ट्राफिकको कुटाइ खाएँ

मङ्गलबार, २४ मङि्सर २०७६, १२ : ०६ शुक्रवार
ट्राफिकको कुटाइ खाएँ

सीताराम खड्का,ट्याक्सी चालक

ट्याक्सी चलाउन थालेको ११ वर्ष भयो। मैले अहिलेसम्म ट्याक्सी चलाएर पेट पाल्ने बाहेक केही गर्न सकेको छैन। प्रगति भने पनि जे भने पनि बिहान बेलुका खान पुगेको छ, त्यत्ति हो।

खेतीपाती छोडेर ट्याक्सीमा
यो पेसामा आउनुभन्दा अगाडि म दोलखा चरिकोट तिरै खेतिपाती गरेर बसेको थिएँ। आफ्नो खेतीबाट खान लाउन नपुगेपछि अरुकोमा अँधिया ठेक्का गर्थेँ। यसबाट पनि खासै प्रगति गर्न नसकिएपछि यतातिर लागेको हुँ।

भाइहरु काठमाडौंमैै बस्थे। सुरुमा भाइहरुले नै मलाई ऋण गरेर ट्याक्सी किनिदिए त्यसपछि यो पेसा अँगालेको हुँ। ट्याक्सीको स्टेरिङ समाउन थालेको पनि ११ वर्ष भइसकेछ।

पहिलाको जस्तो अहिले यात्रु पनि भेटिँदैनन्। कहिलेकाहीँ दुईचार ट्रिप भइ पनि हाल्छ, कहिले त्यही पनि हुँदैन। अहिले दिनरात गरेर ट्याक्सीको लोन तिर्दै र  काठमाडांैमा छोराछोरी पढाएर परिवार धान्न हम्मेहम्मे परिरहेको छ।   

थरि थरिका यात्रु
११ वर्षको अवधिमा धेरै खाल्का यात्रु बोकेको छु। कोही ढाँट्ने छल्ने, अनेक थरि कुरा गर्ने, निहुँ खोज्नेदेखि लिएर लुट्नेसम्मका सबै थरिथरिका यात्रु फेला पारेको छु।

झुक्याएर फरार
केही समय अगाडिको कुरा हो। ठमेलबाट कपन जाऊँ न दाइ भन्दै दुईटी केटी एउटा केटो चढे। कपनभित्र पुगेपछि ए भाइ यहाँ हाम्रो साथी रहेनछ गौरीघाट जाने भने। मैले हुन्छ भनेर गौरीघाट ल्याएँ। गौरीघाट आइपुगे पछि अलिक माथि लगे र भित्र ट्याक्सी कुनामा पु-याए। एउटा ओर्लियो र दाइ हामीसँग पैसा रहेनछ भन्दै दुईजना ओर्लिएर फरार भए। त्यही बेलामा मेरो फोन आयो म मोबाइलमा कुरा गर्न थालेँ। त्यही मौका छोपेर त्यो एउटा भएको केटो पनि हिँडिसकेछ। 

फोन राखेर पसलको दाइसँग यहाँबाट दुईजना मान्छे कता गए देख्नुभयो भनेको देखिन भने। हजार, पन्ध्र सय जति उठेको थियो। पैसा नतिरी फरार भए।  

जाँड खाएको मान्छे हाल्दिन
प्रायः म जाँड खाएको मान्छे ट्याक्सीमा हाल्दै हाल्दिन। म धेरै चोटी चेतिसकेको छु। ठमेलमा पैसा हुञ्जेल रक्सी खान्छन्। पैसा दिने बेलामा छैन भन्दै टकटकिन्छन्। हकार्छन्। केही भयो भने पुलिसले उल्टै हामीलाई दोष देखाउँछ। ठमेलबाट धेरै चोटी बौद्ध जोरपाटी यात्रु ओसारेको छु। कहिले पैसा नदिने कहिले के गर्ने।  

ट्राफिकको कुटाइ खाएँ
सिटी सेन्टर अगाडि असाध्यै जाम परेको थियो। त्यो जाम खुलाउनका लागि कुनै ट्राफिक पुलिस पनि थिएन। मैले नै ट्याक्सीबाट  ओर्लिएर जाम मिलाउन थालेको थिएँ। जाम निकै हटाइसकेको थिएँ। एउटा ट्राफिक पुलिस निकै बेरमा आइपुग्यो र के गरेको भन्दै झ्याम्का  झ्याम  हानिहाल्यो। मैले त यसो जाम हटाउनु प¥यो भनेर सहयोग पो गरेको भन्दा उल्टै तेरो काम हो जाम हटाउने। तिमीहरुले जाम हटाएपछि मेरो काम चाहिँ के हो नि भन्दै हप्काउन थाल्यो।
प्रस्तुति : भोला अधिकारी

Leave A Comment