कांग्रेस तातोपानीको न्यानो

शनिबार, २१ मङि्सर २०७६, ११ : २७ शुक्रवार
कांग्रेस तातोपानीको न्यानो

तातोपानीको न्यानो त्यतिञ्जेलको मात्र हुन्छ, जतिञ्जेल त्यो तातो हुन्छ। जुनसुकै वस्तुको विशेषता भनेको के हो भने ताप दिन छाडेपछि त्यो चिसिदै जान्छ। यतिबेला उपनिर्वाचनमा विजयी भएका प्रतिनिधिलाई बधाई लिन भ्याई–नभ्याई छ। हार्नेलाई तनाव त छँदैछ !

कास्की, भक्तपुर र धरानको चुनाव सम्पन्न हुँदासम्म कास्की र भक्तपुरको चर्चा निकै चुलियो। मत परिणम घोषणा भैसक्दासम्म कास्कीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की  विद्या भट्टराईले प्रतिनिधिसभा सदस्यमा बाजी मारिन्।

चर्चामा रहेको भक्तपुरको प्रदेशसभा सदस्यमा भने नेकपाले हावा खायो। नेपाली कांग्रेसका कृष्णलाल भँडेलले बाजी मारे। प्रदेश सभातर्फ बाग्लुङ २(ख) र दाङ ३ (ख) मा नेकपाले वर्चश्व राख्न सफल भयो।

यसपालि पनि प्रमुख भिडन्त ठूला दलकै भयो। समग्र मत परिणामलाई हेर्ने हो भने नेकपा अगाडि छ र हुने नै भयो। नेकपाले ३० र कांग्रेसले १३ स्थानमा जितेको छ तर धरान र भक्तपुरमा भने उसलाई नराम्रो धक्का लागेको छ।

धरानमा नेपाली कांग्रेसले बाजी मारेको छ। कांग्रेसका तिलक राईले मेयर पदमा बाजी मारे। २०४८ सालपछि निरन्तर हार बेहोरिरहेको कांग्रेसले यहाँ जित्दा उसका खुट्टा भुइँमा छैन। कांग्रेसले धरानको इतिहासमै पहिलो पल्ट विजयोत्सव मनाउन पायो।

एमाले र माओवादी मिलेर अहिले एक भए पनि कांग्रेसले मेयर जित्नु अचम्मै भएको छ। र, यही कारण तिलकको चर्चा सर्वत्र छ।

उपनिर्वाचनको मत परिणामलाई हेरेर सरकारप्रति जनताको असन्तुष्टि बढेको त पुष्टि हुन्छ तर विपक्षीका रुपमा फुट्टी काम गर्न नसक्ने अनि जनता असन्तुष्ट भएको जश लिने ? कांग्रेसका लागि यो जस्तो लाजमर्दो कुरा के हुनसक्छ ?

त्यसै पनि माओवादी–एमाले र अन्य वामपन्थी एक ठाउँ उभिएपछि खुम्चिएको कांग्रेस सही दिशाको अभावमा यसरी नै कागको कुहिरो भइरहने हो भने नेकपाको नालायकीकै कारणले मात्र चुनाव जित्ने सपना देखेरै जुनी बिताउने हो कि काम पनि केही देखाउने हो ?

Leave A Comment