मुलुकी ऐनसम्बन्धी भ्रम

शनिबार, २९ साउन २०७३, ०९ : ५५ प्रा. दिनेशराज पन्त , Kathmandu
मुलुकी ऐनसम्बन्धी भ्रम

वि.सं. २०७३ मा काठमाडौँबाट प्रदिप्त प्रिन्टिङ एण्ड पब्लिसिङ प्रा.लि.द्वारा प्रकाशित रेवतीरमण खनालको अनुभूति र अभिव्यक्ति (आत्मकथा) को १५५ पृष्ठमा वि.सं. १९१० को मुलुकी ऐन जारी गर्दा श्री ५ सुरेन्द्रबाट अब उप्रान्त हामी तीन पुस्ता (राजेन्द्र, सुरेन्द्र र युवराज पृथ्वीवीरविक्रम) ले यही ऐनबमोजिम गर्नेछौँ भनी दस्तखत गरेको कुरा १९१० को मुलुकी ऐनको प्रस्तावनामा थियो भनी लेखिएको छ । वि.सं. २०२२ मा काठमाडौँबाट श्री ५ को सरकार कानुन तथा न्याय मन्त्रालय कानुन किताब व्यवस्था समितिद्वारा प्रकाशित श्री ५ सुरेन्द्रविक्रम शाहदेवका शासनकालमा बनेको मुलुकी ऐनको १ पृष्ठमा सुरेन्द्रविक्रम शाह, राजेन्द्रविक्रम शाह र त्रैलोक्यविक्रम शाहबाट यो ऐन जारी भएको हो भनेर लेखिएको छ । यसकारण अनुभूति र अभिव्यक्तिमा लेखिएको कुरा अशुद्ध हो भन्ने स्पष्ट छ । राजेन्द्रविक्रमको जन्म वि.सं. १८७० मा, सुरेन्द्रविक्रमको जन्म वि.सं. १८८६ मा, त्रैलोक्यविक्रमको जन्म वि.सं. १९०४ मा तथा पृथ्वीवीरविक्रमको जन्म वि.सं. १९३२ मा भएको हो । वि.सं. २०५५ मा ललितपुरबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा ९३ पूर्णाङ्कमा छापिएको दिनेशराज पन्तको कुण्डलीसङ्ग्रह भन्ने लेखमा (त्यस पूर्णाङ्कका १४, १७, २३ पृष्ठमा) तथा वि.सं. २०५५ मा प्रकाशित पूर्णिमा ९५ पूर्णाङ्कमा छापिएको दिनेशराज पन्तको कुण्डलीसङ्ग्रह भन्ने लेखमा (त्यस पूर्णाङ्कको १५ पृष्ठमा) यस विषयमा सप्रमाण लेखिएको छ । यस अवस्थामा वि.सं. १९३२ मा जन्मिएका पृथ्वीवीरविक्रमको वि.सं. १९१० मा बनेको मुलुकी ऐनमा दस्तखत छ भन्ने कुरा अनुभूति र अभिव्यक्तिमा लेखिएबाट कति हचुवा तालले हामीकहाँ पुस्तक लेखिँदा रहेछन् भन्ने कुरा स्पष्ट हुन्छ ।
 

Leave A Comment