नेपाली नागरिकता पाउने आधार

मङ्गलबार, २४ मङि्सर २०७६, १२ : ४६ स्वीकृति बराल
नेपाली नागरिकता पाउने आधार

प्रत्येक नागरिक कानुनको दृष्टिमा समान हुन्छन्। यसको अर्थ के हो भने कानुनको दृष्टिमा समान हुनका लागि र अधिकार प्राप्त गर्नका लागि नागरिक हुनु जरुरी हुन्छ। नागरिकता भनेको आफूलाई राज्यले दिएको पहिचान हो। कानुनले कुनै पनि नेपाली नाागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गराउँदैन।

नेपालमा प्रादेशिक पहिचानसहितको एकल संघीय नागरिकताको व्यवस्था छ। नेपालको नागरिकता पाउने विभिन्न आधारहरु छन्। सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले तोकिएको अधिकारीसमक्ष बाबु वा आमा वा आफ्नो वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र (विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाको हकमा यो व्यवस्था लागू हुँदैन), जन्मस्थान र नाता खुल्ने गरी गाउँपालिका वा नगरपालिकाले गरिदिएको सिफारिससहित तोकिएको अधिकारीसमक्ष आवश्यक कागजपत्र राखेर निवेदन दिनुपर्छ।

वंशजको नागरिकता पाउने आधार : कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछन् भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुन्छ तर विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने उनले अङ्गीकृत नागरिकता पाउन सक्छन्। नेपालको सिमानाभित्र फेला परेको बाबुआमाको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिन्छ।

अङ्गीकृत नेपाली नागरिकता पाउने आधार : नेपाली नागरिकसँग विवाह भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्छ। निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्ध र आपूmले विदेशी नागरिकता त्याग्ने प्रक्रिया चलाएको प्रमाणसमेत साथै पेश गर्नुपर्छ।

विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीको हकमा निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई तोकिएबमोजिम अङ्गीकृत नागरिकता दिने कानुनी व्यवस्था छ। अङ्गीकृत नेपाली नागरिकता पाउने व्यक्तिलाई शपथग्रहण गराई नेपाली नागरिकताको प्रमाणपत्र दिने कानुनी व्यवस्था छ। त्यस्तो प्रमाणपत्र पाएको मितिदेखि सो व्यक्ति नेपालको अङ्गीकृत नागरिक हुनेछन्।

सम्मानार्थ नागरिकता :  नेपाल सरकारले चाहेको खण्डमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तिलाई सम्मानार्थ नेपालको नागरिकता दिन सक्छ। यस्ता व्यक्तिले राजनीतिक अधिकार भने प्रयोग गर्न पाउँदैनन्। यो सम्मानका लागि मात्र दिइने नागरिकताको प्र्रकार हो।

क्षेत्र गाभिँदाको नागरिकता : नेपाल नागरिकता ऐनअनुसार नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस क्षेत्रभित्रका व्यक्तिलाई सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेपछि सोही मितिबाट ती व्यक्तिहरु नेपालको नागरिक हुने कानुनी व्यवस्था छ।

नेपालको कुनै नागरिकले आफू खुशी कुनै विदेशी मुलुकको नागरिकता पाएमा उसको नेपाली नागरिकता कायम रहँदैन। झुठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित भएमा नागरिकताको प्रमाणपत्र रद्द हुनेछ। कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन नपाइने कानुनी व्यवस्था छ। तर बसाइँ सरेको आधारमा कुनै व्यक्तिले चाहेमा सम्बन्धित कार्यालयबाट निजले पहिले लिएको नागरिकता खिची अर्को नागरिकताको प्रमाणपत्र जारी गर्न कानुनले बाधा पारेको छैन।

कुनै विदेशी नागरिकले झुठो विवरण वा बयान दिई झुक्याएर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको प्रमाणित भएमा सरकारले  नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने कानुनी व्यवस्था छ।

Leave A Comment