किन बोल्दैछन् महिला ?

सोमबार, २३ मङि्सर २०७६, ०१ : ११ शुक्रवार
किन बोल्दैछन् महिला ?

विकास त्रिवेदी

‘स्त्री जन्मदैनन्, उनीहरुलाई बनाइन्छ।’
स्त्री बनाइएकी पहिलो महिला को थिई होली ? उसका बारेमा हामी जान्दैनौँ। तर हामीलाई चिन्ता छ र जायज पनि छ कि अन्तिम स्त्री को होली, जसलाई बनाइनेछ। किनभने त्यो अन्तिम स्त्रीपछि स्त्रीहरु बनाइँदैनन्, मात्र उनीहरु स्त्री रहन्छन्।

संसारभरि नै स्त्रीहरु त्यो अन्तिम स्त्रीतर्फ बढिरहेका छन् ताकि पछि उसले समाजले बनाएको, दबाएको, कुल्चिएको आइमाई नरहोस्। जो सदियौँदेखि ऊ बन्ने, अवस्थामा ढालिदाढालिदै दिक्क भएकी थिई तर उसलाई यसबारे फिटिक्कै थाहा थिएन।

संसारभरि नै मीटूजस्तो अभियान अर्थात् कुनै स्त्रीले आफूमाथि भएको शोषणबारे चिच्याउनु अहम् अवस्था हो। हुन त हरकोही कुनै कामको अंग हुन चाहन्छन्, जस्तो कि अहिले मीटूको अंग हुन खोजिरहेका छन्, धेरैजसो महिला तर आफू बोल्न भने चाहँदैनन्। तर थोरै सही केही स्त्री त बोलिरहेका छन्। यी स्त्रीले ‘आइमाई होस्, आइमाईकै तहमा बसेस्’ भन्नेलाई आँखा तर्न थालेका छन्। यसरी बडबडाउने हिम्मतिला स्त्रीले आफू हुनुको महत्व बिस्तारै बुझ्न थालेका छन्।

त्यसैले त चाहे स्कुल पढिरहेकी कुनै बालिका होस्, कलाकार या पत्रकार चिच्याउँदै– ममाथि गलत गरियो, दुई मिनेट पहिला वा दस, तीस वर्षअघि वा म जन्मिएको केही वर्षपछि... बोल्न थालेका छन्।

हामीले ती स्त्रीहरुलाई आँखा चिम्म गरेर होइन, आँखा खोलेर नै विश्वास गर्नुपर्छ। जसरी हामी सडक दुर्घटना, गर्भपतन, आत्महत्याका कुराहरुमा कुनै शंका गर्दैनौँ, ठीक उसरी नै स्त्रीमाथि शंका नगरौँ ताकि त्यो स्त्रीले आफ्नो वरिपरि छोरी, आमा, पत्नी, प्रेमिका, साथी या बहिनीका रुपमा सही अनुहार देख्न सकौँ, जुन समाजले बनाएको स्त्री नहोस्।
त्यसका लागि के गर्ने ? त्यसका लागि केही कुरामा विचार गरौँ।

१. मौनता
अहिले संसारभर स्त्री मौन रहन चाहन्छन्, कयौँ पीडा, शोषणका बाबजुद। जुन दिन यी सारा मौन स्त्रीहरु चिच्याउन थाल्छन्, साराका सारा कानले काम गर्न बन्द गर्नेछ। त्यति ठूलो हुनेछ, चिच्याहट !

