अनुशासनहीन प्रहरी

शनिबार, २८ मङि्सर २०७६, ११ : ३६ शुक्रवार
अनुशासनहीन प्रहरी

स्कुल छिर्नै लाग्दा ट्रकले सहपाठी किचेको आक्रोशमा सडकमा उत्रिएका कलिला बालबालिकालाई सम्झाई बुझाई गर्नुको साटो प्रहरीले निर्मम दमन गरेको दृश्यले कटक्क खाएको मन दक्षिण एसियाली खेलकुद सागको समापनको क्रममा दशरथ रंगशालामा प्रहरीले देखाएको चर्तिकलाले बल्झायो।

उदण्ड ट्रक चालकका कारण १२ वर्षीया बालिकाले दुवै खुट्टा गुमाएर अस्पतालको शै्ययामा उपचाररतहुँदा काठमाडौंमा प्रहरीको निर्मम कुटाईबाट सञ्चारकर्मी सुमन चापागाईं वीर अस्पतालमा उपचाररत छन्।

हातमा टिकट बोकेर नेपाल र भुटानबीचको फुटलबको फाइनल खेल हेर्न रंगशालाको गेटमा पुगेका धेरै फुटबल प्रशंसकको ढाडमा सुरक्षार्थ खटिएका जिम्मेवार प्रहरी अधिकृतहरुको किक बर्सियो। राज्यको जिम्मेवार निकायले तोकेको शुल्क तिरेर फुटबल हेर्न जाँदा प्रहरीको गोदाई भेटेका ती फुटबल प्रशंसकको स्वास्थ्य अवस्था कस्तो छ खुलेन। उनै फुटबल प्रशंसकलाई प्रहरीले कुटिरहेको तस्बिर लिँदा प्रहरीबाट निर्मम रुपमा कुटाई खाएर गम्भीर चोट लागेका पत्रकार भने अस्पतालको बेडमा छन्।

आन्दोलनमा उत्रिएका किशोरकिशोरीको आन्दोलनको शैली शान्तिपूर्ण थिएन। उनीहरुलाई हाम्रा नेताहरुले जस्तो शैलीको आन्दोलन सिकाए, आफ्नी साथीको कलिलो खुट्टा ट्रकको टायरले किचिमिची पार्दा आक्रोशमा आएका किशोरकिशोरीले त्यस्तै आन्दोलनको सिको गरे।

वयस्कहरुको आन्दोलनको नियन्त्रणको विधि अनि किशोरकिशोरीको आन्दोलनको नियन्त्रण विधि पक्कै एकै शैलीको हुँदैन तर प्रहरीले किशोरकिशारीमाथि गरेको व्यवहार वयस्कहरुको आन्दोलनमा पनि स्वीकार गर्न नसकिने किसिमको दमनकारी थियो। दशरथ रंगशालामा फुटबल हेर्न पुगेका दर्शक अनि पत्रकार कुटिनुमा प्रहरी अधिकृतको दम्भबाहेक अर्को कारण देखिदैन।

यसरी शान्ति, सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी पाएको प्रहरी संगठनका सदस्यले सार्वजनिक स्थानमा बारम्बार उदण्ड व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय हो। यसले कानुन परिपालना गराउने जिम्मेवारी बोकेको संगठनका सदस्य आफैँ गैरकानुनी गतिविधिमा सक्रिय भएको पुष्टि गर्छ। यो लोकतान्त्रिक मुलुकमा स्वीकार्य पक्ष पक्कै हैन।

अर्को गम्भीर पाटो कानुन उल्लंघन गर्नेमाथि संगठन र राज्यका जिम्मेवार निकायले गर्ने व्यवहार पनि हो। उदण्ड व्यवहार गर्ने प्रहरी अधिकारी दण्डको भागिदार बनेको देखिदैन। यसले कानुनको पालना गर्ने र गराउने जिम्मेवारी पाएको संगठनका सदस्यलाई अनुशासनहीन बन्न प्रेरित त गर्छ नै, कानुनको पालनामा समेत गम्भीर विचलन ल्याउँछ। राज्यले विश्वास गरेर हतियार दिएको संगठनमा देखिएको यो विचलन गम्भीर हो।

यसले ७५ हजार संख्या रहेको सुरक्षा संगठनको नेतृत्वकर्ताको क्षमतासँगै अनुगमन र निर्देशन दिने जिम्मेवार तालुकदार निकायको लाचारी पनि पनि प्रस्ट बनाएको छ। यी सबै दृश्य कानुनी राज्यका पक्षधरहरुका लागि पक्कै सुुखद् संकेत हैन।

सुरक्षा संगठनमा बढ्दो अनुशासनहीनता नियन्त्रणमा ढिलाई भइसकेको छैन। अहिले श्रृंखलाबद्ध रुपमा जस्ता दृश्य देखिएका छन्, त्यसलाई नियन्त्रण गर्न संगठनको नेतृत्वकर्ता र तालुकदार सरकारी निकाय कठोर हुन आवश्यक छ। निश्चित अनुशासनमा बस्नुपर्ने हतियारधारी सुरक्षा संगठनका सदस्यमा देखिएको विचलन र अनुशासनहीन गतिविधि नियन्त्रणमा संगठन प्रमुख र तालुकदार निकाय कति गम्भीर छन् यी दुई घटनामा संलग्नमाथि कस्तो कार्बाही हुनेछ त्यसैले प्रस्ट्याउने छ।

Leave A Comment