बिजोग पोखरा रंगशाला

शुक्रबार, २० मङि्सर २०७६, ०१ : २९ मनोज घर्तीमगर
बिजोग पोखरा रंगशाला

पोखरा रंगशालाको मुख्य गेट रंगरोगन गरेर चिटिक्क छ। गेटको दुवै पिल्लरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भकुण्डो हान्दै गरेको तस्बिरसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बोर्ड राखिएको छ। गेटबाट प्रवेश गर्ने बित्तिकै बायाँतिर फूलहरु उमारिएको छ। यहाँसम्म पुग्दा लाग्छ, पोखरा रंगशालाको मुहार फेरिएछ। दुई चार पाइला चाल्दै जब फुटबल मैदान प्रवेश गर्ने ठाउँसम्म पुग्नुहुन्छ। त्यसपछि देखिन्छ पोखरा रंगशालाको बिरुप तस्बिर।

बिजोग अवस्थामै भए पनि पोखरामा मंसिर १५ गतेदेखि साग खेलकुद सुरु भयो। औपचारिक उद्घाटन भने सोमबार भयो। उद्घाटनमा दर्शकको उपस्थिति निकै पातलो देखियो। सागको प्रचार–प्रसार यति फितलो भइदियो कि पोखरा रंगशालामा के हुँदैछ भन्ने भेउसमेत धेरैले पाएनन्। जोडजाड गरेर बनाइएका फुटबल मैदानका प्याराफिटमा देशी विदेशी खेलाडी तथा प्रतिनिधि, सुरक्षाकर्मी र नगन्य मात्रामा दर्शकको उपस्थिति देखिन्थ्यो। ‘देशकै प्रतिष्ठा जोडिएको कार्यक्रम हो। तर, रंगशालामा के भइरहेको छ भन्नेसमेत धेरैले भेउ पाएका छैनन्’ सोमबार महिला क्रिकेट प्रतियोगिता हेर्न पुगेका शिव बराल भन्दै थिए, ‘यति ठूलो कार्यक्रम चलिरहेको छ। दर्शक सय जना पनि छैनन्। न दर्शक बस्ने ठाउँ छ।’

रंगशालामा खेल चलिरहे पनि निर्माण कार्य रोखिएको छैन। जहाँ रोलर, डोजरको घारघारघुरघुर आइरहन्छ। रंगशालाको बाहिरी भागमा बन्ने सिन्थेटिक एथ्लेटिक ट्रयाक टालटुले चालामा सकिएको छ। पोखरा रंगशाला पुनर्निर्माणको जिम्मा भारतको ग्रेट स्पोर्टस इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभी जिम्मा लिएका छन्। उनीहरुले अहिले पनि काम रोकेका छैनन्। सबैभन्दा बिजोग छ–महिला क्रिकेट हुने पोखरा क्रिकेट रंगशाला। कास्की क्रिकेट संघले काम सकिएको दाबी गरे पनि त्यसअनुसार काम भएको देखिँदैन। ‘क्रिकेट खेल भइसके तर, प्याराफिट जडान भएको छैन। प्याराफिट जोड्नै ३/४ दिन लाग्छ होला यस्तै छ हाम्रो हालत,’ महिला क्रिकेट टिम व्यवस्थापनका सदस्य विजय जिसी भन्छन्।

फुटबल मैदानका लागि पहिलो र दोस्रो चरणमा ल्याइएको दुबो भन्सारमा रोकिएर एक हप्तापछि मात्रै पोखरा आइपुगेको थियो। त्यही कारण दुई तिहाईभन्दा बढी दुबो सुक्यो। सुकेको दुबो नसर्ने डरले नयाँ मगाएर विस्थापन गरिएको छ। सुकेका केही दुबो क्रिकेट मैदानमा रोपिएको छ भने केही रंगशाला प्रवेशद्वार नजिकैको खाली मैदानमा रोपेर पानी हाल्ने काम भइरहेको छ। १३ औं सागका विभिन्न खेल मंसिर १५ देखि २४ सम्म पोखरा, काठमाडौं र जनकपुरमा भइरहेका छन्। सागअन्तर्गत पोखरामा आर्चरी, महिला फुटबल र क्रिकेट, ब्याडमिन्टन, ह्यान्डबल, ट्रायथोलन, भारत्तोलन र ब्याडमिन्टन गरी आठ खेल हुँदैछन्। ‘जति गर्नुपर्ने थियो त्यति गर्न नसके पनि पोखरामा साग खेल गर्न सक्यौं यही ठूलो कुरा हो। निर्माणको काम भइरहेको छ। खेल पनि भइरहेका छन्,’ व्यवस्थापन समिति सहसंयोजक एवं राखेप सदस्य राजेश गुरुङ भन्छन्।