धेरैजसो स्त्री र कतिपय अवस्थामा पुरुष पनि मौन छन्। पुरुषहरुले त माफी पाउँछन् तर स्त्रीले पीडित हुनुका बाबजुद पनि उल्टै सजायको हकदार बन्न पुग्छन्।

हामी यस्तो समाजमा बस्छौँ, जहाँ महाभारतमा द्रौपदीको चिरहरण हुन लाग्दा साडी तान्नबाट रोक्नका लागि गान्धारीले आँखाको पट्टि हटाउँदिनन्, मौन रहन्छिन्। तर जब उही ‘बलात्कारी’ छोरालाई बचाउनु पर्ने अवस्था आउँदा चाहिँ आँखाको पट्टि खोल्न तयार हुन्छिन्।

यस्तै गान्धारी प्रतिज्ञा अहिलेलाई भने तोडिन थालेको छ, चाहे त्यो सुस्त र सोचेजस्तो किन नहोस्। जब उकुसमुकुस हुन्छ र सास फेर्न पनि गाह्रो हुन्छ, त्यस्तो बेला फेसबुक या ट्वीटरमा केही शब्द व्यक्त गर्नु पनि ठूलो कुरा बन्न जान्छ। यस्ता तोडिएका मौनतालाई कृपया विश्वास गर्नुस्।

२. ठट्टा र हाँसो
त्यो अन्तिम चुट्किला सम्झनुस् त ! कुनै गलत नियतले कुनै स्त्री या कुनै सम्बन्ध बन्नु या बिग्रनुबारे तपाईंले पढे या सुनेको होस् !

म पक्का छु, त्यो चुटकिला एकदमै हल्का मुडमा तपाईंले भन्नु भएको हुनसक्छ। तपाईंको हृदय पक्कै सफा थियो। तर त्यो ठट्टा तपाईंको कुनै नजिककी स्त्री या छोरीलाई जोडेर कल्पना गर्नुस् त ! यो बडो गाह्रो काम हो तर कल्पना गर्नुस्।

कसैको सम्बन्ध बिग्रेको या शोषण भएको कथा सुनाइँदै गर्दा कोही हाँस्न थाल्यो भने तपाईंलाई कस्तो लाग्छ ? कहिलेकाहीँ जब कुनै स्त्री पीडित भएको बारे पत्रकारले तपाईं ठूलो स्टारलाई प्रश्न सोध्छ, त्यो बेला न म शोषक हुँ न त पीडित नै भनेर टक्टकिन खोज्यो भने पीडितलाई कस्तो महसुस हुन्छ ?

त्यही घटना तिनको परिवारलाई भएको भए तिनको जवाफ कस्तो हुन्थ्यो होला ? जब गम्भीरतम कुरालाई फ्यान या नजिकको सम्बन्ध बिग्रन्छ भन्ने सोचीसोची बोल्न थाल्नुहुन्छ, तपाईंको ‘स्टारपना’ कुनै स्तरको रहने छैन।

गैरजिम्मेवार उत्तरलाई जब तपाईं रिसाउनुको साटो हाँसेर उडाइदिनु हुन्छ नि, त्यसमा तपाईंको दोष पनि उत्तिकै हुन्छ। तपाईं पनि त्यो स्त्री वा बालिकाको पीडक रहनुहुन्छ।

तपाईंको हाँसो, ठट्टा र हल्कापनले ती पीडित स्त्रीहरुलाई बोल्न दिँदैन। तपाईंकै घरमा पनि त्यस्तो भएको हुनसक्छ थाहा नपाई ! तपाईंकै घरका स्त्री पनि तपाईंको हाँसोका कारण कुँजिने छन्। शोषणविरुद्ध आवाज निकाल्न सक्ने छैनन्।

३. सामाजिक सञ्जालको क्रान्ति
तपाईंकी आमा फेसबुकमा हुनुहुन्छ ? दुई वटा उत्तर हुनसक्ला। पहिलो, अँ हुनुहुन्छ। दोस्रो, केही दिनअघि मात्रै चलाउन थाल्नुभयो।

