रेस्ट इन् पिस, नैतिकता र विवेक !

शनिबार, २८ मङि्सर २०७६, ११ : ४३ अच्युत काेइराला
रेस्ट इन् पिस, नैतिकता र विवेक !

सभ्यताको वास्तविक परीक्षण जनसांख्यिक गणना होइन, भव्य शहरको आकार पनि होइन, उमारिने अन्न त अझ हुँदै होइन। बरू कस्ता किसिमका मानिस उत्पादन भइरहेको छ, वास्तविक सभ्यताको परीक्षण त्यसले गर्छ।
–राल्फ वाल्डो इमर्सन

जब नैतिकता र विवेकबारे लेख्न बसेको थिएँ, तपाईंलाई जस्तै मलाई पनि विषय अलि वृहद् भयो भन्ने नलागेको होइन। तेरो के हैसियत यस्ता कुरा लेख्ने पनि भन्नु होला, म तपाईसँग सहमत छु।

तर हेर्नुस्, समग्रमा देश र यहाँको सबै अवस्था ठीक छैन। अखबारका प्रथम पृष्ठ भ्रष्टाचार र अनाचारले भरिएका छन्। न्यायालय न्याय दिन अक्षम छ, प्रहरी सुरक्षा दिनबाहेक सबथोक गरिरहेको छ। प्रशासन ध्वस्त छ, ठीक समयमा केही काम हुँदैन। आरोप छ– पत्रकारिताले त्यो कामबाहेक अरु नै गरिरहेको छ। विकास भनिएका काम रातारात गरिन्छन् किनभने त्यसो गर्दा हतारमा काम हुन्छ र कसैप्रति जवाफदेही भइरहनु पर्दैन। यहाँ खेलकुद प्रतियोगिता त हुन्छ तर खेलाडीसँग खेल्न आवश्यक हतियारभन्दा पदाधिकारीलाई सुटको चिन्ता हुन्छ। नैतिकता र विवेक व्रह्मनालमा छ।
उसो भए के आम जनता चाहिँ ठीक छन् त ?

संसारभरि नै मध्यम वर्ग सबैभन्दा सशक्त हुन्छ। ऊ आन्दोलनमा उत्रदैन, उत्रियो भने सबैथोक बगाएर लगिदिन्छ। सभ्यता यही मध्यम वर्गले निर्माण गर्छ। निर्णायक वर्ग यही हो, हरेक कुराका लागि।

मध्यम वर्गमा विवेक र नैतिकता यति गहिरोसँग भरिएको हुन्छ कि गलत कुरा सोच्नै सक्तैन र हरेक कुरालाई उसले आफूसँगै अघि बढाउँछ। नेपालको मध्यम वर्ग भने सबैभन्दा भ्रष्ट देखिएको छ।

उसलाई आफ्ना सन्तान जसरी पनि डाक्टर÷इन्जिनियर बनाउनुपर्छ, शानका खातिर। उसले त्यसका लागि घुस पनि खुवाउँछ तर खुवाएको घुस फिर्ता माग्न आन्दोलन गरिरहेको हुन्छ। अहिले चिकित्साशास्त्रतर्फको आन्दोलन त्यसैको एउटा कडी हो। पहिला आफ्ना सन्तानलाई जसरी भए पनि प्रवेश दिलाउन मोटो रकम खुवाए, क्याम्पसले मज्जाले असुले र डकारिसके पनि तर अब उसलाई त्यो फिर्ता चाहिएको छ।

यही वर्गलाई जसरी पनि विदेश जानु छ। चाहे ऋण काढ, चाहे अनैतिक र अनमेल विवाह गर। यस किसिमको मानसिकता हरेक ठाउँ, हरेक क्षेत्र, हरेक कुनामा छ। देशको यो दुर्गतिको कारण यस्तै मानसिकता बोक्नेहरु हुन्। र, उनीहरु नै भनिरहेका छन्, यो देश–देश रहेन !

जुन मध्यम वर्गले सभ्यता बनाउने हो, त्यही वर्ग भ्रष्ट भएपछि देश जस्तो हुनुपर्ने हो, ठीक त्यस्तै छ। यो वर्गले आफू हुनुको नैतिकता र विवेक गुमाएको छ।

बेलायतकी क्याथरिन गन एउटा जासुसी संस्था जिसिएचक्युमा काम गर्थिन्। उनले कामको क्रममा थाहा पाइन्, अमेरिकाले इराकमा बिना कुनै प्रमाण सद्दाम हुसेनलाई सत्ताच्युत गर्न आक्रमण गर्दैछ। र, यस कार्यमा बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले आँखा चिम्लेर सहयोग गरेका छन्। यति मात्र होइन, उनले संसदीय सहमति पनि छलेका छन्। यसपछि उनले आफ्नो जीवनकै सबैभन्दा खतरनाक जोखिम उठाउँछिन्। उनले यो कुरा त्यहाँको प्रभावशाली पत्रिका गार्डियनलाई सूचना चुहाउँछिन्।

नेपालमा यस्तो सूचना चुहाउने वर्ग चाहिएको छ। जहाँ देशमा अनैतिकता र भ्रष्टता हुन्छ, त्यसलाई रोक्न नैतिक बल भएको समुदाय चाहिएको छ। केही समयअघिसम्म त्यस्तो नैतिकता भएको समूह थियो, जसलाई हामी नागरिक समूह भनी चिन्थ्यौँ। पछि यो समूह यति टुक्रामा बाँडियो कि तिनको बल क्षीण हुन पुग्यो। अहिले कहाँ छ र गम्भीरतम मुद्दामा तिनको आवाज कति सशक्त छ भन्ने तपाईं–हामीले महसुस गरेकै छौँ।

जतिञ्जेल त्यो समूह एक ढिक्का थियो, नेपालका राजनीतिक दलहरु पनि अलि डराउँथे। अहिले त्यो डर दलका नेता र दल दुवैमा छैन। उनीहरु साँढे भएका छन् किनभने तिनलाई अँचेट्ने नैतिकता र विवेक दुवै गुमाएका मानिसहरु डुक्रन्छन्। तिनलाई कसले गन्ने ?

अमेरिकी सिनेटको एउटा कमिटीमा काम गर्ने कर्मचारी ड्यानियल जे. जोन्सले आतंकवादविरुद्धको युद्धमा जासुसी संस्था सिआइएले कसरी तालिबानका गोप्य कुरा निकाल्ने आश्वासन दिई विभिन्न मुलुकबाट कसरी मुस्लिमहरुलाई गैरन्यायिक तरिकाले पक्राउ ग¥यो, तिनलाई क्रूरतम यातना दिइयो र तीमध्ये कति मरे भन्ने कुकर्मको खोजी गरे। संसारकै सबैभन्दा शक्तिशाली जासुसी संस्थामाथि नै औँला ठड्याउने ड्यानियललाई फँसाउन, उनलाई गलत देखाउन के मात्र गरिएन ! तर उनी डगेनन्।

ड्यानियलको एउटै भनाइ थियो, अन्य तानाशाही मुलुक र अमेरिकाबीच एउटै फरक छ। हामीले कानुनभन्दा बाहिर गएर कुनै काम गर्दैनौँ। जुन दिन त्यसो गर्छौं, अन्य तानाशाही मुलुक र हामीबीच कुनै फरक रहने छैन र अरुलाई नैतिकताको पाठ पढाउने अधिकार पनि रहने छैन।

ड्यानियलमा नैतिकता थियो। त्यसभन्दा माथि उनमा विवेक थियो। उनले सिआइएसँग सम्झौता गरेका भए ‘धेरै कुरा’को फाइदा उठाउन सक्थे तर उनले आफ्नो विवेक र नैतिकतालाई बन्धक राखेनन्।

हामी त्यस्तो विवेक र नैतिकता कति जनासँग खोज्न सक्छौँ नेपालमा ! जुन ठाउँमा काम गर्न भनेर गएका हुन्छन्, तिनले त्यही कामबाहेक अरु सबै काम गरिसकेका हुन्छन् भने यस्तो समूहमाथि कसले विश्वास गर्छ ?

