यात्रुको झापड खाएँ

मङ्गलबार, १७ मङि्सर २०७६, १२ : ५४ शुक्रवार
यात्रुको झापड खाएँ

विष्णुप्रसाद चौलागाईं, ट्याक्सी चालक

पहिला ट्याक्सी चालकको इज्जत हुन्थ्यो। स सम्मान बोलाइन्थ्यो। यात्रुहरु पनि इमानदार थिए। पाँच वर्षको अन्तरालमा सबै चिजको भाउ बढ्यो तर ट्याक्सीको भाडा भने बढेन। मैले पाँच रुपैयाँमा किनेको सागको अहिले तेब्बर भाउ बढ्यो। सरकारका उच्च पदका मान्छेको तलब बढ्यो। घरबेटीले २ हजारको कोठालाई पाँच हजार पु-याए। तर हाम्रो ट्याक्सी भाडा भने बढेन। बरु कर बढ्यो।  मैले अहिले नाइटले मात्र खान नपुगेर डे पनि चलाउँछु। सरकारले परिवर्तनको नाममा दोहोरो कर उठाएको छ भन्दा विश्वास नलाग्न सक्ला तर यही ट्याक्सीबाटै मन्त्रीहरुको चुलो बलेको छ।

दरबारमार्ग र ठमेलका यात्रु राम्रा
मैले काठमाडाैको दरबारमार्ग र ठमेल एरियामा राम्रा यात्रु फेला पारेको छु। मान्छेले यो ठाउँलाई हेर्ने दृष्टिकोण फरक होला तर असल पनि भेटिन्छन् भन्ने कुरा मलाई मात्र थाहा छ। अन्तर्राष्ट्रिय पर्यटक जमघट हुने ठाउँका नामले परिचित ठमेल बजार पनि हो। केही समय अगाडिको कुरा हो।  मैले दरबारमार्गबाट एकजना यात्रु मेरो ट्याक्सीमा चढाएँ।  उहाँले बुढानीलकण्ठ जाऊँ भन्नुभयो  मैले हुन्छ भनेर उतै हुइँक्याएँ। उहाँले मलाई अर्ती उपदेश दिन थाल्नुभयो। भाइ तपाईं भर्खरको हुनुहुन्छ ? के ट्याक्सी चलाइराखेको, विदेश जानु पैसा कमाउनु।

मैले भने देशमा केही गरौँ भन्न लागेर ट्याक्सी चलाएको हुँ। खासमा  त  परिवारसँग बस्न पाइन्छ भनेँ। गफ गर्दागर्दै गन्तव्यमा पुगियो। मिटरमा त्यस्तै चार सय जति उठेको थियो। ट्याक्सी चलाएर गुजारा चलाउन मुस्किल छ भन्दै एक हजार दिनुभयो। यस्ता यात्रु पनि भेटिने गरेका छन्।

लुटेर भाग्ने पनि छन्
पुस माघको बेला छ, सात बजेको थियो होला। एकजनाले ठमेल जाऊँ त्यहाँबाट फेरि बुढानीलकण्ठ नै फर्केर आऊँ भन्नुभयो । त्यही अनुसार मैले ठमेल पुगेर बुढानीलकण्ठ आएँ। यात्रु त्यस्तै बाइस तेइस वर्षकै हुनुहुन्थ्यो। तपाईं १० मिनेट जति बस्नुस् सञ्चयकोष अगाडि भन्नुभयो। मैले हुन्छ भनें। त्यो यात्रु एउटा घरतिर पस्नुभयो। मैले पार्किङ गर्न खोजेँ ठाउँ नै थिएन। सञ्चयकोषको साइडमा नो ट्याक्सी पार्किङ लेखेको थियो। मैले लगेर त्यही रोकेँ।  तर, ती यात्रु एक घण्टासम्म पनि फर्केर आउनु भएन। ट्राफिक चिट काट्यो। कहिलेकाहीँ यस्तो पनि हुने गरेको छ।

यात्रुको झापड खाएँ
साँझ ५, ६ बजेको थियो। तीन जना यात्रु आएर कपनको पैयुँटार जाऊँ भने। मलाई सबै ठाउँ थाहा नभएर टाढा हो कि नजिक भनेर सोचेँ। उहाँले नजिकै हो  हामीले छ सय दिने गरेको छ भने। मैले हुन्छ भनेर पैयुँटार पु-याएँ। ती केटीहरुले आइपुग्न लाग्यौँ भन्दै फोन गरे। उनीहरुले भनेको ठाउँमा पुग्दा दुईजना केटा साइडमा बसिरहेका थिए। ट्याक्सी कतै घुमाउन नमिल्ने ठाउँमा। उनीहरुले एक्कासि तँसँग के–के छ झिक भने। मैले दिन्न भनेँ। यसो भन्ने बित्तिक्कै एउटाले गालामा चड्काइहाल्यो। मैले दिनभरिमा १३ सय कमाएको थिएँ। सबैले मेरो गोजीबाट भएको नोकिया मोबाइल र पैसा सबै लुटेर दुई मिनेटमा फरार भए।

Leave A Comment