पोखरामा सागअन्तर्गतकोे खेल ब्याडमिन्टन पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भइरहेको छ। तर, यहाँ दर्शक बस्ने ठाउँ नै छैन। आर्चरी खेल महिला र पुरुषको पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा पूर्णरुपमा तयार भइसकेको छैन। पोखरामा हुनेमध्ये ह्यान्डबल (महिला÷ पुरुष) को ग्राउण्ड टालटुले तरिकाले सकिएको छ। बिच भलिबल पोखराको बाराहीघाटस्थित बिच भलिबल कोर्टमा भइरहेको छ। जुन हेर्दै बिजोग देखिन्छ। अझ गजबको कुरा के छ भने साग खेलमा सहभागी हुने खेलाडी तथा अफिसियललाई अझैसम्म पूर्ण रुपमा पोसाक वितरण गरिएकै छैन। पोखरामा पोसाक ढिलो गरी आएकाले पहिलो चरणमा आइतबार खेल हुने ब्याडमिन्टन टोलीलाई मात्रै पोसाक वितरण गरिएको १३ औं साग सामग्री उपकरण तथा पोसाक व्यवस्थापन समिति पोखराले जनाएको छ। ‘बाँकी खेलाडी तथा अफिसियलका लागि अझै पोसाक आएको छैन। आएपछि क्रमैसँग वितरण गर्छौं,’ समिति संयोजक सम्पन्न श्रेष्ठ भन्छन्। पोखरामा हुने साग खेलका लागि खेलाडी र अफिसियलसहित ८ सय ४० जनाको टोली पोखरा आएका छन्। १३ औं सागअन्तर्गत पोखरामा हुने खेललाई सघाउन ४ सय ९१ जनाको प्राविधिक टोली पोखरा आएको छ। तिनले पोखरा रंगशालाको बिरुप तस्बिर देखेर फर्किनेछन्।

भव्य शुभारम्भ
हतारहतारमा बनाइएका पूर्वाधारबीच पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सोमबार भव्य शुभारम्भ भयो। पोखराको खेलकुद इतिहासमै पहिलोपटक आयोजना गरिएको सागलाई भव्य बनाउन यहाँ हतारबीच पूर्वाधार बनाइएको थियो। तर ती निर्माणाधीन पूर्वाधारलाई अधुरै राखेर प्रतियोगिता शुभारम्भ गरिएको छ। पूर्वाधार बनाउने कामले पछिल्लो तीन महिना निकै नै गति लिए पनि त्यसअघिको लामो समय खेर फाल्दा संरचना पूरा हुन सकेका छैनन्। छोटो समयमा धेरै काम गर्नुपर्दा समय अभावले संरचना अपूरा हुँदाहुँदै पनि प्रतियोगिता आयोजना गर्न बाध्य भएको पदाधिकारीले बताएका छन्।

पोखरामा आइतबारदेखि नै प्रतियोगिता सुरु भए पनि सोमबार औपचारिक रूपमा उद्घाटन भयो। शुभारम्भ अवसरमा सहभागी सातवटै मुलुकका खेलाडी र खेल पदाधिकारीले रंगशालाको फुटबल मैदानमा मार्चपास गरेका थिए। गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री तथा स्थानीय व्यवस्थापन सहजीकरण समिति संयोजक नरदेवी पुनले प्रतियोगिताले पोखरामा खेल पर्यटनको विकास हुने बताइन्। लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहेको पोखरा रंगशाला अहिले बाहिरी आवरणमा सजाएर चिटिक्क पारिएको छ। अपूरा पूर्वाधारलाई पर्दा लगाएर छोपिएको छ। दर्शक बस्नका लागि बनाइएका कतिपय सिट अझै तयार भइसकेका छैनन्। भित्र छिर्ने बाटो धुलाम्य भएर बेलाबेला पानी छर्ने गरिएको छ। भिआइपी प्याराफिटका कुर्सीमा बस्न नमिलेपछि उद्घाटन सत्र चलिरहँदासमेत मर्मतसम्भार भइरहेको थियो।

Leave A Comment