ज्यानै लिने निमोनिया

बिहिबार, १२ मङि्सर २०७६, १० : ५७ उपेन्द्र खड्का
ज्यानै लिने निमोनिया

विश्व स्वास्थ्य संगठन भन्छ, सन् २०१७ मा पाँच वर्षमुनिका १५ प्रतिशत बालबालिकाको मृत्युको कारण निमोनिया हुने गर्छ। आठ लाख आठ हजार छ सय बालबालिका र वयस्कसमेत २०१७ मा निमोनियाको घानमा परे।

नेपालमा वार्षिक निमोनियाका कारण कतिको ज्यान जान्छ, ठ्याक्कै तथ्याङ्क भेटिँदैन तर निमोनियाको संक्रमणले प्रभावित र मृत्यु हुनेको संख्या कम भने छैन। त्यसैले निमोनियालाई हेलचेक्र्याइँ गर्न नहुने चिकित्सकहरु सजग गराउँछन्।

विभिन्न किसिमका ब्याक्टेरिया तथा भाइरसको संक्रमणका कारण फोक्सोमा इन्फेक्सन भई निमोनिया हुने गर्छ। निमोनियामा फोक्सोका कोषिका सुन्निएर श्वासप्रश्वासमा समस्या उत्पन्न हुन्छ। अवस्था जटिल बन्दै गए ज्यानसमेत जानसक्ने वीर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. ध्रुव गैरे सजग गराउँछन्।

जोखिमयुक्त समूह
बालबालिका, पाको उमेरका व्यक्ति तथा दीर्घरोगी निमोनियाको जोखिममा हुन्छन्। डा. गैरे भन्छन्, ‘साना बालबालिका, मृगौलाको समस्या भएका व्यक्ति, रक्त क्यान्सरग्रस्त व्यक्ति, दमको बिरामी, मुटुको रोग भएका बिरामीलाई पटक–पटक निमोनियाले आक्रमण गर्ने सम्भावना हुन्छ।’

गर्भवती त झन् सजग हुनुपर्छ। प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सभाना प्रधान शर्मा सामान्य व्यक्तिको तुलनामा गर्भवती महिलालाई निमोनियाको बढी जोखिम हुने भएकाले विशेष सावधानी अपनाउन डा. शर्मा सुझाउँछिन्।

‘गर्भवती भएको अवस्थामा महिलाको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ,’ डा. शर्माले भनिन्, ‘गर्भको भ्रूण बढ्दै जाँदा आमाको फोक्सोको फैलावट केही साँघुरो भई श्वास–प्रश्वासमा बाधा पर्दा संक्रमणको बढी जोखिम हुन्छ।’ गर्भवती महिलामा निमोनियाको जटिलतासमेत छिटो बढ्छ। जथाभावी औषधी सेवन गर्दा आमा र गर्भको भ्रूणलाई जोखिम हुने भएकाले दक्ष चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने डा. शर्माको सुझाव छ।

विशेषगरी ७० वर्ष नाघेका व्यक्तिहरुमा मृत्युको प्रमुख कारणमध्ये निमोनिया एक हो। बालबालिका, पाको उमेर समूहका व्यक्ति र दीर्घरोगीमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएका मात्र होइन, एचआइभी संक्रमित रोगी, कुपोषणजस्ता समस्यामा परेका व्यक्तिमा निमोनियाको जोखिम हुन्छ। धूमपान, मद्यपान तथा लागु पदार्थ सेवन गर्ने व्यक्तिलाई निमोनियाले पनि उत्तिकै सताउने र जोखिम हुने फिजिसियन डा. देवराज घिमिरेले
बताए। डा. घिमिरेले भने, ‘रक्सी पिएर सुत्दा पेट तथा मुखबाट निस्कने संक्रमणले निमोनिया हुनसक्छ।’

निमोनिया विरुद्धको खोप नलगाएका व्यक्तिमा बढी जोखिम हुन्छ। डा. घिमिरेले सानो उमेरमा निमोनिया भएका बालबालिकामा फोक्सोमा दाग देखिने भए पनि पुन नबल्झिने प्रस्ट पारे।

