित हुन्छ। यसरी टाउको अगाडि र पछाडि गर्दा घाँटीका नसा तन्कने र खुम्चने प्रक्रिया हुने भएकाले घाँटीका नसा तथा मांशपेशी लचिलो भई मजबुत हुन सहयोग पुग्छ। घिचुकमा मेरुदण्ड र टाउकोबाट आएका जोर्नीमा गोलो किसिमको हड्डी हुन्छ। यो किसिमको व्यायामले जोर्नीको हड्डी मांशपेशी र जोर्नीका नसा लचिलो भई सामान्य किसिमले झड्कार्दासमेत खुस्किने समस्याबाट बच्न सकिन्छ।

तेस्रो चरण
तेस्रो चरणको योगाभ्यास व्यायाममा टाउको लच्काउँदै कान र टाउकाले दुवैतर्फका कुमलाई छुनुपर्छ। यो प्रक्रिया दायाँबायाँ दुवैतर्फ करिव १०/१० पटक गर्नु उचित हुन्छ। यस किसिमको व्यायाममा कानले कुममा छुन सकिँदैन भने यस्तो अवस्था घाँटीमा समस्याको संकेत हो। यसरी दायाँबायाँ टाउको गरी व्यायाम गर्दा घाँटीका दायाँबायाँका नसा तथा मांशपेशी खुम्चने र तन्कने प्रक्रिया हुन्छ। जसले घाँटीको दुवैतर्फको मांशपेशी तथा नसा लचिलो भई सन्तुलितरुपमा रहन सहयोग पुग्छ। फलतः विशेषगरी घाँटीको दायाँबायाँको नसा तथा मांशपेशीमा समस्या निम्तिने जोखिम कम हुन्छ।
अब चौथो चरणको ‘क्लिनिकल योगाभ्यास’ गर्ने टेक्निकको चर्चा गरौँ न त।

चौथो चरण
यो चरणको व्यायाम गर्दा सुरुमा दायाँ हातको पञ्जा कानको छेउमा गालामा राखी टाउको अड्याउनु पर्छ। टाउकाले भने अड्याउने हातलाई ठेल्नु पर्छ। त्यसपछि बायाँ हातका पञ्जा गालामा राखी दायाँ हातले अड्याएजस्तै गरी टाउको अड्याएर टाउकाले  ठेल्नुपर्छ। यसरी पालैपालो ५/५ पटक गालामा हात राखेर घाँटी अड्याउँदै ठेल्ने व्यायाम गर्नु उचित हुन्छ। यसरी हातले ठेल्दै टाउकाले अड्याउने किसिमको व्यायाम गर्नाले घाँटीको लचिलो भएका मांशपेशी तथा नसा खँदिलो र मजबुत हुन पुग्छन्। जसले घाँटी मजबुत हुन सहयोग पुग्छ।

पाँचौँ चरण
यो चरणमा दुवै हातका औँला एक आपसमा कापमा राखेर औँलाले च्यापि दुवै हात टाउको पछाडि राखिन्छ। औँलाले टाउकोलाई पछाडिबाट अड्याइन्छ। टाउको भने पछाडितिर ठेलिन्छ। यस किसिमको व्यायामलाई आत्मसमर्पण योगासनको रुपमा समेत चिनिन्छ। यस्तो व्यायामले टाउकाको पछाडिको भाग र घाँटीको मांशपेशी मजबुत हुन सहयोग पुग्छ। अगाडिको घाँटीको भाग लचिलो हुन्छ।

त्यसैगरी यही चरणमै अगाडि निधारमा दुवै हातका औँला एक आपसमा कापमा राखी निधार थेगिन्छ। निधारले भने अगाडीतर्फ ठेलिन्छ। यस्तो व्यायामले विशेषगरी घाँटी र टाउकाको अगाडिको भागमा दबाब परी  घाँटीको अगाडिको भागको मांशपेशी तथा नसा मजबुत हुन सहयोग पुग्छ।

मालिस र पोषण
व्यायम गरिसकेपछि मालिस गर्दा राम्रो। व्यायाम गरिसकेपछि मात्रै हैन हप्तामा एक पटक हर्वल क्रिम वा तेलले सुतेर हल्का किसिमले घाँटीको मालिस गर्नु उचित हुन्छ।
व्यायाम मात्रै हैन घाँटीलाई स्वस्थ तथा मजबुत राख्नका लागि सन्तुलित पोषणको त्यत्तिकै आवश्यक हुन्छ। घाँटिका लागि विभिन्न किसिमका पोषणका वैकल्पिक खाद्यवस्तुसमेत पाइन्छ। जुन पोषणविद् तथा चिकित्सकको सल्लाहमा खानु उचित हुन्छ।

फाइदा
घाँटीका यस्ता व्यायाम दैनिक करिब १० मिनेट गर्नाले रक्तसञ्चारमा त सहजता हुने नै भयो। मस्तिष्कसमेत स्वस्थ भई व्यक्तिको तिक्ष्ण क्षमताको विकास हुन सहयोग पुग्छ। घाँटी फर्किने, मर्किने, सड्किनेजस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ। व्यायामले घाँटीमा आउन सक्ने गिर्खा, घाउ–खटिरा, टन्सिल, गलगाँड, हार्मोन तथा थाइरोइडसम्बन्धी समस्याबाट बच्न सकिन्छ।
सामान्यतः सबै उमेर समूहका व्यक्तिले यस्तो योगाभ्यास गर्न सकिने भए पनि विशेषगरी वयस्क उमेर समूहका व्यक्तिलाई यस किसिमको व्यायाम आवश्यक र फलदायी हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment