कमेडी च्याम्पियन्स

शनिबार, १४ मङि्सर २०७६, ११ : ४३ शुक्रवार
कमेडी च्याम्पियन्स

स्ट्यान्डप कमेडीको बढ्दो लोकप्रियतासँगै नेपालमा पनि कार्यक्रम शुरु भयो, ‘कमेडी च्याम्पियन’। कार्यक्रमका निर्णायक छन्, सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र फिल्म निर्देशक प्रदीप भट्टराई। कार्यक्रम घोषणा हुँदा नै भारतीय कार्यक्रम ‘कमेडी च्याम्पियन’को नक्कलको आरोप लागेको थियो। सोमबार पहिलो एपिसोड प्रशारण हुँदा कार्यक्रमको सेटअप, बाध्य शैली सबै प्रभावित देखियो।

देशैभरबाट छानिएका कमेडीयन प्रतिस्पर्धीहरुले सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डअप कमेडी भिडियो र विदेशबाट ५ मिनटको सम्पादन नभएको स्ट्यान्डअप कमेडी भिडियो आयोजकलाई पठाएका थिए। यिनै भिडियो हेरेर निर्णायकले ८४ जना प्रतिस्पर्धी चयन गरेको जजमध्येका एक सन्तोष पन्तले जानकारी दिए। कार्यक्रमको निर्माण केकी अधिकारी, राज घिमिरे र सृजा थपलियाले गरेका हुन्।

मनोजले आफ्नै पोल खोले
कार्यक्रमको सुरुवातमा कमेडी गर्दै स्टेजमा चढेका कोच मनोज गजुरेलले बाल्यकालको कुरा निकाल्दै आफ्ना सन्तानले बाबुको विवाह देख्ने सम्भावना बढेको बताए। उनले आफू कमेडियन बन्दा धेरैले बाउको बिहे देख्लास् भन्थे। तर आफ्नो बुबा आफू जन्मेको सालै खसेकाले कुनै हालतमा बाउको बिहे नदेख्ने भन्दै ‘बरु मेरो छोराछोरीले चाहिँ बाउको बिहे देख्लान्’ भने। उनी डिभोर्सी हुन्।

रीमाको व्यङ्य ऋचालाई
कार्यक्रम सञ्चालिका रीमा विश्वकर्माले फिल्म हिट हुँदा र नहुँदाका अनुभव ऋचा शर्मासँग रहेको भन्दै व्यंग्य गरिन्। आफू त फिल्ममा सधैँ फ्लप भएका कारण फ्लपको अनुभव रहेको बताइन्। ऋचालाई व्यंग्य गर्दै रीमाले भनिन्, ‘डरलाग्दो मुभी भनेर ऋचाले फिल्म बनाएकी थिइन्, दर्शक डराएर रातोपीरो हुँदै हलबाट निस्केलान् भनेको त हाँस्दै पो निस्किए !’

पहिलो एपिसोडमा धादिङका हिमेश पन्त, कैलाश कार्की, साजन श्रेष्ठले प्रस्तुति दिएका थिए। यी तीन जनामध्ये हिमेशको प्रस्तुति बलियो देखिएको थियो।

Leave A Comment