दक्षिण एसियाली खेलकुद (साग) को १३ औं शृंखलाको पौडीमा पहिलो स्वर्ण जितेपछि मिडियालाई प्रतिक्रिया दिने क्रममा १६ वर्षीया गौरिका सिंहले भनिन्, ‘बाहिर बस्छौ, तिमी नेपाली नै हैनौं भन्छन् तर यो मेडल नेपाललाई नै हो। म नेपाली भएकोमा गर्व गर्छु।’
नौ वर्षको उमेरदेखि नेपाली खेलाडीका रुपमा पौडीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएकी उनले १३ औं सागको १२ स्पर्धामध्ये १ हैन, २ हैन ९ वटा मेडल जितिन्। त्यसमा स्वर्ण पदकको संख्या ४, रजत २ अनि कास्य ३।
सागमा सहभागी भएर राष्ट्रको शिर उँचो बनाइरहे पनि उनको मन भने त्यत्ति खुसी देखिएन। कारण, नेपाल पौडी संघभित्रको राजनीतिले। त्यसैले त नेपालको झण्डा बोकेर विदेशी खेलाडीमाझ राष्ट्रका लागि प्रतिस्पर्धा गरेर स्वर्ण जित्दा पनि उनले आफू नेपाली नागरिकै भएको प्रस्टीकरण दिनुप-यो। यस्तो हुँदा कुन चैं खेलाडीलाई मज्जा लाग्छ र !
गौरिकापरिवार निकटका अनुसार उनलाई राष्ट्रिय खेलाडीको रुपमा पौडीमा सकेसम्म सहभागी नगराउन नेपाल पौडी संघभित्रकै केही पदाधिकारी सक्रिय हुने गरेका छन्। बेलायतमा बस्ने, उतै प्रशिक्षण लिने, नेपाली झण्डा भएको ड्रेस नलगाउने, यताको प्रशिक्षकसँग प्रशिक्षण नलिने मात्रै हैन, उनी बेलायती नागरिकै भइसकेको भन्दै हतोत्साहित बनाउने प्रयास बारम्बार भइरहन्छ।
यस्तै झिँगे तर्क गर्दै उनलाई नेपालको प्रतिनिधित्व गर्न नदिने षड्यन्त्र भइनै रहन्छ। पहिलो पटक विश्व पौडी च्याम्पियनसिपमा नेपालका तर्फबाट सहभागी हुन खोज्दा उनलाई रोक्न भरमग्दुर प्रयास भएको थियो।
गौरिका नेपालकै लागि खेल्छिन्। उनले जित्ने मेडल नेपालकै नाममा गनिन्छ। तैपनि किन म नेपाली हुँ भनेर सफाई दिइरहनुपर्ने बाध्यता छ उनलाई ?
नेपालमा प्रशिक्षण नगरेको, बेलायतमै बस्ने गरेको भन्दै पौडी संघमा उनको नाम पठाउनेबारे विवाद भएको थियो। उनी बेलायतमा बसे पनि नेपाली नागरिकै भएको पुष्टि गर्न उनका अभिभावकै खटिनु परेको थियो। संघका तत्कालिन अध्यक्ष अशोक बज्राचार्य र महासचिव जगत श्रेष्ठबीच एक मत नभए पनि गौरिका विश्व पौडी च्याम्पियनसिपमा सहभागी भइन्।
कहिले राष्ट्रिय छनौटबारे जानकारी नदिने त कहिले प्रतियोगिताबारे ढिलो जानकारी गराएर भए पनि सकेसम्म उनलाई प्रतियोगिताबाट पन्छाउने प्रयास भइनै रहन्छ। परिवारको साथले उनी जेनतेन सहभागी भइनै रहेकी छिन्।
साग प्रतियोगितामा पनि गौरिकालाई सहभागी गराउन नहुने आवाज नउठेको हैन। तर राष्ट्रिय प्रतियोगितामा उनको उच्च प्रर्दशनले उनको विपक्षमा रहेकाहरुको त्यत्ति बल पुगेन। र, उनी सहभागीहुँदै नेपाली खेलाडीका रुपमा प्रतियोगितामा सहभागी नगराउन भाँजो हाल्नेहरुलाई उनले सागमा चार स्वर्ण दिलाएर राम्रै जवाफ दिइन्।
तै पनि उनले भन्नुप¥यो, ‘मेरो रगतको नाता मात्र होइन माटोको पनि नाता छ। म नेपाली नै हुँ !’
यस अगाडि ओलम्पिकमा जाँदा नेपाली झण्डा भएको ट्रयाक नलगाएकामा पौडि संघका पदाधिकारीहरुले नेपालप्रति उनको मायामाथि नै अविश्वास बढाएका थिए। पौडिका पदाधिकाीले यस अगाडिझै बहाना नखोजुन् भन्नेमा उनी निक्कै सचेत देखिइन् साग प्रतियोगिताभर। उनले नेपालको झण्डा भएको ट्रयाक लगाउन छुटाइनन्। नेपाली राष्ट्रिय झण्डा सधै साथमा बोकिन्।
बोर्ड फस्ट आमा, चिकित्सक बाबु
गौरिका सन् २००२ मा ललितपुरको पाटन अस्पतालमा जन्मिए पनि १४ वर्षदेखि उनी बेलायतमा बस्दै आएकी छन्। उनी उतै दक्ष प्रशिक्षकबाट दैनिक पौडीको प्रशिक्षण लिँदैआएकी छन्।
उनकी आमा हुन्, २०५० सालको एसएलसीको बोर्ड टपर, गरिमा राणा। केशर समसेरकी नातिनी गरिमा अभिवक्ता लोकभक्त राणाकी छोरी हुन्। कुनै समय उनको नाम तत्कालीन राजदरबारसँग पनि जोडिएको थियो।
दरबार हत्याकाण्डका कारण दीपेन्द्रको विवाहको किचलो भन्ने सार्वजनिक भएपछि त्रियोग गल्र्स स्कुलमा पढेकी उनको विवाह तत्कालीन युवराज दीपेन्द्रसँग गर्ने प्रयास भएको दाबी सार्वजनिक भएको थियो।
दरबार हत्याकाण्डसँगै दीपेन्द्रको इहलीला समाप्त भयो। यो प्रसंग पनि इतिहासको पानामा बन्द भयो। उनको विवाह बझाङका पारस सिंहसँग भयो। बुढानीलकण्ठका विद्यार्थी पारस बेलायत गएसँगै गरिमा र गौरिका पनि बेलायत गए। पारस अहिले पनि बेलायतको रोयल फ्रि अस्पतालमा सर्जनका रुपमा कार्यरत छन्। गरिमा भने गौरिका र सानो छोराको हेरचाहमै व्यस्त छिन्।
बेलायत पुगेकी गरिमाको चर्चा दरबार हत्याकाण्डको प्रसंग उठ्दा उठेपछि उनी गुमनाम बराबर थिइन्। जब गौरिका चर्चामा आइन् उनीसँगै जोडिएर आइन्, गरिमा पनि। १३ औं सागका प्रतियोगितामा गौरिकासँगै देखिइरहने गरिमाप्रति पनि धेरैको ध्यान गयो। तर यसपालि विवादले हैन, छोरीको गर्विलो सफलताले उनीप्रति धेरैको ध्यान गएको थियो।
५ वर्षको उपलब्धि
गौरिका पौडी खेलाडीका रुपमा प्रतिस्पर्धामा भाग लिन थालेको लामो समय भएको छैन। २०७१ सालबाट उनले प्रतिस्पर्धामा भाग लिन थालेकी हुन्। उनी बिदामा नेपाल आएको बेलामा पौडीको राष्ट्रिय प्रतियोगिताको आयोजना हुँदै थियो।
त्यो बेला उनी ११ वर्षकी मात्र थिइन् र पनि परिवारले उनको नाम दर्ता ग-यो। कसैले पनि उनको वास्ता गरेको भने थिएन। २०७१ को साउनमा आयोजित प्रतियोगितामा उनले आठ स्वर्ण र एक रजत जितेपछि सबैको नजर उनीमाथि अड्कियो।
२०७२ वैशाखमा भएको २० औं राष्ट्रिय पौडी प्रतियोगितामा सहभागी हुन नेपाल आएर उनले ६ स्पर्धामा राष्ट्रिय कीर्तिमानसँगै सबैमा स्वर्ण पदक जितिन्।
राष्ट्रिय प्रतियोगितामा एकछत्र कब्जासँगै उनको अन्तर्राष्ट्रिय यात्रा शुरु भयो। सन् २०१५ मा रुसको कजानमा आयोजित १६ औं फिना वल्र्ड च्याम्पियनसिपमा सहभागी भएर उनले दुई वटा स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाइन्।
उनको यात्रा तीव्र गतिमा अगाडि बढेसँगै विदेशमा बसेर, उतै प्रशिक्षण गर्ने अनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सहज हुने भएकाले नेपालको नाममा सहभागी गराउन नहुने भन्दै आलोचना शुरु भयो।