दुई कारण
निमोनिया हुने विभिन्न कारण हुन्छन्। निमोनिया हुने मूल कारणमा भाइरस, ब्याक्टेरिया तथा फंगी हो। स्टेप्टोफोकस निमोनिया, माइक्लोप्लाजा निमोनियाजस्ता भाइरसका कारण निमोनियाको खतरा हुन्छ।

प्रदुषण तथा फोहोरले ब्याक्टेरिया तथा भाइरसका कारण निमोनियाको जोखिम हुन्छ। बढी भिडभाडमा जाने, शारीरिक शक्ति कम हुने, बर्डफ्लु, स्वाइनफ्लुजस्ता सिजनल फ्लुका कारण फोक्सोमा संक्रमण भई निमोनिया हुन सक्ने चिकित्सक सजग गराउँछन्। यसरी अस्पतालबाहिर हुने निमोनियालाई चिकित्सकीय भाषामा ‘कम्युनिटी अक्वायर्ड निमोनिया’ भनिन्छ। वाह्य वातावरणबाट कुनै ब्याक्टेरियाका संक्रमण फोक्सोसम्म पुग्दा निमोनियाको जोखिम हुन्छ।

निमोनियाले बर्सेनि कैयौँ व्यक्तिको ज्यान लिए पनि र सरुवा रोगमध्येको जोखिमपूर्ण रोगका रुपमा लिइए पनि सर्वसाधारणको हेलचेक्र्याइँ जारी छ।

त्यसैगरी शरीरमा हुने किटाणुका कारण पनि निमोनिया हुन सक्छ। व्यक्तिलाई टाइफाइड भएको अवस्थामा टाइफाइडको किटाणु शरीरमा घुम्दै जान्छन्। त्यसले निमोनियाको ब्याक्टेरिया निकाली फोक्सोमा संक्रमण गराउँदा निमोनिया हुन्छ।

अर्कोतर्फ, कुनै रोग तथा स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका बिरामीसमेत संक्रमण भई निमोनिया हुन सक्छ। अस्पतालमा भर्ना भएपछि हुने निमोनियालाई ‘हस्पिटल अक्वायर्ड निमोनिया’ भनिन्छ। यस्तो निमोनिया सामान्यतः अस्पताल भर्ना भएको ४८ घण्टामा हुन्छ।

अस्पतालमा विभिन्न किसिमका रोग लागेका बिरामी हुने भएकाले अस्पताल क्षेत्रमा जीवाणुका कारण संक्रमणको जोखिम बढी हुन्छ। अस्पतालमा भएका किटाणु हात, कुनै वस्तुबाट लगायतबाट अर्को व्यक्तिमा सर्न सक्छ।

फिजिसियन डा. गैरेले भने, ‘व्यक्ति एक किसिमको रोगको समस्या लिएर अस्पताल भर्ना भएको हुन्छ तर अस्पताल बस्दाबस्दै निमोनियाको संक्रमण हुनसक्छ।’ त्यसैले अस्पतालमा लामो समय नबस्न चिकित्सकको सुझाव छ। कोही बिरामी भेट्न जाँदासमेत अस्पतालमा बालबालिकालाई नलान चिकित्सकले सुझाव दिन्छन्।

रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा दीर्घरोगीमा यो समस्याको जोखिम हुन्छ। मधुमेही, अंग प्रत्यारोपण गरिएका व्यक्ति, क्यान्सरजस्ता समस्या भएका बिरामीलाई चाँडै निमोनिया हुने जोखिम हुन्छ। अत्यधिक मात्रामा धूमपान–मद्यपान गर्ने व्यक्तिलाई पनि निमोनिया हुन सक्छ।

यस्तो लक्षण देखिए सजग
व्यक्तिको उमेर, रोग प्रतिरोधात्मक क्षमता तथा निमोनिया गराउने संक्रमणको असरअनुसार यसका लक्षण फरक हुन सक्छन्।  निमोनियाका कारण जाडो हुने, छाति दुख्ने, खकारमा रगत आउने, शरीर तथा टाउको दुख्नेजस्ता लक्षण देखिने डा. घिमिरे बताउँछन्।

