प्रधानमन्त्रीको माया

सोमबार, १६ मङि्सर २०७६, ०१ : ४६ शुक्रवार
प्रधानमन्त्रीको माया

पदका लागि कति हदसम्मको लाज पचाउँछन् नेताहरुले भन्ने उदाहरण समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बन्न पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरको शुभ मुहूर्तसँगै मन्त्रिपरिषद् पुनर्गठन गरे। प्रधानमन्त्रीले केही मन्त्रीको पदै खुस्काइदिए। धन्न, उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्य मन्त्री यादव अस्वस्थ भएनन्। उनको पद भने प्रधानमन्त्रीले जोगाइदिए। तर प्रधानमन्त्रीले यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय हुत्याइदिए।

प्रधानमन्त्रीले यादवसँग सल्लाहै नगरी कानुन मन्त्रालयमा हुत्याएपछि यादवले सत्ता त्याग्लान् भन्ने धेरैको आँकलन थियो। तर यादवले बडो सुझबुझ देखाए। धेरैले उनलाई सत्ताको स्वादमा पल्किएका यादवले के पद त्याग्लान् र भन्ने ओठ लोप्य्राएका थिए।

यसमा बरु उनले उल्टै प्रधानमन्त्रीको माया देखे। उनले त्यो मायालाई गुपचुप राखेनन्। बाहिर अभिव्यक्त गरेर नै कृतज्ञता जाहेर गरे। उनले भने, ‘आफूलाई माया गरेर कानुन मन्त्रालयमा पठाउनु भयो।’ माया गरेर पठाएपछि त जिम्मेवारी सम्हाल्नु परिहाल्यो !

स्वास्थ्य मन्त्रालयको कुर्सीबाट उठेर भारत पुगेका मन्त्री यादव फर्कंदा कानुन मन्त्रालयको कुर्सीमा बजारिन पुगे। त्यत्रो बजारिँदा मनमा कति चोट लाग्यो होला उनलाई ! विचरा कति दुख्यो होला ! तर जति दुखे पनि के गर्ने ? कुर्सीको कुरा आयो,  कसरी छोड्नु ?

फेरि उनलाई कति पीर छ तर बाहिर भन्न पो मिलेन त ! आफू बाहिरिऊ, राष्ट्रिय जनता पार्टीले ओलीलाई फकाएर फुत्त कुर्सीमा बस्न आइपुग्यो भने आफू सडकमा पुगिने ! आफू मन्त्री भएपछि कर्मचारी तथा कार्यकर्ताको सरुवा, बढुवा तथा जागिर लगाउन पनि त सहज हुन्छ। पदबाट निस्केको भोलिपल्ट सडकमा भइन्छ। न कसैले गन्छ, न त कार्यक्षेत्रमा भाउ नै पाइन्छ।

त्यसैले मन्त्री पद भए पुग्यो ! आखिर अरुले गर्न सकेका पनि के छन् र ? जुनै भए पनि मन्त्रालय नै त हो नि ! अनि अरुले पनि मन्त्री भनिहाल्छन् क्यारे !

सबैभन्दा राम्रो कुरा के छ भने दुई तिहाईको सरकारको कानुन मन्त्री हुनु भएको छ। संविधानमा अनेकन् कुरा मधेसविरोधी छन् भनेर विरोध गरिरहनु भएका मन्त्रीज्यूलाई संशोधन गर्ने उचित अवसर पनि छ। त्यसमाथि प्रधानमन्त्रीले माया गरेर त्यहाँ सरुवा गरिदिनु भएको हो, अब त मधेसविरोधी सरकारको नारा तराईतिर नउर्लिएला कि !

Leave A Comment