विदेशमा अवार्ड कार्यक्रम : लाजमर्दो सम्मान

मङ्गलबार, १७ मङि्सर २०७६, ०१ : ५७ रीना माेक्तान
विदेशमा अवार्ड कार्यक्रम : लाजमर्दो सम्मान

न आयोजकको हैसियतको चासो, न कार्यक्रमको शैलीबारे मतलब ! हवाई टिकट, होटल खर्च, मञ्च अनि पुरस्कारको नाममा खादा र ट्रफी भए पुग्छ नेपाली कलाकारलाई। जापानमा यसै साता भएको ‘सूर्य इन्टरनेसल अवार्ड’ले विदेश घुम्न पाइने भनेपछि कतिसम्म मरिहत्ते गर्छन् हाम्रा कलाकार भन्ने देखाइदियो।

नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, विजय लामाजस्ता कलाकारसँगै साम्राज्ञी राज्य लक्ष्मी शाह, अनमोल केसी, दीपाश्री निरौला, दीपेन्द्र लामाजस्ता प्रतिभावान कलाकार ‘मानव तस्करी’को आरोप लागेको संस्थाको आयोजनामा भएको महत्वहीन कार्यक्रममा सहभागी हुन जापान पुगे।

स्टेजमा कलाकारको जम्बो टोली अटाई–नअटाई लामबद्ध भएर पुरस्कार थाप्दा  दर्शकदीर्घाका कुर्सी रित्तैजस्तो थियो। १५ सय दर्शक अटाउने हलका रित्तो कुर्सीलाई साक्षी राखेर लिएको पुरस्कार सम्मान हो या अपमान ? कार्यक्रमको साक्षी बस्न केही सञ्चारकर्मी पनि उतै पुगेका थिए। केहीले पुरस्कार पनि थापे, कलाकारले पुरस्कार थापेकै माहोलमा। अवार्ड र पुरस्कृतहरुको सामाजिक सञ्जालको खुसी हेर्दा रित्तो हलमा लिएको ट्रफीमा पनि गर्व लागेको देखियो।

जापानमा नेपाली फिल्म अवार्डको औचित्य के ? अनि आयोजकको क्रेडिबिलिटी कस्तो हो ? उसले के काम गर्छ ? कार्यक्रम आयोजनाको उद्देश्य के होला ? खर्च कहाँबाट उठाउँछन् ? केही चासो देखाएनन् दिग्गज कलाकारले पनि।

कार्यक्रम आयोजक त्यही हो, जो पटक–पटक नेपालीलाई भिजिट भिसामा जापान लगेर उतै लुक्न सघाउँदै आएको आरोप खेप्ने गरेको छ। एक अर्थमा यो मानव तस्करी नै त हो ! ‘राष्ट्रका गहना’ जापान पुगेर दोसल्ला र ट्रफी पाउने आशमा यही विवादित संस्थाको ख्याति बढाउन साक्षी बस्नु पक्कै सुखद् हैन।

हास्य क्षेत्रका दुई रत्न मदकृष्ण र हरिवंशले सूर्य रत्न सम्मान त पाए तर यी दुवै कलाकारले थापेको सम्मानमा जोडिएको आयोजकको प्रतिनिधित्व गर्ने सूर्य शब्दले उनीहरुको कलायात्राको तेज कायम राख्ला ?

जापानमा बस्ने नेपालीलाई कार्यक्रममा उपस्थित हुन आकर्षित गर्न आयोजकले डिपेन्डेन्ट भिसामा रहेकालाई निःशुल्क प्रवेशको सुविधा दिएको थियो। निःशुल्क प्रवेशको सुविधा भए पनि नेपाली कलाकार सम्मानित भएको सुखद् क्षण हेर्न जापानबासी नेपाली आइदिएनन्। र, यो सबै बिजोगको साक्षी बसे– चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई।

हल किन खाली भयो ?
‘हल्ला भएजस्तै पूरै हल खाली त हैन,’ कार्यक्रममा सहभागी स्रोतले भन्यो, ‘तर आयोजक जापानमा अलि बदनामै रहेछ। त्यसैले नेपालीले पत्याएनन्।’

फ्लप फिल्म, पपुलर अवार्ड
कार्यक्रममा पुरस्कृत फिल्म र त्यसको अवस्था हेर्दा पनि यो कुन स्तरको कार्यक्रम हो भन्ने देखिन्छ। कार्यक्रममा प्रतिस्पर्धामूलक विधामा १२ वटा अवार्ड प्रदान गरिएको थियो। चलचित्र विधाबाट ६ अनि ६ वटा गीतसंगीत विधामा।

