फुटबलमा डिस्को काण्ड : मस्तीले डुबायो करिअर

शनिबार, १४ मङि्सर २०७६, ०१ : ०० शुक्रवार
फुटबलमा डिस्को काण्ड : मस्तीले डुबायो करिअर

विश्वकप छनोटको खेल खेल्न भुटान जानुअगाडि नाइट क्लबमा मस्ती गर्दा कारबाहीमा परेका तीन खेलाडी आफ्नै देशमा आयोजित दक्षिण एसियाली खेलकुद प्रतियोगितासमेत गुमाएका छन्।

क्लोज क्याम्पमा रहेकाबेला सामान लिन घर जान्छु भनेर होटलबाट निस्किएर रातभर ठमेल क्षेत्रका लाउन्जमा मस्ती गरेका उनीहरुमाथिको कारबाही प्रक्रिया लम्ब्याउँदै उनीहरुलाई साग प्रतियोगिताको फुटबल टिमबाट बाहिर राखिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार विमल घर्ती मगर, मिडफिल्डर अन्जन बिष्ट र डिफेन्डर दिनेश राजवंशी सागमा खेल्ने नेपाली टोली बाहिरै राखिएको छ। सन्तोष तामाङ भने थप कारबाहीबाट जोगिए।

एन्फाले सो निर्णय अगाडि राष्ट्रिय खेलकुद परिषद्सँग छलफल गरेको थियो। छलफलमा राखेप सहमत भएपछि एन्फाले उनीहरुको ठाउँमा प्रिजेन तामाङ, राजिब लोप्चन र राजेश परियारले स्थान पाएका छन्।

अनुशासनात्मक कारबाहीमा परेका विमल र अञ्जन टिमका बलिया खेलाडी हुन्। यी दुवै टिममा नहुँदा नेपालको प्रदर्शन प्रभावित हुनसक्छ। तर कुबेतसँगको खेलका लागि भुटान जाने अघिल्लो रात नाइट क्लब जानु गम्भीर अनुशासन उल्लंघन थियो। यसलाई एन्फा र एएफसीले समेत गम्भीर रुपमा लिएको देखिन्छ।

जानकार स्रोतका अनुसार विमल र अञ्जन दुवै नाइट क्लब चहार्न र लफडा गर्न माहिर हुन्। यस अगाडि पनि उनीहरुले पटक–पटक अनुशासन उल्लंघन गर्दै आएका थिए। घरेलु प्रतिष्पर्धा अगाडिका उनका गतिविधिप्रति एन्फा अधिकारी नरम बन्दै आएका थिए।

तर विश्वकप छनोटजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु अगाडि गम्भीर गल्ती गर्दा एन्फासँगै फिफाले समेत चासो राखेपछि एन्फा अधिकारी यो पटक चाहेर पनि नरम हुन सकेनन्।

संकटमा करिअर
नेपाली राष्ट्रिय टिममा रहेर अब्बल प्रदर्शन गर्दै आएका तीनैजना खेलाडीको कारबाही लम्बिँदा उनीहरुको भविष्य संकटमा पर्ने देखिन्छ। एन्फा उनीहरुविरुद्ध जुन रुपमा प्रस्तुत भइरहेको छ यसले उनीहरुको संलग्नता नाइट क्लब गएर मदिरा सेवन गर्ने मात्र हैन कि भन्ने आशंका पनि बढाएको छ।

विश्वकप छनोटका यस अगाडिका खेलमा समेत मिलेमतो गरेको नेपाली राष्ट्रिय टोलीमाथि अभियोग लागेर अनुसन्धानसमेत भइसकेको विषय हो। सागर थापासहितका खेलाडीले खेल मिलेमतोको कानुनी डण्डा भोगिसकेका छन्। उनीहरुले राज्यविरुद्धको अभियोगबाट सफाइ पाए पनि त्यो बेला सार्वजनिक भएका तथ्यले केही खेलमा मिलोमतो भएको देखाएकै थियो।

विश्वकप छनोटमा पर्ने नेपालको सम्भावना झिनो भए पनि नेपालसँग प्रतिस्पर्धा गर्ने देशविरुद्ध नेपालको भूमिका छनोटमा महत्वपूर्ण हुन्छ नै। २०२२ को विश्वकपको दोस्रो चरणको छनोटमा नेपालले खेलेको केही खेल यस अगाडि पनि शंकामा परेको थियो।

कुवेतविरुद्धको ७–० को हार, अस्ट्रेलियासँग ५–० को हार र जोर्डनसँग ३–० को हारलाई फिफाले स्वाभाविक रुपमा लिएको थिएन।

अहिले यी तीन खेलाडीप्रति एएफसी र एन्फा जुन रुपमा कठोर बनेको छ यसले उनीहरुमाथि अनुशासन उल्लंघनमा मात्र छानबिन भइरहेको हैन भन्ने देखाउँछ नै।

नेपाली फुटबल टिमले साढे ४ वर्षपछि सोमबारबाट दशरथ रंगाशालामा अभ्यास खेल सुरु गरेको थियो। २०७२ को शक्तिशाली भुकम्पपछि रंगशालामा क्षति पुगेपछि नेपाली खेलाडीले रंगशालामा खेल्न पाएको थिएन।

आउँला स्वर्ण ?
नेपाल अघिल्लो सागमा फुटबलको स्वर्ण पदक विजेता हो। यस पटक फुटबलमा नेपालको बलियो प्रतिस्पर्धी मानिने भारत फुटबलमा सहभागी भएको छैन। यसले नेपालले आफ्नो उपाधि जोगाउने सम्भावना बढाएको त छ तर प्रमुख खेलाडीको अभावले खेलमा प्रभाव पार्ने सम्भावना पनि उत्तिकै छ।

Leave A Comment