हालै अमेरिकी जासुसी संस्था सिआइएका लागि काम गरेका एडवार्ड स्नोडनको आत्मकथा बजारमा आयो। उनले पनि संविधानभन्दा बाहिर गएर जब जासुसी संस्थाहरुले व्यक्तिका निजी कुराहरु संग्रह गर्न थालेको थाहा पाए, उनले आफ्नो जीवन नै दाउमा लगाएर पूरै संस्था र देशसँग विद्रोह गरे। उनी अझै पनि रुसमा प्रवासी जीवन बिताइरहेका छन्। कसैगरी उनी अमेरिका पुगे भने आफ्नै देशले उनलाई देशद्रोहको मुद्दामा जन्मकैद सुनाउने सम्भावना छ।

उनमा यत्रो नैतिकता कसरी पलायो ? उनमा विवेक र नैतिकता थियो। यसैले उनलाई देशमा गलत भइरहेको छ भन्ने आवाज बुलन्द पार्न जीवन नै दाउमा लगाएका थिए।

अन्तरआत्मा झक्झकिन्छ, नैतिकताले। नैतिकता बन्छ, असल चरित्रले। असल चरित्र तयार हुन्छ, सही लालनपालनले। सही लालनपालन हुन्छ, असल संस्कार र संस्कृतिले। अनि फेरि असल संस्कार र संस्कृतिले सिर्जना गर्छ विवेकपूर्ण मानिस र विवेकपूर्ण मानिस नै बन्छ, नैतिक मानव। सोही नैतिकताले झक्झकाउँछ, एउटा मानवको अन्तरआत्मा ! यो चक्रबाट नेपाली च्यूत भइसके।

नेपालमा एडवार्ड स्नोडन किन छैनन् ? किन गलत कृत्यलाई गलत हो भन्न सक्ने क्याथरिन गनजस्ता बेलायती साहसी युवती जन्मेका छैनन् ? किन ड्यानियल जोन्स छैनन् यो देशमा ?

उनीहरुमा आफ्नो देश जुन जगमा उभिएको छ, जुन सिद्धान्तले बनेको छ, त्यसप्रति विश्वासी थिए। त्यो जगबिना देश जनसंख्याको भिड हुन्छ, सभ्यता रहने छैन भन्ने उनीहरुले बुझेका थिए। शासन सही तरिकाले चलेन र जनताप्रति उत्तरदायी भइएन भने त्यो देश जुन सिद्धान्तको बलमा उभिएको छ, उभिन लायक रहने छैन र उसले जनतालाई निराश तुल्याउने छ अनि जनताले तिरेको करबाट चलिरहेका शासकहरूलाई जनता निराश बनाउने कुनै हक छैन, उनीहरू जसरी भए पनि जिम्मेवार हुनै पर्छ भन्ने मान्यता राख्थे। यही मान्यताका कारण उनीहरुले सारा खतराका बाबजुद आफ्नो विवेकलाई दाउमा राख्न सकेनन्।

नेपालमा स्नोडन छन् ? क्याथरिन गन र ड्यानियल जोन्स छन् ? होलान् ! तर ती सबै कायर छन्। होलान् तर तिनीहरु बाहिर आउन डराइरहेका छन्। तिनलाई गलत क्रियाकलापविरुद्ध बाहिर निस्कन प्रेरित गर्न ढिला भइसकेको छ।

त्यो वर्गले ‘ह्विसल ब्लोअर’को जिम्मेवारी लिन ढिला भइसकेको छ। र, सबैभन्दा महत्वपूर्ण कुरा– त्यस्ता ‘ह्विसल ब्लोअर’ जन्माउने जिम्मेवारी त मिडियाको पनि हो।
कतै मिडिया पनि पो विश्वासको धरापमा छन् कि ?

एउटा कुरा पक्का हो– ह्विसल ब्लोअर त्यहीँ जन्मन्छन्, जहाँ भ्रष्टताबाट केही र कोही जोगिएको छ। सर्वत्र भ्रष्ट भएको ठाउँमा कसले कसलाई विश्वास गर्ने ? उल्टै मान्छे फँसाइने र फँस्ने डर हुन्छ।

यस्तो लाग्छ, अहिले हरकोही डराएका छन्, बोल्न सकिरहेका छैनन्। खुलासा, आश्चर्यका रूपमा प्रकट भइरहेको छैन। कसैलाई खुइल्याउने र नंग्याउने अर्थमा मात्र प्रयोग भइरहेको छ। यसले शुरूमा आमसञ्चारलाई घात गरिरहेको छ र क्रमशः मुलुकका सबैजसो क्षेत्रलाई यसले ध्वस्त पारिदिनेछ।
पछि समग्र मुलुक ऐंठनमा पर्नेछ।
राल्फ वाल्डो इमर्सनले भनेजस्तो सभ्यता निर्माण गर्ने नैतिक वल र विवेक हामीसँग बाँकी छ ?

Leave A Comment