आलोचनाकै बीच भारतको गुवाहटीमा आयोजित १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी भइन् र एक रजत र तीन कास्य पदक जितिन्। १० राष्ट्रिय कीर्तिमानसमेत बनाइन्।
उनी ३१ औं ओलम्पिकमा सहभागी हुन ब्राजिलको रियो डे जेनेरियोसमेत पुगिन्। ओलम्पिकमा नेपालको झण्डा बोकेर सहभागी हुँदा सबैभन्दा कान्छी खेलाडीको रुपमा उनको विश्वभर चर्चा भएको थियो। ओलम्पिकको सहभागिता अनुभवमै सीमित भए पनि त्यसले उनको खेल कौशल कति निखारेछ भन्ने कुरा १३ औं सागको उपलब्धिले पुष्टि गरिदियो।
२० वर्षदेखि सागको पौडीमा स्वर्णको मज्जा लिन नपाएको नेपालले १३ औं शृंखलामा आएर पौडीमा चार स्वर्ण पदक जित्यो। सय मिटर फ्रिस्टायल, चार सय मिटर फ्रिस्टाइल, दुई सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा गरेर चार वटा स्वर्ण पदक गौरिकाले दिलाइन्। नेपालले सन् १९८४ देखि सुरु भएको साग खेलकुदमा पौडीले केवल टिम इभेन्टमा मात्र स्वर्ण जितेको थियो। व्यक्तिगत इभेन्टमा स्वर्ण जितेको यो नै पहिलो अवसर हो।
०००
ओलम्पिकमा सहभागी भएर फर्किएकी गौरिकालाई तीन वर्षअगाडि एउटा टेलिभिजन कार्यक्रममा सञ्चारकर्मी दिलभुषण पाठकले सोधेका थिए, ‘सधैँ नेपालका लागि खेल्ने कि बेलायतको पनि प्रतिनिधित्व गर्ने ?’
उनले भनेकी थिइन्, ‘म नेपाली हो, अंग्रेजी हैन। म बेलायतमा बसे पनि नेपाली नै रहनेछु। जहिलेसम्म खेल्नसक्छु नेपालकै लागि खेल्नेछु।’
पाँच वर्षदेखि निरन्तर गौरिकाले नेपालको प्रतिनिधित्व गरिरहेकी छन्। स्वर्णको उपहार दिइरहेकी छन्। तैपनि उनले अझै प्रस्टीकरण दिइरहनु परेको छ, ‘म नेपाली हैन भन्छन् तर मैले जितेको यो मेडल नेपालका लागि हो, म नेपाली नै हुँ।’
नेपालको झण्डा बोक्दा उनी कति खुसी हुन्छिन् त्यो सागको समापनमा राष्ट्रिय झण्डा बोक्न पाउँदा गौरिकाको मुहारमा देखिएको चमकले पनि देखायो।
‘अबको टार्गेट ओलम्पिक’
पौडीमा चार वटा स्वर्ण जित्नुभयो। कस्तो लागिरहेको छ ?
आज गोल्ड पाइन्छ पाइन्न थाहै थिएन। मेन इभेन्ट पनि थिएन। पाएँ। खै के भन्ने नै मलाई भन्नै आएन।
दीपक विष्टसँग रेकर्ड बराबर गर्नुभयो। कस्तो लागिरहेको छ ?
म खुसी छु। तर अर्कोले मेरो रेकर्ड ब्रेक ग-यो भने झन् खुसी हुनेछु।
सागका लागि कस्तो तयारी थियो ?
नयाँ कोच राखेर तालिम गरेकी थिएँ। मिहिनेत गरेकी थिएँ। तैपनि चार वटा गोल्ड आउँछ जस्तो लागेको थिएन।
स्विमिङमा तपाईंको फेभरेट क्याटगरी चैँ कुन हो ?
हन्ड्रेड फ्री स्टायल नै हो।
चार वटा गोल्ड मेडल जित्नु आफैंमा सम्झनायोग्य क्षण हुने नै भयो। यो सागको अन्य सम्झनायोग्य केही छ ?
पछिल्लो सागमा नेपालले धेरै मेडल जित्न सकेका थिएनौं। यसपालि धेरै गोल्ड आयो। यो नै मेरो सम्झनायोग्य क्षण हो।
अनि साग प्रतियोगिताको तयारी चैँ कस्तो लाग्यो ?
अहिले भौतिक संरचना राम्रो बनाएको रहेछ। पानी पनि तातो थियो। खेल्न सजिलो भयो।
अबको टार्गेट ?
ओलम्पिक नै हो।
(सोमबार चौथो गोल्ड जितेपछि सञ्चारकर्मीसँग गौरिकाले गरेको कुराकानी।)
Leave A Comment