निमोनियाले फोक्सोका रक्तसञ्चार कोषिका मात्रै क्षति गर्दैन, हावा प्रशोधन गर्ने फोक्सोमा नै क्षति गराउँछ। यसले घाउ बनाउँछ। घाउ बढ्दै जाँदा फोक्सो नै क्षति भएर खकारमा पिपसमेत देखा पर्न सक्छ। गन्हाउने किसिमको खकार आउनु फोक्सो कुहेको संकेत हो। वान्ता गर्दा रगतसमेत आउन सक्छ। घाउ बढ्दै जाँदा फोक्सोमा खाल्डो बन्छ। घाउ बढ्दै जाँदा फोक्सोले काम गर्न छाड्दै जान्छ। शरीरमा अक्सिजनको मात्रा अपुग हुँदै जाँदा व्यक्तिको ज्यानै जानेसम्मको जोखिम हुने चिकित्सक बताउँछन्। निमोनिया फैलिएर यसका किटाणुले फोक्सो नै सेतो हुन्छ। यस्तो अवस्थामा श्वास–प्रश्वासमा अवरोध भई व्यक्तिको मृत्यु हुन सक्छ।

फोक्सोमा मात्रै यसले गर्दैन। निमोनियाले जटिल रुप लिँदै जाँदा संक्रमण रगतमा घुलेर मस्तिष्कलगायत शरीरका अंगमा इन्फेक्सन फैलिने डर पनि उत्तिकै हुन्छ। ‘शरीरभरि इन्फेक्सन फैलिएर मुटु, मृगौला, मस्तिष्क लगायतका शरीरका अंगले काम गर्न छोड्दा व्यक्तिको ज्यान जान सक्छ,’ डा. गैरेले भने, ‘कहिलेकाहीँ त बिरामीको मानसिक सन्तुलनै बिग्रन पनि सक्छ।’

मौसम परिवर्तन हुँदा जोखिम
बाह्रै महिना निमोनिया संक्रमणको जोखिम हुने भए पनि जाडो मौसममा भाइरल निमोनियाको जोखिम बढी हुने चिकित्सकहरु बताउँछन्। एक किसिमको मौसमबाट अर्को मौसम परिवर्तन हुने समयमा निमोनिया हुने सम्भावना बढी नै हुन्छ। ‘मौसम परिवर्तन हुने समयमा भाइरस बढी एक्टिभ हुन्छ,’ डा. गैरेले भने, ‘तर यस्तो समयमा शरीरले रोगसँग लड्ने क्षमताका लागि तयारी गरेको हुँदैन।’

जाडो मौसममा बालबालिका तथा दमजस्तो समस्या भएका व्यक्तिलाई निमोनिया बढी हुन सक्छ। चिसो वातावरणका कारण भाइरस बढी सक्रिय हुने भएकाले व्यक्ति चिसोबाट बच्नुपर्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार जोडोको सुरुवात र मनसुनको सुरुवातमा निमोनियाको जोखिम बढी हुन्छ। कात्तिकदेखि माघ महिनासम्म र जेठ–असार महिनामा फ्लुको सक्रियता बढी हुने भएकाले यस्तो मौसममा संक्रमणको भई निमोनिया हुने जोखिम हुन्छ। त्यसैले यस्तो मौसममा सजग हुन डा. पुनको सुझाव छ।

त्यसो त डा. घिमिरे पनि जाडो मौसममा वाह्य वातावरण तथा हावाका कणमा भाइरस ब्याक्टेरिया हुन सक्ने भएकाले यो मौसममा निमोनियाको जोखिम हुने बताउँछन्।

फोक्सो खत्तम
शरीरमा दायाँबायाँ एक जोडी फोक्सो हुन्छ। निमोनियाका विभिन्न अवस्था हुन्छन्। फोक्सोको एक भागमा हुने निमोनियालाई ‘लोबार निमोनिया’ भनिन्छ। दुवैतर्फ हुने निमोनियालाई ‘बाइलेट्रल निमोनिया’ भनिन्छ।

