ओलम्पिकमा नेपाली खेलाडी

शुक्रबार, २८ साउन २०७३, १२ : ०७ शुक्रवार , Kathmandu
ओलम्पिकमा नेपाली खेलाडी

विश्वले चिनेकी गौरिका
ब्राजिलको रियो दी जानिरोमा चलिरहेको ओलम्पिकमा यो पटक नेपाली पौडी खेलाडी गौरिका सिंह निकै चर्चामा रहिन् । ३४ जना खेलाडी सहभागी भएको एक सय मिटर ब्याकस्ट्रोकको स्पर्धामा गौरिका ३१ औँ स्थानमा रहिन् । तर, पनि उनको प्रशंसा कुनै पदक जित्ने खेलाडीको भन्दा कम थिएन । उनी पदक जितेका कारण नभई यो प्रतियोगिताकी कान्छी खेलाडी भएका कारण चर्चामा रहिन् ।
२ सय ६ देशका ११ हजारभन्दा बढी खेलाडी सम्मिलित रियो ओलम्पिकमा सबभन्दा कम उमेरकी खेलाडी भएपछि उनको चर्चा चुलिएको छ । एसएलसीमा बोर्ड फस्र्ट हुने आमा गरिमा राणा र डाक्टर पारस सिंहकी छोरी गौरिकाले १३ वर्षको उमेरमा ओलम्पिकमा सहभागिता जनाएकी हुन् ।
गौरिका दुई वर्षको हुँदादेखि नै आफ्ना बुबासँगै बेलायतको लन्डन बस्न थालेकी हुन् । त्यहाँको बर्नेट कप्टहल क्लबबाट खेल्दै आएकी उनी आफ्नो उमेर समूहमा बेलायतका २० पौडीबाजमा पर्छिन् । गौरिका चार वर्षदेखि लन्डनमै रहेर ओलम्पिकको तयारीमा व्यस्त थिइन् । उनले छ महिनाअघि भारतमा भएको दक्षिण एसियाली खेलकुद सागमा एक रजत र तीन कास्य पदक जितेकी थिइन् ।
एक सय मिटर ब्याकस्ट्रोकको स्पर्धामा गौरिकाले १ मिनेट ८ दशमलव ४५ सेकेन्डको समयमा निकालिन् । आफ्नो राष्ट्रिय कीर्तिमान तोड्न १ दशमलव १४ सेकेन्डले पछि परे पनि यो उनको राम्रो प्रदर्शन हो । यो समयमा नेपालका कुनै पनि पुरुष खेलाडीले यो दूरी पार गर्न सकेका छैनन् ।
कीर्तिमान सुधार्ने शिरीष
ओलम्पिकमा पौडी खेलाडी शिरीष गुरुङले एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा आफ्नो कीर्तिमान सुधार गरेका छन् । उनले ५७ दशमलव ७६ सेकेन्डमा दूरी पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यसअघि यो स्पर्धामा उनले गएको वर्ष रुसको कजानमा भएको फिना विश्व च्याम्पियनसिपमा ५८ दशमलव २२ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । राष्ट्रिय कीर्तिमान बनाए पनि रियो ओलम्पिकबाट भने शिरीष पहिलो चरणबाटै बाहिरिएका छन् । ५९ जना खेलाडी रहेको स्पर्धामा उनी ५८ औँ स्थानमा रहे ।
शिरीषको नाममा अहिले व्यक्तिगत १२ तथा टिम स्पर्धाका दुई गरी १४ वटा राष्ट्रिय कीर्तिमान छन् । उनले ४६ पल्ट राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
लक्ष्य भेट्ने फुपु
जुडो खेलाडी फुपु ल्हामु खत्री आफ्नो स्पर्धामा पहिलो चरणबाटै बाहिरिन् । उनी क्युबाकी मरिसेट इस्पिनोसासँग पराजित भएकी हुन् । तर, उनले ओलम्पिकमा आफ्नो लक्ष्य पूरा गरेकी छिन् । ओलम्पिक खेल्न जानुअघि उनले पूरै समय अर्थात् चार मिनेट विपक्षी खेलाडीसँग प्रतिस्पर्धा गर्ने आफ्नो लक्ष्य रहेको बताएकी थिइन् । यसअघि ओलम्पिक खेलेका जुडो खेलाडी ऋषिराम प्रधान, गंगाबहादुर डंगोल र देवु थापा पूरै समय टिक्न सकेका थिएनन् । त्यसैले पनि उनले पूरै समय टिक्ने लक्ष्य बनाएकी थिइन् । छ महिनाअघि भारतमा भएको दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण जितेकी फुपुले ओलम्पिकमा आफूभन्दा निकै बलियो प्रतिस्पर्धी पाएकी थिइन् ।
आर्चरीका जीतबहादुर
आर्चरीको व्यक्तिगत स्पर्धामा जीतबहादुर मोक्तान पहिलो चरणबाटै बाहिरिए । ७० मिटरको आर्चरीको व्यक्तिगत प्रतिस्पर्धाको अन्तिम ६४ को खेलमा मकवानपुरका जीतबहादुर भारतका अतनु दाससँग ६–० ले पछि परे । जीतबहादुरले ¥याङ्किङ चरणमा ६ सय ७ स्कोर गरेर ६० औँ स्थान बनाएका थिए । ६ सय ८३ स्कोर गरेका दास भने पाँचौँ स्थानमा परेका थिए ।  पोहोर थाइल्यान्डको राजधानी बैंककमा भएको एसियन आर्चरी च्याम्पियनसिपमा गरेको प्रदर्शनका कारण उनलाई अन्तर्राष्ट्रिय आर्चरी महासंघले ओलम्पिक खेल्न वाइल्ड कार्ड दिएको थियो ।

 

Leave A Comment