साग डायरी : गोल्ड मेडलिस्ट आमा

शुक्रबार, २० मङि्सर २०७६, ११ : ४४ शुक्रवार
साग डायरी : गोल्ड मेडलिस्ट आमा

दुई सन्तानकी आमा बनेपछि खेलमा फर्किएकी तेक्वान्दो खेलाडी आयशा शाक्यले गोल्ड मेडल चुम्न पाएकी थिइनन्। आफ्नै भूमिमा भएको १३ औं सागमा जसरी पनि गोल्ड मेडल जितेर विवाह र सन्तान जन्माउँदैमा खेलमा कुनै प्रभाव नपर्ने पुष्टि गर्न मरिमेटेर अभ्यासमा खटिएकी थिइन्।

नौ वर्ष भएको थियो उनको पोल्टामा स्वर्ण नपरेको। उनले सन् २०१० मा नेपाललाई स्वर्ण दिलाएकी थिइन्। २००६ र २०१६ मा रजत मात्र जितिन्। यसपालि उनको स्वर्ण सपना सफल भयो।

पहिलो गोल्ड मेडल पाएपछि बगेका उनको आँशुले देखाइरहेको थियो उनी कति खुसी थिइन् विजेता बन्दा। उनको श्रीमान् दीपक विष्टलाई नै हम्मे परेको थियो उनको खुसीको आँशु रोक्न। उनले आफ्नो दुबै स्वर्ण आफ्ना दुई छोराको नाममा सर्मपण गरिन्।

‘एउटा खेलाडी भएपछि स्वर्ण जित्ने आशा हुनु स्वाभाविक हो। तर, दुई स्वर्ण नै जित्छु भन्ने कल्पना गरेका थिइनँ,’ आयशाले भनिन्,‘आज प्रतिस्पर्धा गर्दा सुरुमै केही गल्ती भयो। त्यससँगै म निकै दुखी भएँ। मेरो सपना तुहियो भन्ने महसुस भएको थियो। तर प्रतिस्पर्धीले पनि गल्ती गर्दा मलाई फाइदा मिल्यो।’

उनको पोल्टामा एक हैन, दुई वटा गोल्ड मेडल प-यो। पहिलो गोल्ड मेडल तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २९ वर्षमाथि उमेर समूहले दिलाएको थियो। आयशाले ७ दशमलब ९४ अंक पाएर भारतकी प्रतिद्वन्द्विलाई हराइन्।

तेक्वान्दोको पोम्सेको युगल जोडीतर्फ २९ वर्ष माथिको उमेर समूहमा आयशा शाक्य र सञ्जिवकुमार ओझाको पनि स्वर्ण जिते। जोडीले कुल ८.१६० अंक पाएर प्रथम भएको थियो।

यस्तै रजत पदक हात पारेका मेहरुन निशा र शाहबाज अहमदको जोडीले ७.८६० अंक प्राप्त गरे भने कास्य पदक विजेता बंगलादेशका दीपु चक्मा र मौसुमेको जोडीले ७.८५० अंक हासिल गरे।

Leave A Comment