अब सोसल मिडियाको शुरुका बेला सम्झनुस् त ! त्यो बेलाका स्त्री के गर्थे ? उनीहरुको तस्बिर फेसबुकमा हुँदैनथ्यो। कुनै फूलको तस्बिर र नामका आधारमा यो पक्कै केटी हुनुपर्छ भन्ने अनुमान लगाइन्थ्यो। यसपछि केटीहरु अघि बढे। पछि उनीहरुले फेसबुकका वालमा कविताहरु लेख्न थाले। फेरि हिम्मत गरेर तस्बिर राख्न थाले। अहिले त सेल्फीको जमाना शुरु भइसकेको छ।

यतिबेला बल्ल मनका कुरा लेख्न थालेका छन्। वर्षौं पहिलेका पीडा कोतर्दै वालमा टिप्पणी गर्न थालेका छन्। कम्तीमा तिनले लेख्न त थाले ! पीडा ओकल्न त थाले !

हामी यस्तो देशमा बस्छौँ, जहाँ पिरियडका पाँच दिन घरबाहिर बसालिन्छ। कम्तीमा अहिले खुलेर ‘डाउन भा छु, पिरियड चलिराछ, चकलेट खाउँ लाइराछ’ त लेख्न सकिरहेका छन्।

जसरी मानव विकासको क्रममा मान्छेको हातमा हतियार आएको थियो, ठीक त्यसैगरी मिडिया इभोल्युसनको यो अवधिमा स्त्रीले पनि हतियार फेला पारेका छन्। आफ्ना कुरा सशक्तताका साथ राख्नका लागि हजारौँ वर्षदेखि भोगेको शोषणलाई खुलेर लेख्न थालेका छन्।

यस्तो हतियारले अतीतका दोषीलाई पनि छाड्दैन र वर्तमान अनि भविष्यमा सोझिन थालेका आँखा र हातलाई बाँकी राख्दैन।

संसारभर चुप लागेका स्त्रीहरुको चिच्याहट ‘मीटू’ले अन्तिम स्त्रीतर्फ आमस्त्री अघि बढिरहेको देखाइरहेको छ। अब त्यो स्त्री बनाइएको स्त्री हुन्न, ऊ त आफ्नो अस्तित्वप्रति सचेत स्त्री हुन्छे। बनाइएको स्त्रीलाई अस्वीकार गर्छे र प्राकृतिक स्त्रीप्रति सम्मानित महसुस गर्छे। ऊ मात्र स्त्री हुन्छे !

४. स्त्री हिम्मत र भरोसा
रेस्टुराँको मेनुमा के छ भन्दा पनि वरपरको टेबलमा के पस्किइएको छ भन्नेमा हाम्रो आँखा जान्छ। ठीक यही कुरा पीडाका सन्दर्भमा पनि लागू हुन्छ। एउटी दुःखी स्त्रीले अर्की दुःखी स्त्रीको अवस्था देखेर वा हिम्मत देखेर उसलाई पनि हिम्मत जाग्छ। दबाइरहेको पीडा र शोषणको जुन घुँट थियो, त्यो निलिरह्यो भने उसले सधैँ दबिइरहनुपर्छ। दबाउने पुरुष झन् माथि झन् बढिरहन्छन्।

द्रौपदीदेखि तनुश्री दत्ता र नेपाली नाटकका कलाकार महिलासम्म, यौन शोषण झेलिरहन्छन् र ‘घटनाको अनुसन्धान गरिनेछ’ भन्ने लाइनभन्दा माथि कहिल्यै अनुसन्धान हुने छैन। तर त्यो झेल्ने महिलापछि पनि कयौँ स्त्री र बालिकाहरुको स्कर्टमा कसैको आँखा गढिरहन्छ र मौका खोजिरहन्छ भन्ने बिर्सनु हुन्न।
नत्र त कयौँ स्त्री र बालबालिका शोषित भए र मनका कुरा नओकली मरे भन्ने कुनै तथ्याङ्क बाहिर आउने छैन।
(बिबिसी हिन्दीमा प्रकाशित ब्लगको सम्पादित अंश)

Leave A Comment