प्रचण्डको अनसन सोख

सोमबार, १६ मङि्सर २०७६, ०१ : ५२ शुक्रवार
प्रचण्डको अनसन सोख

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई पुरानो धङधङी गएकै छैन, भलै उनको पार्टी नै धुस्नु भएर कहाँबाट कहाँ बिलाइसक्यो !

आन्दोलन भनेपछि उनको मन बडो चञ्चल भएर आउँछ। झन् भिड देख्नेबित्तिकै उनलाई के हुन्छ, हुन्छ ! उट्पट्याङका भाषण ठोक्नसमेत पछि पर्दैनन्।

उनले यसै साता बाराको निजगढमा पुगेर मधेसमा विकास निर्माणका काम पूरा नगर्ने ठेकेदारविरुद्ध आफैँ अनशन बसेर तह लगाउने भाषण ठोकिदिएछन्। नेकपा प्रदेश–२ ले गरेको कार्यक्रममा उनले विकास निर्माणको काम पूरा नगर्ने ठेकेदारलाई कार्बाही गर्न सरकारलाई आग्रह गर्ने भाषण मात्रै ठोकेनन्, कार्बाही नभए आफैँ अनसनमा बस्न तयार रहेको बताएछन्।

सरकारले नसुने आफैँ अनसन सुरु गर्ने भाषण ठोकिदिने यी कस्ता नेता हुन् ? उनको सीधा पहुँच प्रधानमन्त्रीसँग छ। कसले काम ग¥यो, कसले गरेन भनेर रिपोर्ट कार्ड लिएर प्रधानमन्त्री बसेका छन्। यस्तो अवस्थामा पार्टीका अर्का अध्यक्षले समेत काम भए/नभएको जानकारी दिए भने प्रधानमन्त्रीले नसुन्ने भन्ने कुरै हुँदैन।

तर हाम्रो देश कस्तो भने, जुन परियोजनामा बढी समय लाग्छ, उही नै सफल हुन्छ। नत्र खानेपानी मन्त्रीलाई हेर्नुस्, जो पुष्पकमलज्यूकी बुहारी पनि हुनुहुन्छ ! उहाँको काम रत्ति सरेको छैन, ठेकेदारहरु भाग्छन् र पनि उनी सफल मन्त्रीमध्येमा गनिनुहुन्छ। बिना मगरज्यू त यस पटकको सरकार परिवर्तनको मामिलामा बिल्कुलै अछूतो हुनुभयो। उहाँको पद जस्तोको त्यस्तै रह्यो, भलै केहीको मन्त्रालय नै परिवर्तन भयो !

तर भूतपूर्व प्रचण्डज्यूले के बुझ्न जरुरी छ भने एक त उहाँको पार्टीको सरकार भएका बेला काम नहुनु लाजमर्दो कुरा हो, दोस्रो काम नगर्नेलाई तुरुन्त बर्खास्त गर्नु त कहाँ हो कहाँ अनसन बसेर डा. गोविन्द केसीको जागिर खोस्ने कुरा गर्नु कत्तिको जायज हुन्छ ?

तर हाम्रा पुष्पकमल कति लाचार छन् भने खासमा उनले त प्रणालीको विकास मात्रै गरिदिए पुग्छ, काम गर्नेलाई पुरस्कार र नगर्नेलाई दण्ड जरिवाना मात्र तिराएपुग्छ। अनसन बस्नै पर्दैन। अनसन विपक्षीको भागको काम हो, उनीहरुलाई त्यसको जिम्मा दिनोस्।
ए बाबा ! अनसनको भाषण पनि पच्ने पो गर्नु पर्छ हौ !

Leave A Comment