कलेजमा फस्टाएको प्रेम

बुधबार, १८ मङि्सर २०७६, १० : ५९ शुक्रवार
कलेजमा फस्टाएको प्रेम

कलेज नजिकै कोठा छ मेरो। कोठा छेउको बाटो हुँदै विद्यार्थीहरु आउने–जाने गर्छन्। यही आउने–जाने क्रममा एउटी केटीमा आँखा अडिइरहन्थ्यो। कुन बेला ऊ मेरो आँखाको बाटो हुँदै हृदयमा अडिई थाहै भएन।

ऊ माइक्रोबायो पढ्थी। म फिजिक्स पढ्थेँ। पहिलो वर्ष पढ्दा हामीबीच कहिलेकाहीँ हेराहेर र देखादेख हुन्थ्यो। पछि दोस्रो वर्षमा भने उस्को निकै ख्याल गर्न थालेँ। उनीहरुको बिहानको क्लास भएकाले प्रायः म छतबाट हेरिरहन्थेँ।
बोलचाल थिएन। एकोहोरो चिनजान मात्र थियो। उसलाई त म चिन्थेँ तर उसले मलाई चिन्दिन थिई। मैले उसका बारेमा कसैलाई सोधेको थिइन।

अजिंगरको आहारा दैवले जुटाउँछन् भने झैँ हामी दुईको भेट दोस्रो वर्षको अन्तिम परीक्षाको दिन आयो। मैले हिम्मत जुटाउँदै भनेँ, ‘केको इक्जाम हो ?’
‘जुलोजीको,’ उसले उत्तर दिई, साथै सोधी पनि, ‘तपाईंको नि ?’
‘म्याथको हो तर के लेख्नु !’ मैले यो जवाफ दिँदै गर्दा मैले उसको कापीमा नियालेर हेरेँ र नाम याद गरेँ, जसरी कुनै विद्यार्थीले फर्मुला याद गर्छ।

यो दिनले हाम्रो बोली फुटायो। बोली फुटेपछि नियमित भेट खुल्यो। नियमित भेट खुलेपछि नजिक हुने बाटो फराकिलो भयो।

एक दिन उनले समूहमा भएको बेला फोन गरी, मैले उठाएँ। ऊ उताबाट निकै रिसाइरहेकी थिई, भनी, ‘समूहमा भएको बेलामा मलाई फोन गरेर बिल्ला गर्न खोज्या ?’
‘मैले कसरी बिल्ला गरेँ र ?’ मैले सम्झाउने प्रयास गरेँ, ‘मेरो त्यस्तो कुनै उद्देश्य छैन।’
‘हेर है, मैले कहिले पनि त्यस्तो सोचेको छैन,’ उसले भनी।
म छक्क परेँ, ‘कस्तो सोचेको छैन ?’
ऊ नाजवाफ भई।

खासमा मसँग उसको नम्बर थिएन तर उसले फोन गरेर उसको नम्बर पनि दिई तर उसको झोक्किने बानीले मलाई रिस उठेर आयो। भनेँ, ‘बोल्न मन छैन भने नबोल्नु तर नाटक चाहिँ नगर्नु ल !’

यसपछिका डेढ महिना एकआपसमा बोलचाल भएन। अहिले पनि म उसलाई टाढाबाट हेर्छु। उसलाई मैले हेर्ने नजरमा कुनै फरक छैन। म उसलाई उसरी नै माया गर्छु। उसका लागि मेरो प्रेम घटेको छैन।

अप्ठेरो त के छ भने मैले उसलाई बिल्ला गरेको भ्रम छ, त्यो चिर्न सकिनँ र फेरि ऊसितको भेटलाई बाक्लो र सम्बन्धलाई गाढा बनाउन सकिनँ।

मलाई थाहा छ, त्यसरी थर्काएपछि हाम्रो मलिलो सम्बन्ध रुखो भएकोमा उसलाई पनि पछुतो लागेको छ। मलाई त लाग्ने नै भयो। तर यस्तो कलिलो सम्बन्धको सबैभन्दा ठूलो समस्या चाहिँ कसले पहिला बक् फुटाउने, बोली वचन सुरु गर्ने भन्ने नै हुने रहेछ। मलाई थाहा छ, उसका आँखाले पनि पछुतो मानेका छन्। म पनि बोल्न सकिरहेको छैन। ऊ पनि आफ्ना सारा भावनाका पर्खाल नाघेर आउन सकेकी छैन।
सोचिरहेको छु, कुनै एक दिन ऊसित कुनै बहाना बनाऊँ र फ्याट्ट बोलीचाली सुरु गरुँ !
स्रोतः नेप्लीज टिनेर्जस कन्फेसन

Leave A Comment