उजुरी गर्ने बानी बसालौं

बुधबार, १८ मङि्सर २०७६, ११ : १४ स्वीकृति बराल
उजुरी गर्ने बानी बसालौं

हिजोसम्म उपलब्ध भएको सामान आजबाट एक्कासि अभाव छ भनेर हल्ला हुन्छ अनि दोब्बर मूल्यमा बिक्री वितरण हुन्छ। सामान किन्दा महँगै पैसा हाले पनि गुणस्तरीय सामान पाईँदैन। के व्यापारीहरुलाई मनलाग्दी मूल्य तोक्ने छूट छ ?

कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई वा कुनै उच्च गुणस्तरको खाद्यपदार्थमा निम्न स्तरको खाद्यपदार्थ वा अखाद्यपदार्थ मिसावट गरी बिक्री वितरण गर्न हुँदैन।

कसैले व्यापार गर्दा यस्तो गरेको जानकारी पाएविरुद्ध उजुरी गर्न मिल्छ। यस्तो किसिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई जानीजानी गरेको भए दस वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ। लापरवाहीपूर्वक गरेको हो भने पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र हेलचेक्य्राइँपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुन्छ।

खाद्यपदार्थ मात्र हैन, कुनै पनि कमसल वस्तुलाई असल वस्तु वा एक वस्तुलाई अर्को वस्तु भनेर बिक्री गर्नु पनि ठगी हो। मुलुकी फौजदारी संहिता, २०७४ को दफा १०८ र १०९ ले यी कुराहरुको प्रस्ट व्यवस्था गरेको छ। म्याद नाघेको वस्तु बिक्री वितरण गर्नु, कुनै वस्तुमा रहेको लेबल साट्नु वा मिसावट गर्नु पनि गैरकानुनी कार्य हुन्। यस्ता गैरकानुनी कार्य गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना र दुवै सजाय हुन्छ।

कहीँकतै यस्तो भएको थाहा भए उजुरी दिनुपर्छ। हामी नागरिकले उठाएको साना–साना कदमले नै राज्यलाई कानुनी राज्य बनाउन मद्दत पु-याउँछ। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ मा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुरसम्बन्धी व्यवस्था छ।

परिच्छेद ५ अनुसार संक्रामक रोग फैलाउनु, खाद्यपदार्थमा मिसावट गर्नु, झुक्यानमा पारी खाद्यपदार्थ बिक्री वितरण गर्नु,  बिक्री गर्ने उपभोग्य वस्तु बिक्री नगरी जम्माखोरी गर्नु, पानी दुषित पार्नु, वातावरण प्रदुषित गर्नु, सार्वजनिक बाटो, नदी वा स्थलमा खतरा वा बाधा पु-याउनु, पशुपछी छाडा छोड्नु, पशुपछी राख्दा लापरवाही गर्नु गैरकानुनी कार्य हुन्। यस्ता अनैतिक कार्यहरु गर्दा अथवा गराउँदा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सक्यो भने कारवाही हुन्छ।

कुनै उपभोग्य वस्तुको बिक्री वितरण नगरी लुकाएर राख्नु पनि अपराध हो। बिक्री गर्नु पर्ने सामान बिक्री नगरी राखेमा वा वस्तुको बजारमा कृत्रिम अभाव खडा गरी त्यस्तो वस्तुको गलत नियतले बढी मूल्यमा बेचेमा त्यस्ता व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन्छ। राज्यमा आइपर्न सक्ने हरेक गलत क्रियाकलापका लागि कानुन बनाइएका छन् तर अझै पनि अनैतिक कामहरु भइरहनु र नागरिक ठगिनु भनेको व्यक्तिलाई कानुनको बारेमा ज्ञान नहुनु र कोही पनि उजुरी गर्न अगाडि नबढ्नु हो।

Leave A Comment