कार्यक्रममा ‘छक्का पञ्जा ३’ले पपुलर फिल्म अनि दीपाश्री निरौलाले पपुलर निर्देशकको अवार्ड प्राप्त गरिन्। ‘कायरा’बाट साम्राज्ञीले पपुलर अवार्ड हात पारिन्। ‘कायरा’ साम्राज्ञीको फ्लप फिल्म हो। फ्लप फिल्मकी हिरोइन फ्लपै हुने भइहालिन्। फिल्ममा उनको उम्दा अभिनय पनि छैन। अर्को फ्लप फिल्म ‘क्याप्टेन’ बाट अनमोल केसी पपुलर एक्टर भए। ‘चंगा चेट’बाट बुद्धि तामाङले सह अभिनेता र ‘गोपी’बाट वर्षा राउतले सह अभिनेत्रीको पुरस्कार पाएका थिए।

यो त भयो जापानमा भएको चलचित्र सम्मान कार्यक्रमको लाजमर्दो अवस्था र हाम्रा कलाकारको विदेश मोह ! गत साता अमेरिकामा एउटा सांगीतिक अवार्ड कार्यक्रम भएको थियो, जुन जापानको अवार्ड झैँ विवादित भयो। न्युयोर्कमा आयोजना भएको कार्यक्रममा सहभागी हुन नेपाली संगीत र फिल्म क्षेत्रका कलाकार अमेरिका पुगेका थिए।
कार्यक्रमका आयोजकहरु मध्येका एक सुमन बुढामगर कार्यक्रम आयोजना हुनुअगाडि नै यौन विवादमा परेका थिए। कलाकार छिरिङ डोमा शेर्पाले बुढामगरले अवार्ड दिलाइदिन्छु भनेर पटक–पटक आफूलाई ह्यारेसमेन्ट गरेको सार्वजनिक गरेकी थिइन्। उनको दाबीअनुसार बुढामगरले उनलाई पुरस्कारको टप थ्रीमा पारिदिने प्रलोभन दिँदै त्यसका लागि आफूसँग मनाङ र पोखराका होटलमा बस्नुपर्ने प्रस्ताव गरेका थिए।

धन्न छिरिङले आयोजकको कालो नियत पहिल्यै सार्वजनिक गरिन् र आयोजकले लाज बचाउन भए पनि उनलाई निलम्बन ग¥यो। शेर्पा मौन रहेकी भए अमेरिकामा पुरस्कृत हुने कलाकारको स्वागतको पहिलो लहरमा यी बुढामगरै हुन्थे।

कार्यक्रमबारे आयोजकबीच एक मतसमेत देखिएन। संस्थाका पूर्व संस्थापक सिइओ  रहेका सुमनले विज्ञप्ति निकालेर कार्यक्रमको आवरणमा आयोजकले आफ्ना नजिककालाई अमेरिका ल्याउने योजना बनाएको दाबी गरेका थिए। उनले विज्ञप्तिमा मानव तस्करीको आरोप लगाएका थिए।

तर, नेपालका कलाकारलाई, न शेर्पाले सार्वजनिक गरेको तथ्यले कुनै फरक पा-यो न त पूर्व सिइओको भनाइले नै छोयो। अमेरिका पुगेर पुरस्कृत हुने लोभमा हुर्रिदै यम बराल, केकी अधिकारी, अञ्जु पन्त, शिव परियार, मिङ्मा शेर्पा, सत्यकला राई लगायतका कलाकार अमेरिका पुगे।

शंकामा अवार्ड
नेपालमा सरकारी तहमै आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार लगायत निजी क्षेत्रबाट वितरण हुने अवार्ड विवादित बन्दै आएका छन्। अवार्डको औचित्य र पारदर्शिताको अभावमा फिल्म र संगीत अवार्ड खोस्टो बन्दै गएको बेलामा विभिन्न नाममा विदेशमा हुने अवार्ड र त्यसको विश्वसनीयता समेत शंकामा पर्दै आएको छ।
विदेशमा आयोजित अधिकांश अवार्ड विवादमुक्त हुन सकेका छैनन् पनि। अधिकांशले कार्यक्रमको आवरणमा मानव तस्करी गरेको आरोप खेप्ने गरेका छन्। यस्ता अवार्डले नेपाली फिल्म क्षेत्रको स्तरवृद्धि गराउँदै बजार प्रवद्र्धन गर्ने भन्दा पनि विकृति बढाइरहेको देखिन्छ।
विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई विदेशमा आयोजना गरिने अधिकांश अवार्ड कार्यक्रमले बदनामी कमाएको बताउँछन्।
‘अवार्ड आयोजना त हुन्छ तर पछि पैसा नतिरेको अनि कलाकारहरुलाई आउने बेलामा टिकट नदिएको जस्ता समस्या सुनिन्छ,’ उनले भने, ‘कति अवार्ड कार्यक्रम त अवार्ड पनि होइन, फिल्म क्षेत्रको विकृति हो।’

Leave A Comment