विशेषगरी बिरामी भएर अचेत भएको अवस्था र बालबालिकाको पेटमा भएको खाद्यपदार्थ सर्किएर श्वासनलीमार्फत फोक्सोमा पुग्छ। पेटको खाद्यपदार्थ एसिड फोक्सोमा पुग्दा फोक्सोको कोषिकामा क्षति पुगी त्यसले व्यक्तिको ज्यान समेत लिन सक्छ। यस्तो किसिमको निमोनियालाई ‘एस्पिरेसन’ निमोनिया भनिन्छ। खानामा हुने रसायनका कारण खाना सकिँदा निमोनियाको जोखिम हुने चिकित्सक बताउँछन्।
त्यसैले खान खाँदा सर्किएको अवस्थामा कोल्टे पर्नुपर्ने चिकित्सक सुझाउँछन्।

खाना  सर्किएको अवस्थामा पानी झन् सर्किने भएकाले यस्तो अवस्थामा पानी पिउन नहुने चिकित्सक बताउँछन्।

बच्ने उपाय तथा उपचार
सबैभन्दा पहिलो कुरा त निमोनियाबाट बच्न प्रदुषणबाट जोगिनुपर्छ। दुर्गन्धित तथा भिडभाडमा जथाभाव हिँड्नु हुँदैन। प्रशस्त पानी पिउनाले शरीरबाट विकार तत्व जाने भएकाले निमोनियाको जोखिमबाट बच्न सकिन्छ।

निमोनिया विरुद्धको खोप लगाउँदा निमोनियाको संक्रमणबाट बच्न सकिने चिकित्सक बताउँछन्। डा. गैरेले भने, ‘बालबालिका र ५० नाघेका पाको उमेरका व्यक्ति, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिले निमोनिया विरुद्धको भ्याक्सिन लगाए निमोनिया हुनबाट बच्न सकिन्छ।’ कतिपय खोप एक पटक लगाएपछि वर्षौं लाउनुपर्दैन भने कतिपय प्रत्येक वर्ष लगाउनुपर्ने किसिमका हुन्छन्।

कुनै शारीरिक रोग भएका व्यक्तिले रोगको उपचार गरी निमोनियाको जोखिमबाट बच्न सकिन्छ। शरीरमा लागेको रोगले नै निमोनिया निकाल्न सक्ने भएकाले कुनै रोग लाग्नेबित्तिकै तुरुन्तै उपचार गर्न चिकित्सकको सुझाव छ। संक्रमणबाट बच्न अस्पतालमा बालबालिका लान नहुनेतर्फ चिकित्सक सजग गराउँछन्।

पोषिलो खानपान गर्नु पर्छ। बाक्लो दाल तथा सुप खानुपर्छ। चिसोबाट त बच्नै प(यो। यसको चिकित्सकीय उपचार गर्न सकिन्छ तर बेलैमा स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ। प्रशस्त पानी तथा झोलिलो, मोलिलो पेय तथा खाद्यपदार्थ खानाले शरीरमा पोषण तत्व पुग्नुका साथै शरीरबाट दिसा–पिसाबको माध्यमबाट विकार तत्व बाहिर जाने भएकाले निमोनियाको जोखिमबाट बच्न सकिन्छ। श्वास–प्रश्वासमा समस्या आएको खण्डमा स्वास्थ्य जाँच गराइहाल्नुपर्छ।

निमोनियाका कारण बिरामीले मानसिक रुपमा असन्तुलित बोल्ने, पिसाब कमजस्तो समस्या भए अस्पताल भर्ना गरी एन्टिबायोटिक औषधि दिएर उपचार गरिन्छ। निमोनियाको ब्याक्टेरिया तथा भाइरस मार्ने इन्जेक्सनसमेत दिइन्छ।
अस्पतालबाट समेत सर्न सक्ने भएकाले बिरामी भेट्नुअघि वा बिरामी हेरिसकेपछि राम्रोसँग हात धुनु पर्छ।

Leave A Comment